ओली र देउवाको विकल्प खोज्न शशांक-प्रकाशमान एकैठाउँ – Nepal Press

ओली र देउवाको विकल्प खोज्न शशांक-प्रकाशमान एकैठाउँ

काठमाडौं । प्रतिनिधिसभा विघटनले संविधान र लोकतन्त्र नै खतरामा परेको निष्कर्षमा रहेका कांग्रेसका दुई प्रभावशाली नेताबीच प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाकै विकल्प खोज्नेगरी छलफल भएको छ ।

कांग्रेस महामन्त्री डा.शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच पछिल्लो राजनीतिक अवस्था, सर्वोच्च अदालतको सम्भावित फैसला, कांग्रेसको महाधिवेशन र पार्टीले लिनुपर्ने रणनीति लगायतका विषयमा ‘गम्भीर छलफल’ भएको छ ।

आइतबार काठमाडौंको महाराजगञ्जस्थित होटल शाम्बलामा संगै लन्च गरेका दुई नेताबीच दुई घण्टा ‘वान टु वान’ छलफल भएको थियो । छलफलमा पार्टीको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गराउने, महाधिवेशन मार्फत नेतृत्व परिवर्तन गर्ने र संस्थापन इत्तर समूहलाई एकताबद्ध बनाउने विषयमा परामर्श भएको थियो ।

साथै प्रतिनिधिसभा विघटनपछि पार्टीभित्र देखिएको सैद्धान्तिक मतान्तर, संसद पुनःस्थापना भएमा हुनसक्ने सम्भावित राजनीतकि समीकरण लगायतका विषयमा पनि दुई नेताबीच छलफल भएको छ ।

महाधिवेशनसम्मै एकता

पटक-पटक सर्दै आएको कांग्रेस महाधिवेशन २०७८ भदौ ७ देखि १० गतेसम्मका लागि तोकिएको छ । कोइराला र सिंहबीच अब नसर्ने गरी पार्टीको महाधिवेशन तयारी गर्ने र महाधिवेशनबाट नेतृत्व फेर्ने विषयमा सहमति भएको छ ।

‘पार्टीको महाधिवेशन तोकिएकै मितिमा गर्ने र महाधिवेशनबाट सबल तथा सक्षम नेतृत्व स्थापित गर्ने विषयमा छलफल गरेका हौं’, भेटबारे पूर्वमहामन्त्री सिंहले नेपाल प्रेससंग भने ।

दुवै नेताबीच सभापति शेरबहादुर देउवालाई पार्टी नेतृत्वमा ‘नदोहोरिने’ अवस्था बनाउन संस्थान इत्तर समूहका नेताबीच एकता कायम गराउने सहमति समेत बनेको छ । सो समूहबाट कोइराला र सिंहसहित वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौंला र डा. शेखर कोइराला सभापतिका प्रत्याशी छन् । समूहका केही नेता काठमाडौं बाहिर रहेकोले फर्कनासाथ सबैसंग थप छलफल गर्ने सहमति पनि कोइराला र सिंहबीच भएको छ ।

ओलीको विकल्प देउवा नहुने

दुवै नेताबीच अदालतले संसद पुनःस्थापना गरेको अवस्थामा के गर्ने ? भन्नेबारे पनि छलफल भएको थियो । संसद पुनःस्थापना हुनासाथ प्रधानमन्त्री ओलीको विकल्प खोज्नुपर्ने तर विकल्प देउवा हुन नसक्नेमा दुवै नेता सहमत छन् ।

‘संसद पुनःस्थापना भए कांग्रेसले ओलीको विकल्प दिनुपर्छ । प्रचण्ड-माधव पक्षले अब देउवालाई प्रधानमन्त्री स्वीकार्ने अवस्था छैन । त्यस्तो बेला पार्टीभित्रैबाट देउवाको विकल्प दिनुपर्ने हुनुसक्छ’, भेटमा भएको संवादबारे स्रोतले भन्यो ।

संसद विघटनविरुद्ध आन्दोलन चर्काउन आनाकानी गरेका कारण सभापति देउवा प्रधानमन्त्री ओलीको विकल्प बन्न नहुने दुवै नेताको धारणा छ ।

‘संसद पुनःस्थापना देउवाजीको एजेण्डा होइन । पुनःस्थापना भए सबै दलको सहमतिमा कांग्रेसले विकल्प दिनुपर्ने हुनसक्छ’, नेताद्वयको छलफलको आशय थियो ।

असमझदारी घटाउने प्रयास

सभापतिमा दावी गर्दै आएका कोइराला र सिंहबीच आपसी असमझदारी कम गर्न पनि ‘लञ्च मिटिङ’ गरिएको हो । २०७४ साल फागुनमा सम्पन्न संसदीय दलको निर्वाचनमा सिंहले सभापति देउवाविरुद्ध उम्मेदवारी दिएका थिए । त्यतिबेला कोइरालाबाट प्रत्यक्ष सहयोग नपाएको सिंहको गुनासो रहँदै आएको छ ।

देउवाले ४४ मत ल्याउँदा सिंहले १९ मत ल्याएका थिए । कोइरालानिकट केही सांसदहरुको मत सिंहले नपाएका कारण दुवै नेताबीच लामो समय असमझदारी कायम रहेको थियो । पछिल्लो छलफलले विगतदेखिका असमदारी हटाउने र आगामी महाधिवेशनमा मिलेर जाने दिशामा महत्वपूर्ण भूमिका खेलेको निकटस्थहरु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर