साढे ३५ लाखसहित ४ हुण्डी कारोबारी पक्राउ – Nepal Press

साढे ३५ लाखसहित ४ हुण्डी कारोबारी पक्राउ

जनकपुरधाम । स्रोत नखुलेको ३५ लाख ५० हजार रूपैयाँसहित सप्तरी र धनुषाबाट चारजना पक्राउ परेका छन् ।

धनुषाको सीमावर्ती नगराईनबाट २५ लाख ५० हजार रूपैयाँसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा महोत्तरीका संजय साह र भारत पिपरौन गाउँका सुमित यादव छन् ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार ती दुवैजनालाई शंका लागेर चेकजाँच गर्दा स्रोत नखुलेको रकम बरामद भएपछि नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरिएको धनुषा प्रहरी अपराध शाखाका सई सन्तोष झालेले जानकारी दिए ।

यस्तै सप्तरीको तिलाठीबाट स्रोत नखुलेको १० लाख रूपैयाँसहित दुई महिलालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका-५ बस्ने ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दास छन् ।

सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठका अनुसार सीमा सुरक्षा बल तिलाठीको गस्ती टोलीले दुई महिलालाई पक्राउ गरेको हो ।

प्रहरी स्रतोका अनुसार छुट्टाछुट्टै ठाउँबाट पक्राउ परेका चारैजना हुण्डीको अवैध कारोबार गर्नेहरू हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *