सार्क मुलुकबीच फागुन १० मा भर्चुअल वार्ता हुँदै, उच्च अधिकारीले सम्बोधन गर्ने – Nepal Press

सार्क मुलुकबीच फागुन १० मा भर्चुअल वार्ता हुँदै, उच्च अधिकारीले सम्बोधन गर्ने

काठमाडौं । कोभिड-१९ चुनौतीसँग जुध्ने विषयमा भारत र नेपालसहितका दक्षिण एसियाली मुलुकबीच भर्चुअल वार्ता हुने भएको छ । सो छलफलका लागि भारतले नेपालसहितका अन्य सार्क मुलुकलाई समेत निम्तो गरेको छ । फागुन १० गते भिडियो कन्फ्रेन्सिङमार्फत बैठक हुने जनाइएको छ ।

भारतले भर्चुअल छलफलका लागि पाकिस्तानलाई समेत निम्तो दिएको भारतीय संचारमाध्यमले जनाएका छन् । नेपाललाई पनि निम्तो प्राप्त भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो ।

सन् २०२० मार्च महिनामा भारतीय प्रधानमन्त्रीको अगुवाइमा कोभिड–१९ बारे भर्चुअल छलफल भएको थियो । जसमा सार्क इमर्जेन्सी फन्ड खडा गरिएको थियो र भारतले १० मिलियन डलर फन्डमा प्रदान गर्ने घोषणा गरेको थियो ।

छलफलमा सबै मुलुकका स्वास्थ्य विज्ञहरुले महामारीविरुद्ध लड्ने विषयमा विचार व्यक्त गर्ने जनाइएको छ । बैठकलाई उच्चस्तरीय अधिकारीले सम्बोधन गर्ने भएका छन् तर सरकार एवं राष्ट्रप्रमुख सहभागी नहुने जनाइएको छ ।

भारतले नेपालसहितका छिमेकी देशलाई कोराेनाविरुद्धको कोभिसिल्ड खोप उपलब्ध गराइसकेको छ र थप डोज खरिद गर्ने तयारी गरेको छ । आतंकवादको मुद्दालाई लिएर भारत र पाकिस्तानबीचको सम्बन्ध अहिले पनि तनावपूर्ण छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर