प्रचण्ड-माधव पक्षीय संसदीय दल: सहकार्यका हरेक विकल्पलाई खुला राख्ने – Nepal Press

प्रचण्ड-माधव पक्षीय संसदीय दल: सहकार्यका हरेक विकल्पलाई खुला राख्ने

उपत्यका नछाड्न सांसदलाई निर्देशन

काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)को संसदीय दलको बैठकले संसद पुनर्स्थापना भएको अवस्थालाई मध्यनजर गर्दै सहकार्यका हरेक विकल्प खुला राख्ने अनौपचारिक समझदारी बनाएको छ।

बुधरबार उपत्यकामा उपलब्ध प्रचण्ड–माधव पक्षीय सांसदहरूको अनौपचारिक बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए।

‘अबको समयमा अगाडि बढ्ने सवालमा अहिलेको संविधान, संसदको बनावट लगायतलाई ध्यानमा राखेर विभिन्न ढंगले आवश्यकता अनुसार सहकार्य पनि गर्दै जानुपर्ने स्थिति आउन सक्छ भन्ने भयो’ गुरुङले बैठकबारे जानकारी गराउँदै भने, ‘एजेन्डागत आधारमा कतिपय विषयमा सहकार्य गर्नुपर्ने स्थिति पनि आउन सक्छ । त्यसमा खुला रहनुपर्छ भन्ने कुरा नेताहरूले राख्नुभयो ।’

गुरुङका अनुसार बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालले अहिलेको परिस्थितिको विश्लेषण गदै मन्तव्य राखेका थिए । ‘तीनै जनाले मन्तव्य राख्नुभयो’ उनले भने, ‘अहिलेको परिस्थितिको विश्लेषण गर्नुभयो । विशेष गरेर तीनै जनाले सर्वोच्चको फैसलाको स्वागत गर्नुभयो। त्यो कुरालाई सांसदहरूले हार्दिकतापूर्वक समर्थन गर्नुभयो ।’

सर्वोच्च अदालतले संविधानको र संसदको रक्षा गर्ने काम गरेको नेताहरूको विश्लेषण थियो । त्यस्तै संविधान र लोकतन्त्रमाथि खड्गो पैदा भए पनि त्यो अहिले टरेको व्याख्या उनीहरूले गरेका थिए।

सर्वोच्च अदालतको फैसलाको स्वागत, सम्मान र कदर गर्दै धन्यावाद ज्ञापन समेत गरिएको थियो । बैठकमा सांसदहरुले एकआपसमा बधाई तथा धन्यवाद शुभकामना साटासाट समेत गरेका थिए।

त्यस्तै अत्यावश्यक परिस्थितिमा बाहेक उपत्यका छाड्नुपरेमा जानकारी गराउन समेत सांसदलाई निर्देशन दिइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर