सरु लिम्बु बनिन् मोस्ट भ्यालुएबल प्लेयर – Nepal Press

सरु लिम्बु बनिन् मोस्ट भ्यालुएबल प्लेयर

काठमाडौं । पहिलो पटक डबल लिग पद्धतिमा सम्पन्न राष्ट्रिय महिला लिगको मोस्टभ्यालुएबल प्लेयर एपिएफ क्लबकी सरु लिम्बु बनेकी छन् । कोरोना भाइरसको महामारीका कारण एक वर्षपछि सरेको महिला लिगमा एपिएफले सतप्रतिशत जित निकाल्दै च्याम्पियन बन्दा सरु महत्त्वपूर्ण सदस्य रहेकी थिइन् ।

सरुले मोस्ट भ्यालुएबल खेलाडी हुने थोरै अपेक्षा गरेको प्रतिक्रिया दिइन् । ‘ मोस्ट भ्यालुएबल खेलाडी बन्छु भनेर अलि-अलि सोचेकी थिएँ,’ उनले भनिन्, ‘अझै हौसला बढेको छ । आजको खेलमा मानसिक रूपमा दबाब थियो । हामी मानसिक रूपले ठीक थिएनौं । तर, केही गर्नुपर्छ भन्ने सोचेर मैदानमा उत्रिएका थियौं ।’

चोटका कारण अन्तिमका दुई खेल गुमाएकी सावित्रा भण्डारीलाईको लागि पनि आजको खेल जित्छौं भन्ने सोचेर मैदानमा उत्रिएको उनले बताइन् ।

‘धेरैपछि मैदानमा फर्किँदा डर लागेको थियो । ट्रेनिङमा खेल राम्रो भएको थिएन,’ उनले भनिन्, ‘लिग सुरु हुनुभन्दा अगाडि स्कोरिङमा समस्या देखिएको थियो । तर, अन्तिम खेलमा सावित्रा (भण्डारी)दिदी नहुँदा डर थियो । तर, खेलमा दिदीको कमी हुन दिएनौं । ‘

महत्त्वपूर्ण खेलमा गोल तथा उत्कृष्ट खेल प्रस्तुत गरेकी सरुले शुक्रबार भएको अन्तिम खेलमा पनि त्रिभुवन आर्मीविरुद्ध दुई गोल गरेकी थिइन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सम्पन्न लिगको मोस्ट भ्यालुएबल खेलाडी बनेकी सरुले यामाहाको स्कुटर प्राप्त गरेकी छन् ।

च्याम्पियन एपिएफ क्लबले १५ लाख रूपैयाँ प्राप्त गरेको छ । त्यस्तै, दोस्रो भएको त्रिभुवन आर्मी क्लबले ८ लाख तथा तेस्रो भएको नेपाल पुलिस क्लबले ५ लाख रूपैयाँ प्राप्त गरेको छ ।

फेयर प्ले टीमले थप १ लाख ५० हजार प्राप्त गर्ने आयोजकले बताएको छ । लिगमा सहभागी हुने सबै टोलीले १ लाख रूपैयाँ तयारी खर्च र ५० हजार रूपैयाँ कोरोना राहत प्राप्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर