द्वन्द्वपीडितको समस्या समाधान गर्न सरकारले विशेष कार्यदल बनाउँछ : प्रधानमन्त्री – Nepal Press

द्वन्द्वपीडितको समस्या समाधान गर्न सरकारले विशेष कार्यदल बनाउँछ : प्रधानमन्त्री

प्रतिशोधको राजनीति गर्न हुँदैन 'क्षमा गर र बिर्स' को भावबाट जानुपर्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सशस्त्र द्वन्द्वपीडितको समस्या सम्बोधन गर्न सरकारले विशेष कार्यदल बनाउने बताएका छन् ।

बालुवाटारमा पुगेका द्वन्द्वमा मारिएका सुरक्षाकर्मीका परिवार तथा घाइते सुरक्षाकर्मीहरूसँगको छलफलका क्रममा प्रधानमन्त्रीले भने, ‘अब पीडितलाई आवश्यकता अनुरुपको सहयोगमार्फत द्वन्द्वका घाउहरूलाई क्रमशः पुर्दै लैजानुपर्छ ।’

छलफलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र सरकारका उच्च अधिकारीसमेतको सहभागिता थियो ।

छलफलमा प्रधानमन्त्री ओलीले राज्यले शान्ति सुरक्षाका लागि खटाएका, राज्यविरुद्ध हतियार उठाउनेका तर्फबाट लडेका र कुनै पक्षमा सामेल नभए पनि आशंका वा रिसइवीमा मारिएका गरी तीन धारका द्वन्द्व पीडितहरू रहेको उल्लेख गरे ।

‘जतापट्टिबाट गोली चलेर मारिएको होस्, तिनमा आश्रित एकल महिला, अभिभावक र सन्तानको पीडाहरू उस्तै-उस्तै छन्’, ओलीको भनाइ थियो ।

पेन्सन नपाउने द्वन्द्वपीडितको परिवार अरूभन्दा बढी समस्यामा रहेको जनाउँदै प्रधानमन्त्रीले युद्धको बेला पक्ष-विपक्ष कहीँ नभएका राजनीतिक कार्यकर्ता र सर्वसाधारण थुप्रै संख्यामा पीडित भएको बताए ।

‘यी सबै पक्षको माग कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा सम्बद्ध सबैसँग बसेर छलफल गरी निष्कर्ष निकाल्नुपर्छ’ प्रधानमन्त्रीले भने, ‘जुनसुकै तर्फबाट लडेको भए पनि अब प्रतिशोधको राजनीति गर्न हुँदैन क्षमा गर र बिर्सको भावबाट जानुपर्छ ।’

यद्यपि मैना सुनारको जस्तो जघन्य र गम्भीर प्रकृतिका घटनामा भने जोसुकैले पनि सजाय पाउनेप्रति ओलीले आश्‍वस्त पारे ।

बहिर्गमित लडाकुको समस्याबारे प्रधानमन्त्रीले भने, ‘तीन/चार वर्ष क्यान्टोनमेन्टमा बस्दा त्यो किशोरले शुरूमा देखेको सपना भाँच्चिइसकेको हुन्छ। उमेर कटेपछि अर्को सपना देख्ने ठाउँ नै हुँदैन ।’

कार्यक्रममा द्वन्द्वपीडित सुरक्षाकर्मीको परिवारका तर्फबाट बोल्दै रिता सेनले सशस्त्र द्वन्द्वकालमा आफ्नो कर्तव्य पालन गर्दा २ हजार ८९४ जना सुरक्षाकर्मी मारिएको र झण्डै १ हजार जना घाइते भएको भन्दै तिनका आश्रित परिवार र घाइतेको अवस्था दयनीय रहेको बताइन् ।

‘ज्यान जोखिममा राखेर कर्तव्य पालना गर्ने प्रहरीको परिवारलाई राम्रै गरी राहत दिन सकिएमा अहिले कार्यरत जवान सुरक्षाकर्मी समेतको मनोबल उच्च हुने उनको भनाइ थियो ।

सरकारले मृतक सुरक्षाकर्मीलाई शहीद घोषणा गरे पनि त्यसबापत केही नपाएको र सत्य निरुपण तथा मेलमिलाप आयोगले आफूहरुलाई ‘पीडक’ भन्ने गरेको सेनले गुनासो गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर