ठेकेदारले काम रोके, बजेट अभावमा प्रदेशका गौरव आयोजना प्रभावित – Nepal Press

ठेकेदारले काम रोके, बजेट अभावमा प्रदेशका गौरव आयोजना प्रभावित

विराटचाोक–घिनाघाट सडक निर्माणको भुक्तानी नपाएपछि ठेकेदारले काम रोके

विराटनगर । प्रदेश १ सरकारको लगानीमा बन्ने पहिलो प्रादेशिक विराटचोक–घिनाघाट सडक निर्माणको काम रोकिएको छ । प्रदेशको गौरवको योजनाका रुपमा अघि सारिएको सडक निर्माणको कामको भुक्तानी नभएपछि ठेकेदारले सडक निर्माणको काम रोकेका हुन् ।

प्रदेशको राजधानी विराटनगर जोडनेसडक प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अघिल्लो बर्षको भदौमा शिलान्यास गरेका थिए ।

हाल दुई लेनको सडकलाई चार लनेमा बिस्तार गर्न लागिएको हो ।तर सडक निर्माण पूरा भएको कामको भुक्तानी समेत नपाएपछि ठेकेदारले दुई महिनायताबाट सडक निर्माणको काम रोकेका हुन् ।जसका कारण सडक निर्माणको काम प्रभावित बनेको छ ।

कुल २२ किलो मिटर लामो सडकलाई तीन खण्डमा विभाजन गरी निर्माणको काम थालिएको थियो ।

पहिलो खण्ड १० किलोमिटर विराटचोक–नेताचोक र दोश्रो खण्ड नेता चोक–मिलनचोक १० किलोमिटर सडक निर्माणको ठेक्का लागेको थियो ।

निर्माण कम्पनीले अहिलेसम्म पूरा गरेको सडक निर्माणको कामको भुक्तानी नपाएसम्म सडक निर्माणको काम रोकेका हुन् । पहिलो र दोश्रो १०-१० किलोमिटर र तेश्रो खण्ड पुलसहित मिलन चोक घिनाघाट २ किलोमिटरको रहेको छ । तेश्रो खण्डको निर्माणको काम यही बर्ष ठेक्का सम्झौता भई निर्माणको काम हालै मात्र शुरु भएको थियो ।

पहिलोे खण्डको सडक निर्माणको काम ६८ करोड ६८ लाख र दोश्रो खण्डको ६९ करोडको लागतमा अघिल्लो आर्थिक बर्षमा ठेक्का लागी दुई बर्ष भित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माणको काम शुरु भएको थियो ।

विराटचोक–नेताचोक सडक ठेक्का पाएको श्रेष्ठ रमन एपेक्स जेभीका प्रोजेक्ट म्यानेजर विवेक कार्कीले सडक निर्माणको काम ४५ प्रतिशत पूरा भए पनि भुक्तानी नपाएपछि सडक निर्माणको काम अगाडी बढाउन समस्या भएको बताए ।

उनले सडकको निर्माणको लागि आवश्यक सव वेसको काम पूरा भएपछि ४ करोडभन्दा बढी रकम पूर्वधार विकास कार्यालयले भुक्तानी नदिएपछि काम प्रभावित भएको बताए ।

‘कोरोनाको संक्रमणको समयमा पनि हामीले काम रोकेनौं,’ प्रोजेक्ट म्यानेजर कार्कीले भने, गरेको कामको भुक्तानी माग्दा नपाएपछि वातावरण बिथोलियो । हामी भुक्तानी नआएसम्म काम गर्नसक्ने स्थितिमा छैनौं ।’उनले ३ महिनादेखि भुक्तानीका लागि ताकेता गरिरहेको पनि जानकारी दिए ।

दोश्रो खण्डको ठेकेदार कम्पनी श्रेष्ठ रमन एपेक्स जेभीका प्रोजेक्ट मेनेजर भरत कार्कीले पनि भुक्तानीकै कारण एक महिनादेखि काम रोकिएको बताए । उनले ५० प्रतिशत सडक निर्माणको काम पूरा भएको र ५ करोडभन्दा बढी रकम भुक्तानी नपाएपछि काम रोकिएको जनाए ।

‘असारसम्ममा निर्माणको काम पूरा गर्ने लक्ष्य थियो,’ उनले भने, ‘काम सकिएको भुक्तानी पाएनौं । यस्तै भइरहे निर्धारित समयमा काम सम्पन्न गर्न सकिँदैन ।’ उनले एक साताभित्र भुक्तानी भएको खण्डमा आगामी पनि असार मसान्तसम्म निर्माण पूरा गरी सरकारलाई हस्तान्तरण गर्ने दावी गरे ।

पूर्वधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले डेकेदारलाई भुक्तानी दिन समस्या भएको स्वीकार गरे । कोरोनाका कारण प्रदेश सरकारले बहुवर्षीय परियोजनाको बजेट उल्लेख्य कटौती गरेको छ ।

हामीलाई कुल बजेटको ५० प्रतिशत मात्र बजेट खर्च गर्न अख्तियारी आएको छ । बजेटकै कारण विकास निर्माण प्रभावित नहोस भनेर आवश्यक बजेटका लागि प्रदेश सरकारसँग माग गरेका छौं । निकाशा भएलगत्तै भुक्तानी गर्नेछौं,’ रेड्डीले भने ।

प्रदेश सरकारको १ अर्ब ४० करोडको लगानीमा २२ किलोमिटर लम्बाइ रहेको सो सडक चार लेनको बनाउन लागिएको हो ।

हाल दुई लेनको सो सडक वस्ती भएको क्षेत्रमा ६४ मिटर र वस्ती नभएको क्षेत्रमा ५६ मिटर हुने गरी सडकको डिजाइन गरिएको छ । सडकको मध्य भागबाट ३५-३५ फिट कालोपत्रे हुनेछ । सडक निर्माणको दुवै प्याकेजको ठेक्का श्रेष्ठ रमण एपेक्स जेभीले लिएको छ ।

पूर्वबाट विराटनगर प्रवेश गर्ने यो सडकलाई कोशी राजमार्गको विकल्पको रुपमा हेरिएको छ । कोशी राजमार्गमा विकास निमार्ण जारी रहँदा विराटचोक हुँदै पूर्व जानेहरुले यो सडकाको प्रयोग गर्दे आएका थिए ।

निमार्ण सम्पन्न भएपछि प्रादेशिक सडक हुँदै राजधानी विराटनगरसँग प्रदेशवासीले बैकल्पिक र छोटो मार्गका रुपमा यो सडकलाई प्रयोग गर्न सक्नेछन् ।

विराटचोक–घिनाघाट सडक विराटनगरको पुष्पलालचोकबाट बैजनाथपुर, झोराहाट, नेताचौक र हरैचा हुँदै पूर्व–पश्चिम राजमार्गसँग जोडिनेछ ।

यो सडक निर्माण भएपछि कोशी राजमार्ग अन्तर्गत ६ लेनको निर्माणधीन इटहरी–विराटनगर सडकमा हुने सवारी चाप पनि कम हुने विश्वास लिइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर