संगठनभित्र बराबरी भाग लगाउने प्रचण्ड र माधव नेपालबीच सहमति – Nepal Press

संगठनभित्र बराबरी भाग लगाउने प्रचण्ड र माधव नेपालबीच सहमति

एकीकरण टुंग्याउन ९ बुँदे मापदण्ड

काठमाडौं । प्रचण्ड-माधव पक्षीय नेपाल कम्युनिष्ट पार्टीमा संगठनभित्र बराबरी भाग लगाउने सहमति बनेको छ ।

२० पुसमा बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका बाँकी काम टुंग्याउन भन्दै अध्यक्ष माधव नेपालको अध्यक्षतामा कार्यदल बनाएको थियो । नेताहरुको व्यस्तता कारण देखाउँदै कार्यदल तोकिएको समयभन्दा केही ढिला सहमतिमा पुगेको हो ।

स्थायी कमिटी सदस्य एवम् कार्यदल सदस्य गिरिराजमणि पोखरेलले पार्टी एकीकरणका काम टुंग्याउन ९ बुँदे मापदण्डमा सहमति बनेको जानकारी दिए ।

उक्त मापदण्ड अनुसार प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवं पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा ५०-५० प्रतिशत भाग लगाउने सहमति बनेको हो । साविकको जुन पक्षबाट रिक्त भएको हो त्यही पक्षवाट पूर्ति गरिने छ ।

‘सामान्यता पार्टी कमिटीहरु तथा जनवर्गीय संगठनका विभिन्न तहमा पपदाधिकारी तथा सदस्यहरुमा कमिटीको कुल सदस्य संख्यामा ५०/५० प्रतिशत हुनेगरी गर्ने, विशेष परिस्थितिमा विशेष व्यवस्था गर्न सकिनेछ ,’ मापदण्डमा भनिएको छ।

२० पुसको स्थायी कमिटी बैठकले ओली पक्षतिर लागेका प्रदेश इन्चार्जहरु शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई हटाएको थियो । उनीहरुलाई हटाएर लुम्बिनी प्रदेश इन्चार्जमा युवराज ज्ञवाली र गण्डकी प्रदेश इन्चार्जमा देवेन्द्र पौडेललाई नियुक्त गरेको थियो ।

उपयुक्त मापदण्ड र आधारमा अब यथाशीघ्र रिक्त स्थानहरूको पूर्ति गरिने छ। यसअघि पूर्वएमाले र माओवादीबीच ६० /४० प्रतिशतको अनुपातमा भागबन्डा भएको थियो।

प्रचण्ड-माधव पक्षले विभिन्न प्रदेश कमिटीमा ९ पदाधिकारी नियुक्त गर्न बाँकी छ। प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डल, सहइन्चार्ज प्रभु साह र सचिव सुमन प्याकुरेल पनि ओली पक्षतिरै लागेकाले त्यहाँ सबै पदाधिकारी नियुक्ति गर्न बाँकी छ।

सग्लो नेकपाको जस्तै पदाधिकारी संरचनामा गए पनि उपाध्यक्ष र महासचिव नियुक्त हुन बाँकी छ । महासचिवमा धेरै आकांक्षी भएका कारण विशेष गरी महासचिव नियुक्ति प्रचण्ड-माधव पक्षलाई कठिनाइ भएको छ ।

महासचिवमा भीम रावल, सुरेन्द्र पाण्डे, हरिबोल गजुरेल, वर्षमान पुन, जनार्दन शर्मालगायत आकांक्षी छन् । पार्टीमा धेरै भाग नपाएका वरिष्ठ नेता झलनाथ खनालको सिफारिसअनुसार सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने तयारी भए पनि आकांक्षीहरुको विरोधका कारण कुनै निर्णय भएको छैन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर