सातामा दुईपटक भाउ बढाएर पनि निगमलाई झण्डै दुई अर्ब मासिक घाटा – Nepal Press

सातामा दुईपटक भाउ बढाएर पनि निगमलाई झण्डै दुई अर्ब मासिक घाटा

काठमाडौं । नेपाल आयल निगमले एक हप्ताभित्र दुईपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्यो । थोरै अनुपातमा मूल्य बढाइएकाले खासै ठूलो चर्चाको विषय भने बनेन । तर, दुईपटकको मूल्यवृद्धिपछि पनि निगम घाटाबाट निस्किन सक्ने छैन ।

निगम स्रोतका अनुसार नाफामा जानका लागि पेट्रोलियम पदार्थमा प्रतिलिटर ७ रुपैयाँ मूल्यवृद्धि गर्नुपर्ने अवस्था थियो । तर, अहिले २ रुपैयाँ मात्रै बढाइएकाले फेरि चाँडै बढाउनुपर्ने हुनसक्ने स्रोतको भनाइ छ ।

नयाँ मूल्यसूची अनुसार निगमले पेट्रोल प्रतिलिटर ११४ रूपैयाँ, डिजल तथा मट्टीतेल ९७ रूपैयाँ र आन्तरिक हवाई इन्धन मूल्य प्रतिलिटर ६७ रूपैयाँ तोकेको छ । यस्तै, बाह्य उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८६८ अमेरिकी डलर तथा एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर १४०० रूपैयाँ तोकिएको छ । हिजो इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएर आएपछि निगमलाई दबाब परेको हो ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले फेब्रुअरी १ मा आएको मूल्य र फेब्रुअरी १५ मा आएको मूल्य समायोजन गर्न एक हप्तामा दुई पटक मूल्यवृद्धि गर्नुपरेको बताए । राजनीतिक अस्थिरताको कारणले गर्दा समयमै मूल्य समायोजन गर्न समस्या भएको उनको स्वीकारोक्ति छ ।

पौडेलले भने, ‘अहिले निगमलाई पेट्रोलियम पदार्थमा प्रतिलिटर ७ रुपैयाँ मूल्य वृद्धि गर्नुपर्ने अवस्थामा निगमले २ रुपैयाँ मात्रै बढाएको हो ।’

पौडेलका अनुसार वृद्धि गरिएको मूल्यमा इन्धन बिक्री गर्दा निगमलाई पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ८२ पैसा, डिजलमा प्रतिलिटर चार रुपैयाँ १३ पैसा नोक्सान छ । मट्टीतेलको नाफा प्रतिलिटर २१ रुपैयाँ ५२ पैसा, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ ३२ पैसा तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको नाफा ३४ रुपैयाँ १९ पैसामा झरेको छ । खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिन्डर २९५.८३ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

‘मूल्यवृद्धि गर्दा पनि अहिले प्रतिमहिना १ अर्ब ९० करोड घाटा नै हुने अवस्थामा छ’ पौडेलले भने ।

मूल्य यथावत् राख्नका लागि मूल्य स्थिरीकरण कोषमा तीन वर्षदेखि जम्मा भएको ९ अर्ब रुपैयाँ भने निगमले प्रयोग गरेको छैन । मूल्यवृद्धि नगरी कोषको पैसा चलाउने हो भने तीन महिनामा नै सकिने निगमले बताएको छ ।

लकडाउन शुरू हुँदाको समय सन् २०२० अप्रिल १ मा पठाएको मूल्यसूची अनुसार निगमले आईओसीलाई पेट्रोलमा प्रतिलिटर २७ रुपैयाँ ५७ पैसा, डिजलमा प्रतिलिटर ३८ रुपैयाँ ६३ पैसा, मट्टीतेलमा प्रतिलिटर ३८ रुपैयाँ ६८ पैसा, हवाई इन्धनमा प्रतिलिटर २९ रुपैयाँ ९५ पैसा तथा एलपी ग्याँसमा प्रतिसिलिण्डर एक हजार १४ रुपैयाँ ०९ पैसा तिर्नुपर्थ्याे । त्यसअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ १७ पैसा, डिजलमा १२ रुपैयाँ ९० पैसा, मट्टीतेलमा प्रतिलिटर ३६ रुपैयाँ ७७ पैसा, आन्तरिक उडानको हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ ७० पैसा तथा अन्तर्राष्ट्रिय उडानको हवाई इन्धनमा प्रतिलिटर ६९ रुपैयाँ ६२ पैसा नाफा थियो ।

खाना पकाउने एलपी ग्याँसमा भने त्यतिबेला पनि निगमलाई प्रतिसिलिन्डर १९५ रुपैयाँ ०७ पैसा नोक्सान व्यहोर्नुपर्ने अवस्था थियो । निगमले काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ९६ रुपैयाँ, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ८५ रुपैयाँ, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ७५ रुपैयाँ, अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर ९५० अमेरिकी डलर तथा एलपी ग्याँस १३७५ मूल्य तोकेको थियो ।

स्वचालित मूल्य प्रणालीलाई थाती राखेर त्यतिबेला पेट्रोल, डिजल र मट्टीतेलको मूल्य एकैपटक १०/१० रुपैयाँ घटाएर उक्त मूल्य कायम गरिएको थियो । लकडाउनको समयमा पेट्रोल, डिजल तथा हवाई इन्धनको आन्तरिक खपत न्यून थियो, तर एलपी ग्याँसको खपत भने त्यतिबेला सामान्य अवस्थाभन्दा पनि बढी थियो ।

पछिल्लो मूल्यसूचीअनुसार निगमले आईओसीलाई तिर्नुपर्ने मूल्य बढेर पेट्रोलमा प्रतिलिटर ५३ रुपैयाँ ९७ पैसा, डिजलमा प्रतिलिटर ५५ रुपैयाँ १५ पैसा, मट्टीतेलमा प्रतिलिटर ४८ रुपैयाँ ७६ पैसा, हवाई इन्धनमा प्रतिलिटर ५० रुपैयाँ २६ पैसा तथा तथा एलपी ग्याँस ११२९ रुपैयाँ ८१ पैसा पुगेको छ ।

नेपालमा २०७० फागुनमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्चतम विन्दुमा पुगेको थियो । त्यो समयमा पेट्रोलको मूल्य १४० रूपैयाँ, डिजल तथा मट्टीतेलको मूल्य १०९ तथा हवाई इन्धन (आन्तरिक) को मूल्य १४३ तथा हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिकिलोलिटर १४०० अमेरिकी डलर तथा एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर १४७० प्रति सिलिन्डर थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर