कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले गरे सचिवालयमा हेरफेर – Nepal Press

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले गरे सचिवालयमा हेरफेर

किन गरे मुख्यमन्त्री शाहीले सचिवालय हेरफेर ? नयाँ नियुक्त भएका व्यक्ति को हुन ?

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री निर्वाचित भएको तीन वर्षपछि पूर्व एमाले निकटका व्यक्तिलाई आफ्नो सचिवालयमा ल्याएका छन् । उनले यसअघि नियुक्त गरेका सबै सल्लाहकार, सचिवालयमा पूर्व माओवादी निकटका युवाको नै वर्चश्व थियो ।

मुख्यमन्त्री शाहीले खाँडाचक्र नगरपालिका कालिकोटका पूर्व एमाले निकट हाल प्रचण्ड–माधव पक्षका नेकपा जिल्ला कमिटी सचिवालय सदस्य रवीन्द्र शाहीलाई आज नियुक्त गरेका हुन् । उनी नेकपा कालिकोटमा जनाधार भएका युवा नेता पनि मानिन्छन् । उनलाई मुख्यमन्त्री शाहीले स्वकीय सचिवमा नियुक्त गरेका छन् । उनको स्थानमा यस अघि सुमन शाही थिए ।

यस्तै, प्रमुख स्वकीय सचिवमा कृष्ण आचार्यलाई नियुक्त गरेका छन् । उनी शुभकालिका गाउँपालिकाबाट प्रतिनिधित्व गर्छन् । उनी स्थानीय तहको निर्वाचन अघि तत्कालीन नेकपा एमालेको जिल्ला संगठन विभाग प्रमुखको रुपमा कार्यरत थिए । गाउँपालिका अध्यक्षको जिम्मेवारी नपाएपछि उनी रुष्ट भएर तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

जनसम्पर्क सल्लाहकारमा विष्णुबहादुर विश्वकर्मा ‘विकल्प’ नियुक्त भएका छन् । उनी मुख्यमन्त्री शाहीको निर्वाचन क्षेत्र नरहरिनाथ गाउँपालिकाका हुन् । उनको स्थानमा यसअघि जनकनाथ योगी थिए । उनी पूर्व माओवादी केन्द्रकै कार्यकर्ता हुन् ।

मुख्यमन्त्री शाहीले किन अहिले आएर सचिवालय हेरफेर गरे ?
मुख्यमन्त्री शाहीले आफ्नो सचिवालय हेरफेर गर्नुको कारण पार्टीभित्रको सन्तुलन मिलाउनु र आगामी संघीय चुनावमा आफू उम्मेदवार बन्न बलियो आधार तयार पार्न रहेको नेकपा कालिकोट स्रोतले जनाएको छ ।

‘उहाँले बाँकी दुई वर्षको कार्यकालमा प्रदेश सभा ‘क’ बाट कृष्ण र रवीन्द्रलाई नियुक्त गर्नुको मुख्य कारण भौगोलिक रुपमा आफू सुरक्षित हुन हो । यसका अलावा लामो समयदेखि अवसर नपाएका कार्यकर्तालाई अवसर दिने र आफ्ना क्षेत्रका जनताका अपेक्षा पूरा गर्न सहयोग पुग्ने अपेक्षासहित उनले नियुत्ति गरेका हुन् ।’

श्रोतले नेपाल प्रेसलाई भन्यो, ‘यसले कालिकोटको दुवै क्षेत्रमा मुख्यमन्त्री शाहीको पकड थप बलियो बनाउनेछ ।’ मंगलबार मात्रै रासकोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले मुख्यमन्त्री शाहीको साथ छोडेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर