सभामुख बेपत्ता भएको भन्दै प्रचण्ड-माधव पक्षले उपसभामुखलाई बुझायो पत्र – Nepal Press

सभामुख बेपत्ता भएको भन्दै प्रचण्ड-माधव पक्षले उपसभामुखलाई बुझायो पत्र

हेटौंडा । विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले वागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ मुख्यमन्त्री डोरमणि पौडेलको रबरस्ट्याम्प बनेको आरोप लगाएको छ । अविश्वास प्रस्तावमाथिको छलफल हुने बैठकलाई अनिश्चितकालका लागि स्थगित गरेर सभामुख बेपत्ता भएको भन्दै प्रचण्ड-माधव पक्षले आपत्ति जनाएको हो ।

प्रचण्ड-माधव पक्षीय नेकपा संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यसहितका सांसदले सभामुख मोबाइल स्वीच अफ गरेर लुकेपछि उपसभामुख राधिका तामाङमार्फत सभामुखसमक्ष विरोधपत्र बुझाएको सांसद युवराज दुलालले बताए ।

शाक्यले हस्ताक्षर गरेको विरोधपत्रमा ५६ दिनदेखि अल्पमतमा रहेको सरकारको लाचार छायाँ बनेर सभामुखले संघीयता समाप्त पार्ने गतिविधि गरेको आरोप लगाइएको छ । सो पक्षले यसका विरुद्ध उत्रिन प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य दललाई पनि आग्रह गरेको छ ।

प्रचण्ड–माधव पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध ४५ सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरेको थियो । ११० सदस्यीय प्रदेशसभामा नेकपाका ८० सांसद छन् । हस्ताक्षर गरेकामध्ये चितवनका कृष्ण भुर्तेलले फिर्ता लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर