प्रचण्ड-माधव पक्षीय प्रेस संगठनको नेतृत्वमा को को आए ? – Nepal Press

प्रचण्ड-माधव पक्षीय प्रेस संगठनको नेतृत्वमा को को आए ?

योगेश भट्टराई इन्चार्ज, सहइन्चार्जमा विष्णु रिजाल थपिए

काठमाडौं । नेकपा विभाजनसँगै नेकपाआवद्ध पत्रकारको संगठन पनि औपचारिकरूपमा विभाजित भएको छ । दुवै पक्षले राष्ट्रिय भेला आयोजना गरेर विभाजनको शुरूआत गरेका थिए । अब अलग-अलग नेतृत्व चयनसँगै पत्रकार महासंघ निर्वाचनको पूर्वसन्ध्यामा नेकपासम्बद्ध पत्रकार पनि विभाजित भएका छन् ।

विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले प्रेस संगठनको नयाँ नेतृत्व चयन गरेको छ । गत शुक्रवार बसेको स्थायी कमिटी बैठकले पार्टी निकट पत्रकारको संगठनका संयोजक महेश्वर दाहाललाई यथावत् राखेर इन्चार्ज र सह-इन्चार्ज तथा पदाधिकारीहरु तोकेको हो ।

प्रचण्ड-माधव पक्षले प्रेस संगठनको इन्चार्जमा योगेश भट्टराई र सहइन्चार्जमा विष्णु रिजाललाई चयन गरेको छ । पार्टी विभाजनपछि इन्चार्ज राजेन्द्र गौतम केपी ओली पक्षमा लागेकाले उनको ठाउँमा योगेश भट्टराईलाई ल्याइएको हो ।

सहसंयोजक गणेश बस्नेत केपी ओलीपक्षीय प्रेस संगठनको संयोजक बनेपछि उनलाई हटाएर सहसंयोजकमा विश्वमणि सुवेदी र विष्णु सापकोटा ‘जुगल’ लाई तोकिएको छ भने महासचिव राजेश राई चयन भएका छन् । सापकोटा पूर्वमाओवादी पक्षका हुन् भने सुवेदी र राई पूर्वएमाले पक्षका हुन् ।

०७५ जेठ ३ मा भएको पार्टी एकतापछि जनसंगठनहरुमा महासचिवको व्यवस्था थिएन । तर, प्रचण्ड-माधव पक्षले प्रेस संगठनबाट महासचिवको व्यवस्था गरेको हो । यसअघि सहइन्चार्ज रहेका महेश्वर दाहाल र ओम शर्मा सोही जिम्मेवारीमा कायम छन् ।

त्यस्तै संयोजक महेश्वर दाहालसहित प्रेस संगठनको १९ सदस्यीय केन्द्रीय कार्यालय पनि तोकिएको छ । केन्द्रीय कार्यालयमा साबिक प्रेस चौतारी (पूर्वएमाले) र साबिक प्रेस सेन्टर (पूर्वमाओवादी) बाट बराबरी नौ-नौ जना सदस्य रहने गरी समायोजन गरिएको छ ।

कार्यालय सदस्यमा पदाधिकारीबाहेक साबिक प्रेस चौतारीबाट सइन्द्र राई, नरेन्द्र साउद, रामकुमार एलन, अमृतनाथ तिमल्सिना, शुरोजंग पाण्डे, हेमकर्ण विक र चमिना भट्टराई चयन भएका छन् ।

त्यस्तै साविक प्रेस सेन्टरबाट कार्यालय सदस्यमा मनोज घर्तिमगर, देवराम यादव ,कमल गिरी, विवेक गौतम, मौसम रोकामगर, सुरेशचन्द्र अधिकारी, गंगा बराल र ध्रुव बुढाथोकी तोकिएका छन् ।

सातै प्रदेशसहित थप गैरभौगोलिकसमेत १० प्रदेशका इन्चार्ज, सहइन्चार्ज र संयोजक सहितका पदाधिकारीसमेत तोकिएको सो पक्षले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर