‘बाँदरको चल्लो छोप्यो राउटेका धामीले, खेती छैन पाती छैन क्या खाने हामीले’(भिडियोसहित) – Nepal Press
मुख्यमन्त्रीसित भूमिहीन वादीको गुनासो

‘बाँदरको चल्लो छोप्यो राउटेका धामीले, खेती छैन पाती छैन क्या खाने हामीले’(भिडियोसहित)

‘बरु गोली हान्नोस्, जग्गा नपाए घर जाँदैनौं’

सुर्खेत । ‘जग्गा चाहियो’ भन्दै दैलेखको दुल्लु, चामुण्डा विन्द्रासैनी र आठबिस नगरपालिकाका वादी समुदाय वीरेन्द्रनगर आइपुगेका छन् । शनिबार बिहान कुम्लो–कुटिरो, लत्ताकपडा, बाख्रापाठासहित गाउँबाट हिंडेका वादी समुदाय आइतबार साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि आइपुगेका थिए ।

उनीहरूलाई तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले आइतबार साँझ चामल, दाल, नून, तेल र ग्याँसको व्यवस्था गरिदिएका थिए । विष्टले दिएको राहत सामग्री खाएर २३० जना भन्दा बढी वादी समुदाय वरिपरि चर्पीसमेत नभएको खुला चौरमा बसेर रात कटाएका थिए ।

‘जग्गा–जमीन केही पनि छैन । जनता आवासबाट बनाइएको एउटा घर मात्रै छ । हामीले घरमा एक इन्च थप जमीन पनि पाएका छैनौं, हातखुट्टा चलाउने ठाउँ पनि छैन’ प्रतिमा नेपाली वादीले भनिन्, ‘सरकारले हाम्रो कुरा कहिले सुन्ने ? कहिलेसम्म हामी यहाँ बसिरहने ? हामीलाई अरू केही चाहिएन, जमीन भए पुग्छ ।’

उनले दिसापिसाब गर्न पनि नदिइएको बताइन् । ‘प्रहरीले हामीलाई दिसापिसाब गर्न पनि दिएको छैन’ उनले भनिन्, ‘हामीलाई सरकारले कहिले न्याय दिन्छ ?’

‘छाती खोलिदिन्छौं, गोली हानेर मारिदिनुहोस्’ जानकी वादीले भनिन्, ‘हाम्रो जग्गा–जमिन छैन । बालबच्चा नांगै छन् । चार दिन भयो हिंडेको । पेटमा गाँस छैन । बासको टुंगो छैन । बरु यसरी बाँच्नुभन्दा गोली हानिदिनोस् । मारिदिनोस् !’

अर्की भूमि वादीले ‘बाँदरको चल्लो छोप्यो राउटेका धामीले, खेती छैन पाती छैन क्या खाने हामीले’ भन्दै गीतै गाएर सुनाइन् । ‘हामीसँग जमीन छैन । गाउँमा गएर माग्दा कसैले केही दिंदैनन्’ उनी भन्छिन्, ‘हामी बारम्बार स्थानीय सरकारसँग पनि गयौं । तर हाम्रो मागको सुनुवाइ कसैले गरेन ।’

जिल्ला वादी अधिकार संघर्ष समिति दैलेखका अध्यक्षले आफूहरूको समुदायलाई राज्यले सौतेलो व्यवहार गरेको आरोप लगाए । ‘हामी सुल्पा चिलम मागेर खाने जात हो । अहिले सरकारले आवास त बनाइदिएको छ तर अन्य रोजगारी केही छैन । जमीन छैन । खोलामा माछा मारौं भने औषधि हालेर मार्ने चलन बढेको छ । बालुवा चालौं भने डोजर चलाइएको छ, हामीले कसरी जीविकोपार्जन गर्ने ?’

उनी भन्छन्, ‘आयस्रोत नभएका कारण हामीलाई समस्या छ । परिवारलाई जीवनयापन गर्न सरकारले आवश्यक खेतीयोग्य जमीन उपलब्ध गराएको खण्डमा हामी जान्छौं ।’

जग्गा बाहेक अन्य सहयोग गर्छौंः मन्त्री भण्डारी

आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले जग्गा सम्बन्धी सबै अधिकार स्थानीय र संघीय सरकारको भएको बताउँदै त्यसमा आफूहरूले केही गर्न नसक्ने बताए । उनले जग्गा भएको खण्डमा आवास बनाउने, शिक्षादीक्षाको व्यवस्था गर्नेलगायत अन्य सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउँदै वादी समुदायका समस्याको चिरफार गर्न आवश्यक रहेको बताए ।

‘सिटामोल खाएर उपचार असम्भव छ । तपाइँहरूका समस्या समाधानको लागि शल्यक्रिया नै गर्नुपर्छ’ मन्त्री भण्डारी भन्छन्, ‘त्यसका लागि प्रदेश मन्त्रिपरिषदको बैठक बसेर समस्या समाधान गर्न पहल गर्छौं । तपाइँहरू पनि भूमि व्यवस्थापन आयोग जस्ता संस्थामा जानोस् । त्यहाँबाट पनि केही समाधान निकाल्न सकिन्छ कि ?’

भिडियो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर