राष्ट्रपतिलाई पम्फा भुसालको सुझाव: पशुपतिनाथसँग होइन, जनतासँग क्षमा माग्नुस्(भिडियो) – Nepal Press

राष्ट्रपतिलाई पम्फा भुसालको सुझाव: पशुपतिनाथसँग होइन, जनतासँग क्षमा माग्नुस्(भिडियो)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहकी स्थायी कमिटी सदस्य पम्फा भुसालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत राजीनामा दिन आग्रह गरेकी छन् ।

नेकपा प्रचण्ड–माधव समूहले बुधबार राजधानीमा निकालेको विजय सभालाई सम्बोधन गर्दै नेतृ भुसालले राष्ट्रपति भण्डारी पशुपतिनाथ दर्शन गएको प्रसंगमा पशुपतिनाथसँग होइन, जनतासँग क्षमा माग्न आग्रह गरेकी हुन् ।

उनले भनिन्, ‘बिहान पशुपतिनाथको जात्रा देखेकी थिएँ मैले । त्यहाँ क्षमायाचना गर्नुभन्दा अब जनताका बीचमा क्षमायाचना गरेर हामीले छोड्याैं भनेर फैसला गरे हुन्छ ।’

प्रधानमन्त्री ओलीले संविधानको हत्या गर्ने र राष्ट्रपति निकायबाट त्यही रगतको टीका लगाउने काम भएको टिप्पणी समेत नेतृ भुसालले गरिन् । तर सर्वोच्च अदालतले निर्णय गरेपछि राजीनामा आउनुपर्नेमा प्रवक्तामार्फत राजीनामा नदिने भन्न लगाएको बताइन् । राष्ट्रपतिले संविधानको रक्षा गर्न नसकेको समेत बताइन् ।

भुसालले भनिन् ‘केपी ओलीले संविधानको हत्या गर्ने, राष्ट्रपति निकायले त्यही रगतको टीका लगाउने । यो प्रतिगमनका मतियारहरुले मैले सोचेकी थिएँ हिजो बेलुका सर्वोच्च अदालतबाट निर्णय आउँदै थियो । मैले पनि मिडियाबाट थाहा पाएकी थिएँ । मैले सोचेकी थिएँ अब तत्कालै यो गैरसंवैधानिक काम, यो संविधानको रक्षा गर्न नसक्ने असक्षम प्रतिगामीहरुले कमसेकम अलिकति पनि नैतिकता छ भने, अलिकति मानवीय स्वाभिमान छ भने हिजै राजीनामा देलान् भनेकी थिएँ तर एकदुई घण्टापछि उनैका प्रवक्ताद्वारा सुनें नदिने रे ।’

नेतृ भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए १३ दिन भित्र बस्ने प्रतिनिधि सभाबाट निकाल्ने चेतावनी दिएकी छन् । भुसालले नैतिकता र मानवीय स्वाभिमान छ भने तत्काल राजीनामा दिनुपर्ने बताइन् ।

सर्वोच्च अदालतले निर्णय गर्ने वित्तिकै राजीनामा आउनुपर्नेमा अहिलेसम्म राजीनामा नआएको भन्दै नैतिकताको आधारमा राजीनामा नदिए १३ दिनभित्र बस्ने प्रतिनिधि सभाबाट गलहत्याएर निकाल्ने चेतावनी दिएकी हुन् ।

उनले भनिन्, ‘हारेको प्रतिगामीले उठ्छु भन्ने परिकल्पना गरेको छ भने त्यो दुश्वप्ना हुनेछ । तेह्र दिन भित्र प्रतिनिधि सभाको बैठक बस्ने छ र त्यहाँबाट गलहत्याएर फालिनेछ । म अहिले पनि अपील गर्छु यो संविधानको हत्या गर्ने र संविधानको संरक्षण गर्न नसक्नेहरुले छिटो भन्दा छिटो ठाउँ खाली गरिदिएर आफूले गरेको अपराधप्रति पश्चाताप गरेर कतै बसिदिए हुन्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर