द्रुतमार्गको निर्माणकर्ता छान्ने प्रक्रिया पारदर्शी भएको नेपाली सेनाको दाबी (भिडियो) – Nepal Press

द्रुतमार्गको निर्माणकर्ता छान्ने प्रक्रिया पारदर्शी भएको नेपाली सेनाको दाबी (भिडियो)

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्गको जटिलकार्य गर्ने निर्माणकर्ता छान्ने प्रक्रिया पारदर्शी भएको दाबी गरेको छ । संघीय संसद, राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आजको बैठकमा काठमाडौं–तराई द्रुतमार्ग अन्तर्गत दोस्रो चरणको ठेक्काका विषयमा परेको उजरीमाथि भएको छलफलमा नेपाली सेनाले यस्तो दाबी गरेको हो । द्रुतमार्गको जटिलकार्य गर्ने निर्माणकर्ता छान्ने प्रक्रियामा कुनै अनियमितता नभएको सेनाको दाबी छ ।

छलफलमा नेपाली सेनाका महासेनानी एवं खरिद व्यवस्थापन महाशाखा प्रमुख सुनिलसिंह राठाैरले सार्वजनिक खरिद ऐन अनुसार नै पूर्व योग्यता निर्धारण गरिएको बताए । आयोजनाको निर्माण कार्य २०८१ मा सम्पन्न गर्नुपर्ने भएकाले तत्काल टेण्डर आव्हान गरी निर्माण कार्यलाई तिब्रता दिने प्रक्रिया शुरु गरिएको पनि उनले बताए ।

नेपाली सेनाले पूर्व योग्यताका लागि २०७६ फागुन ३० गते सार्वजनिक रुपमा आवेदन आव्हान गरेको थियो । २०७६ चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले २०७६ चैत २५ गते पठाएको पत्र अनुसार म्याद थप गरी २०७७ भदौ ३० गते मात्रै प्रिसबमिसन मिटिङ गर्न सफल भएको महासेनानी राठौले बताए ।

प्रि सबमिसन मिटिङमा २१ जना प्रतिनिधिको उपस्थिति रहेको र उपस्थित हुन नसकेकालाई जानकारी गराइएको उनको भनाइ छ । त्यसपछि २०७७ असोज १४ गते खोलुवा मुचुल्का तय गर्दा प्याकेज नं. १ मा २१ वटा र प्याकेज नं. २ मा २२ वटा अन्तर्राष्ट्रिय कम्पनीको आवेदन परेको थियो । यस्तै २०७७ पुस ९ गते मूल्याङ्कन समितिले गरेको मूल्याङ्कन अनुसार प्याकेज नं. १ मा २ जना र प्याकेज नं. २ मा १ जना अन्तर्राष्ट्रिय कम्पनी सूचीकृत भएको महासेनानी राठोरले स्पष्ट पारे ।

द्रुतमार्ग आयोजनाका प्रमुख विकास पोखरेलले काठमाडौं–तराई द्रुतमार्गमा जटिल किसिमको काम गर्नुपर्ने ठाउँलाई ११ वटा क्लस्टरमा विभाजन गरिएको जानकारी दिए । त्यसमध्ये ५ र ६ नम्बर क्लस्टर अति जटिल भएकाले निर्माणकर्ता छनोट गर्दा पूर्व योग्यता निर्धारण गर्नुपरेको र सार्वजनिक खरिद नियमावली अनुसार नै काम सकिएको बताए ।

समितिमा काठमाडौं–तराई द्रुतमार्गको जटिलकार्य गर्ने निर्माणकर्ता छान्नका लागि नेपाली सेनाले पूर्व योग्यता निर्धारण गर्न मागेको आवेदनमा आवश्यकभन्दा कम कम्पनी छानिएको भन्दै उजुरी परेको थियो । नेपाली सेनाले पूर्व योग्यता परिक्षणमा नेपाली कम्पनी बाहिर पारिएको भन्दै विरोध भइरहेको छ । यसै विषयमा समितिले द्रुतमार्ग हेर्ने नेपाली सेनाका अधिकारीलाई बोलाएर छलफल गरेको हो ।

काठमाडौं–तराई द्रुतमार्ग ७२ दशमलव ५ किलोमिटरको रहेको छ । जसमा ३ वटा सुरुङमार्ग र ८७ वटा पुल निर्माण हुनेछन् । बाटोको चौडाई पहाडमा २५ मिटर र तराईमा २७ मिटर रहनेछ । दु्रतमार्गमा पर्ने तीन वटै सुरुङमार्गको लम्बाई ६ किलोमिटर हुनेछ भने ८७ वटा पुलको कुल लम्बाई १० किलोमिटर रहने छ । द्रुतमार्गमा जटिल किसिमको काम गर्नुपर्ने ठाउँलाई ११ वटा क्लस्टरमा विभाजन गरि काम शुरु भएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर