‘मेलमिलाप केन्द्र’ स्थापनाको तयारीमा उद्योग बाणिज्य महासंघ – Nepal Press

‘मेलमिलाप केन्द्र’ स्थापनाको तयारीमा उद्योग बाणिज्य महासंघ

रुपन्देही । औद्योगिक क्षेत्रमा भएका समस्यालाई समाधान गर्नका लागि मेलमिलाप केन्द्र स्थापनाको तयारीमा लागेको उद्योग बाणिज्य महासंघले बताएको छ ।

समय–समयमा श्रमिक र उद्योगीबीच कुरा नमिल्दा विभिन्न समस्या आउने गरेकाले त्यस्ता समस्या समाधानका लागि मेलमिलाप केन्द्र स्थपना गर्न लागिएको संघका अध्यक्ष शेखर गोल्छाले बताए ।

बुटवल उद्योग वाणिज्य संघको सोमबारदेखि शुरु भएको २४ औं अधिवेशन तथा ६७ औं वार्षिक साधारणसभामा संघका अध्यक्ष शेखर गोल्छाले सो कुरा बताएका हुन् ।

‘विगतका दिनमा उद्योग क्षेत्रहरुमा विभिन्न बहानामा हुने आन्दोलन, हड्ताल जस्ता क्रियाकलापले उद्योगधन्दा धरसायी बनेकाले त्यस्ता समस्या समाधानका लागि मेलमिलाप केन्द्र स्थापनाको तयारी गरेका छौ,’ उनले भने ।

मेलमिलाप केन्द्र स्थापनाको लागि न्यायलयसँग सहमति मागेरै केन्द्र स्थापना गर्न लागिएको उनले बताए । कार्यक्रममा उनले कोभिड–१९ का कारण धरासायी बनेको नेपालको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि ४ लाखभन्दा बढी रोजगार सिर्जना गर्नेगरी उद्योग बाणिज्य महासंघ अघि बढेको बताए ।

कार्यक्रमा बोल्दै उनले भने ‘हामीले दोहोरो अंकको आर्थिक वृद्धि गर्ने गरी लक्ष्य निर्धारण गर्नु पर्छ । यसका लागि लाखौको संख्यामा रोजगार सृजना हुनपर्छ ।’
मुलुकमा आर्थिक समृद्धि विकास अपरिहार्य रहेको भन्दै उनले महासंघले केही दिनभित्रमा ‘निर्धारित लक्ष्य तथा योजना’ प्रस्तुत गर्ने तयारी रहेको पनि जानकारी दिए ।

आफू महासंघको अध्यक्ष भएपछि निजी क्षेत्रको विकासका लागि दिर्घकालीन योजना सहित अघि बढ्ने उनको भनाइ थियो ।

कोभिडका कारण निजी व्यवसायी मारमा  परेकाले यसका लागि लागि बैंक तथा वित्तीय संस्थासँग सम्झौता गरी व्यवसायीलाई सस्तो र सरल रुपमा ऋण उपलब्ध गराउने काममा महासंघ लाग्ने पनि उनले बताए ।

सरकारले उद्योगीहरुलाई राहत प्रदान गर्ने उद्देश्यले निःशुल्क उद्योग दर्ता गर्ने व्यवस्था मिलाएपछि नयाँ उद्योगहरु दर्ता हुनेक्रम बढकोमा उनले खुसी व्यक्त गरे । तर, दर्ता भएका सबै उद्योग सञ्चालनमा आउन नसकेकोमा पनि उनले चिन्ता व्यक्त गरे ।

लुम्बिनी प्रदेश सरकारले औद्योगिक क्षेत्रको विकासका लागि रुपन्देहीको मोतिपुरमा निर्माण गर्न लागेको औद्योगिक क्षेत्रको काम आगामी हप्ताबाट शुरुवात हुने उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर