नेपालसहित ८५ मुलुकमा बजार विस्तार गर्ने स्पटीफाइको घोषणा – Nepal Press

नेपालसहित ८५ मुलुकमा बजार विस्तार गर्ने स्पटीफाइको घोषणा

काठमाडौं । विश्व संगीतको सबैभन्दा ठूलो डिजिटल प्लेटफर्म स्पटीफाइले नेपालसहितका ८५ मुलुकमा बजार विस्तार गर्ने घोषणा गरेको छ ।

हलिउड म्यागजिन भेराइटीका अनुसार केही दिनमा नेपालबाट समेत उक्त एप डाउनलोड हुने र संगीत सुन्न सकिनेछ । यी बजारमा सेवा विस्तार गर्दा १ अर्ब ग्राहक थपिने स्पटीफाइको भनाइ छ ।

गत सोमबार स्पटीफाइले आफ्ना साझेदार र सर्जक सहभागि एक समारोहमा यस्तो महत्वाकाङ्क्षी घोषणा गरेको हो । ८५ नयाँ बजारमा नेपालीसहित पाकिस्तान, बंगलादेशजस्ता एसियाली मुलुक पनि छन् ।

६० वटा भाषामा स्फटीफाइले सांगीतिक प्लेटफर्मको सेवा विस्तार गर्ने उल्लेख छ । विस्तार गर्न लागिएका बजारमा एसिया, अफ्रिका, युरोप, ल्याटिन अमेरिका र क्यारेबियन मुलुकहरु छन् । अहिले स्पटीफाइ ९३ मुलुकमा मात्र संचालनमा छ । चीनमा भने यो एपले संचालन अनुमति पाएको छैन ।

नयाँ घोषणासँगै स्पटीफाइ अब १७८ बजारमा विस्तार हुने जनाइएको छ । ‘धेरै पडकास्टर र श्रोता हाम्रो प्लेटफर्मममा थपिनुको अर्थ हाम्रा प्रयोगकर्ताले थप सिर्जना पहिल्याउनु हो’ स्पटीफाइका व्यवसाय विभाग प्रमुख एलेक्स नर्सट्रोमले भने, ‘दर्शक र श्रोताबीचको सम्बन्ध नै हाम्रो ब्यापारको आधारभूत पक्ष हो ।’

स्पटीफाइको यो निर्णयले अडियो बजारलाई गति दिने आशा नर्सट्रोमले व्यक्त गरे ।

सन् २०२० को सुरुवाती चार महिनामा विश्वभर स्पटीफाइ प्लेटफर्मका ३४५ मिलियन सक्रिय श्रोता छन् । यो प्लेटफर्ममा महिनामा ७० मिलियन ग्राहकले व्यक्तिगत गीत र २ मिलियन पडकास्ट अपलोड गर्ने गर्छन् । स्पटीफाइले सेवा विस्तारका लागि प्रत्येक बजारमा स्थानीय साझेदार खोज्ने पनि जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *