बजारमा नक्कली सामानको बिगबिगी, कोकाकोला र पेप्सीको समेत ट्रेडकमार्क चोरी – Nepal Press

बजारमा नक्कली सामानको बिगबिगी, कोकाकोला र पेप्सीको समेत ट्रेडकमार्क चोरी

काठमाडौं । पछिल्लो समय नक्कली बस्तु उत्पादन बढेको छ । बजारमा माग भएको जस्तै देखिने गरेर नयाँ उद्योगले सामान उत्पादन गर्न थालेपछि पुराना उद्योगहरू उद्योग विभागमा उजुरी बोकेर आउन थालेका छन् ।

नेपालमा नक्कली सामान उत्पादन वृद्धि भएको तथ्य उद्योग विभागमा पछिल्लो ६ महिनामा परेको ट्रेडमार्क, डिजाइन र प्याटेन्ट चोरीविरुद्धको उजुरीले पनि प्रमाणित गरेको छ ।

विभागका अनुसार पछिल्लो ६ महिनाको समयमा नक्कली उत्पादन गरेको भनेर उजुरी बढेको छ । उद्योग विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीले ६ महिनामा २ सय ४८ उजुरी दर्ता भएको बताए ।

उनले भने- पछिल्लो समय नेपालमा १ कम्पनीको ट्रेडमार्क, डिजाइन र प्याटेन्ट (बौद्धिक सम्पत्ति) अर्को कम्पनीले नक्कल गर्ने प्रवृत्ति बढ्दो रहेको छ ।’

गत साउनदेखि माघ महिनासम्म वौद्धिक सम्पत्ती चोरीविरुद्धका २ सय ४८ उजुरी उद्योग विभागमा आएका हुन् । औद्योगिक वौद्धिक सम्पत्ति चोरीसम्बन्धी विवादको टुङ्गो उद्योग विभागले नै लगाउने गरेको छ ।

विभागले गत आर्थिक वर्ष र चालू आर्थिक वर्षको अहिलेसम्म ७ सय ८८ ओटा उजुरी परेका छन् । जसमध्ये २ सय ४८ उजुरी भने सो आर्थिक वर्षको नै हो । विभागले गत आर्थिक वर्ष आएका उजुरी मध्ये ३६ ओटा उजुरीको मुद्दा फछ्र्यौट गरेको छ ।

विभागले चालु अर्थिक वर्षको पछिल्लो ६ महिनामा भने विभिन्न ५६ ओटा मुद्धा फछ्र्यौट गरिसकेको छ । पछिल्लो समय विश्वका चर्चित ठूला ब्राण्डहरूको नक्कली सामान समेत बजारमा पाइएको भन्ने उजुरी विभागमा आएका छन् ।

विश्वचर्चित ब्राण्ड कोकाकोला, पेप्सी, कुरकुरे, युनिलिभरलगायतका कम्पनीहरूले पनि आफ्नो प्याटेन्ट, डिजाइन र ट्रेडमार्क चोरी भएको भन्दै विभागमा उजुरी दिएका छन् ।

विभागले यस्ता उजुरीहरु लिएर छानविन पछि फैसला गरिदिने गर्दछ । तर, उजुरीकर्तालाई विभागको फैसला चित्त नबुझेको अवस्थामा सर्वोच्च अदालतमा उजुरी गर्न सकिने व्यवस्था पनि रहेको छ ।

पराजुलीले भने- नेपालकै खाद्य र मदिराजन्य उद्योगलगायतले आफ्नो उत्पादनको कपिनै बजारमा आएको भनेर पनि उजुरी हालेको बताए ।

विदेशीसँगै नेपाली बस्तुहरुको पनि नक्कली कम्पनीको लोगो, डिजाईन र प्याटेन्ट हुबहु चोरेर बस्तु उत्पादन विक्रीवितरण गर्दा सक्कली बस्तुहरु छायाँमा पर्नेगरेको व्यवसायीहरु बताउँछन् । बजारमा आएका सामान नक्कली या सक्कली छुट्याउनै गाह्रो हुनेगरी पनि वौद्धिक सम्पत्तिको चोरी हुने गरेको समेत व्यवसायी बताउँछन् ।

नेपालमा हाल औद्योगिक सम्पत्ति संरक्षणका लागि वि.सं २०२२ मा बनेको प्याटेन्ट, डिजाइन तथा ट्रेडमार्क ऐन कार्यान्वयनमा छ ।

यो ऐन धेरै पुरानो भएको र हाल औधोगिक उत्पादनको दायरा धेरै फराकिलो हुँदा धेरै कुराहरू नसमेटिएका कारण सरकारले नयाँ कानुनको निर्माण गरिरहेको विभागले जानकारी दिएको छ ।

हाल कानुन निर्माण भहिरहेको चरणमा रहेको उक्त कानूनको खाका उद्योग विभाग, मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पुगिसकेको छ । तर, संसद नहुँदा कानुन निर्माण समस्या परेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर