सिस्टममै देखिएको समस्याप्रति लगानीकर्ताको आक्रोश- नेप्से, वाइको र सेवनको चरम लापरवाही – Nepal Press

सिस्टममै देखिएको समस्याप्रति लगानीकर्ताको आक्रोश- नेप्से, वाइको र सेवनको चरम लापरवाही

काठमाडौं । बुधवार कारोबार शुरू भएको दुई मिनेटमा नै नेप्से ८६ अंकले घटेको देखियो । प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्च अदालत फैसलापश्चात बजारले राम्रै उचाइ लिने लगानीकर्ताहरूले अपेक्षा गरेका थिए ।

सेयर बजार परिसूचक नेप्से ८६ अंकले घट्दा सेन्सेटिभ परिसूचक र अन्य उपसूचक भने बढेको देखिन्थ्यो । त्यसको केही समयपछि ३६ अंकले बजार घट्यो ।

अझ आश्चर्य त मंगलवार ७ सय २६ रूपैयाँमा पुगेको निफ्राको सेयर कारोबार भएको १ घण्टाभित्रमा १० प्रतिशतले नकारात्मक सर्किटब्रेक लागेर ५ सय ९४ रुपैयाँमा कारोबार बन्द भएको थियो ।

बुधबारको कारोबार त्यही नेप्सेको प्रणालीलाई कमजोर पार्ने काम निफ्राको सेयरले नै गरेको देखिन्छ । निफ्राको सेयरमा बेच्ने ‘क्राउड’ बढेपछी नेप्सेको ‘स्टिम क्रास’ भएको थियो ।

मूल्य कारोबार भएको निकै समयसम्म निफ्राको सेयरमा शून्य देखाएपछी नेप्सेले कारोबार स्थगित गर्‍यो । जसले गर्दा नेप्सेको प्रणालीमा आएको समस्या सुधार भएको थियो ।

के कारणले समस्या आयो भन्ने विषयमा अध्ययन गर्ने काम आइटी विभागले गरिरहेको नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले नेपाल प्रेसलाई बताए । ‘निफ्रा ठूलो कम्पनी हो , ठूलो संख्यामा लगानीकर्ताहरुको ‘क्राउड’ बढेपछी सिस्टमले काम गर्न छोड्यो । निफ्राको सेयर मूल्य कसरी शून्य भयो त्यसको अध्ययन भइरहेको छ, पराजुलीले भने ।’

नेपाल धितोपत्र बोर्डले पनि आजको कारोबार अवरुद्धको विषयमा जानकारी प्राप्त भएको प्रतिक्रिया दिएको छ । ‘कुन कारणले समस्या आयो हामीले अध्ययन गरिरहेका छौं’ बोर्डका प्रवक्ता निरज गिरीले भने , ‘हामीले पनि समाचार आएपछि थाहा पाएको हो । निफ्रामा ‘क्राउड’ बढेछ , मूल्य पनि एक्कासी घटेको रहेछ । नेपालमा सेयर बजार सानो छ थोरै लगानीकर्ता भएका कारणले प्रणालीमा समस्या आएको थिएन । अहिले एकैपटक धेरैको भीडले गर्दा समस्या आएको हुन सक्छ । ’

लगानीकर्ता तथा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रोनियारले यसलाई नेप्से , धितोपत्र बोर्ड र नेप्सेको अनलाइन प्रणाली निर्माता वाइको कम्पनीलाई चरम लापरवाही भएको नेपाल प्रेसलाई बताए ।

‘सर्वोच्चको फैसलापछिको कारोबारको आज पहिलो दिन थियो हामीले आज धेरै कारोबार गर्ने सोच बनाएका थियौं तर नेप्सेको अनलाइन प्रणाली र वेबसाइट र मेरो सेयरमा समस्या आउँदा कारोबार नै गर्न सकेनौं । यसमा नियमक सेवन , धितोपत्र वोर्ड र वाइको कम्पनीको चरम लापरवाही देखिएको छ’ उनले भने, ‘हाम्रो त सेयर हराउने डर भयो अब कसरी लगानी गर्ने ? नेप्सेले फोन पनि उठाएन । हामी सबै लगानीकर्ताको आजको हुन नसकेकोमा ठूलो आपत्ति छ । हामीले तिरेको पैसाले निर्माण गरेको प्रणाली पनि गतिलो रहेनछ ।’

‘आज साढे २ बजेसम्म समस्या देखिएको छ यस्ता समस्याहरू पहिले पनि देखिँदा नियमक बोर्ड र नेप्सेले वास्ता गरेका थिएनन् ‘, रोनियारले थपे ।’

बुधवारको बन्द हुँदासम्ममा सेयर बजार परिसूचक नेप्से १२.५६ अंकले बढ्दै २५९९.०७ अंकको विन्दुमा कारोबार बन्द भयो । २०४ कम्पनीको सेयर कारोवार भएको नेप्सेमा ६ अर्ब ७० करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर