नागरिक अभियन्ता भन्छन्ः सर्वोच्चको फैसला स्वागतयोग्य, अरु प्रतिगमनविरुद्धको आन्दोलन जारी – Nepal Press

नागरिक अभियन्ता भन्छन्ः सर्वोच्चको फैसला स्वागतयोग्य, अरु प्रतिगमनविरुद्धको आन्दोलन जारी

काठमाडौं । सर्वोच्च अदातलको संसद पुनःस्थापना गर्ने निर्णयलाई स्रष्टा तथा नागरिक समाजका अभियन्ताहरूले स्वागतयोग्य भनेका छन् । निरन्तर आन्दोलनको अग्रपंक्तिमा देखिएका लेखक तथा पत्रकार नारायण वाग्लेले सर्वोच्चको निर्णय आम नागरिकको पक्षमा भएको बताए । ‘यो स्वागतयोग्य निर्णय हो । बाँकी हाम्रो विज्ञप्तिमार्फत नै भन्नेछौं ।’

अभियन्ता रीता परियारले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हर्षले यो मन गद्गद् छ ! हाम्रो लडाइँको जित भयो ! खुट्टाको चोट अझै आलो छ ! पानीको फोहोरले सातो गएको छ ! नेता सुध्रिन भने अझै बाँकी छ ।’

अभियन्ता तुलानारायण साहले उक्त निर्णय अपेक्षित नै भएको बताए । ‘नागरिक आन्दोलनले यो असंवैधानिक हो, यसको पुनःस्थापना हुनुपर्छ भन्ने पहिलो माग थियो । सर्वोच्चले स्वागतयोग्य निर्णय गर्यो’ उनले नेपाल प्रेससँग भने ।

साहले आगामी दिनमा बृहत् नागरिक आन्दोलनले बाँकी खबरदारी गरिरहने बताए । ‘खबरदारी गर्याे भने तानाशाह झुक्न अनेक संरचना अगाडि सर्छन् भन्ने कुराको सन्देश आजको सर्वोच्चको निर्णयले दियो’, उनले भने ।

लेखक तथा नागरिक आन्दोलनका अभियन्ता सञ्जीव उप्रेतीले आम जनताको पक्षमा निर्णय भएको भन्दै खुशी व्यक्त गरे । उनले संसद पुनःस्थापना भएर मात्र नागरिकहरूको आन्दोलन नरोकिने बताए । ‘अब संसद पुनःस्थापना भएर मात्र हाम्रो आन्दोलन रोकिनेवाला छैन । यो निर्णय आम जनताको पक्षमा भएको हुनाले खुशीको कुरा हो ।’

प्रधानमन्त्रीको दम्भको जवाफ मिल्यो: मोहना अन्सारी

राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले संविधान बिक्री गर्ने शक्तिलाई ठूलो जवाफ आजको सर्वोच्चको निर्णयले मिलेको बताइन् । सर्वोच्चले शक्तिपृथकीकरणको राम्रो नमूना स्थापित गरिदिएको उनको तर्क छ ।

‘सरकार आफैं संविधानलाई खत्तम बनाउने गतिमा लागेको थियो । सर्वोच्चले शक्तिपृथकीकरणको राम्रो नमूना स्थापित गरिदिएको छ । न्यायपालिकाले शक्तिपृथकीकरणको गरिमालाई बढाइदियो’, उनले भनिन् । प्रधानमन्त्रीको दम्भ र घमण्डको जवाफ अहिले मिलेको उनले बताइन् ।

‘प्रधानमन्त्रीले जसरी सांसदहरूलाई मजाक बनाउनुभएको थियो । उहाँको लागि यो ठूलो जवाफ हो । उहाँले जनताको मतको अवमूल्यन गर्नुभएको थियो । बाँकी खेल के हुन्छ त्यो आफ्नो ठाउँमा छ, प्रधानमन्त्रीको दम्भ र घमण्डको जवाफ अहिले मिलेको छ’, उनले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर