विप्लव समूहका दोस्रो नेताका छोरी-ज्वाईं किन लागे ओलीतिर ? – Nepal Press

विप्लव समूहका दोस्रो नेताका छोरी-ज्वाईं किन लागे ओलीतिर ?

धर्मेन्द्रकी छोरी भन्छिन्– विप्लव समूह संसदीय प्रणलीमा आउनुपर्छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका पश्चिम कमाण्डर धमेन्द्र बास्तोला अहिले प्रहरी हिरासतमा छन् । उनका छोरी–ज्वाईं अनिमा बास्तोला र गणेश भण्डारी गत ३० माघमा प्रधानमन्त्री निवास बालुवाटारभित्र थिए । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर फोटो पनि खिचाए ।

आफ्ना बुवा/ससुरालाई हिरासतमुक्त गर्ने प्रयासस्वरुप प्रधानमन्त्रीसँग भनसुनका लागि उनीहरु त्यहाँ पुगेका होइनन् । त्यो केवल राजनीतिक भेटघाट थियो । पार्टी विभाजनपछि प्रचण्ड–नेपाल समूह त्यागेर ओली समूहमा प्रवेश गरेका उनीहरुले प्रधानमन्त्रीलाई भेटेर राजनीतिक विषयमा कुराकानी गरेको नेपाल प्रेसलाई बताए ।

गत १७ माघमा सुर्खेतमा आयोजित एक कार्यक्रममार्फत गणेश र अनिमाले ओली समूहमा प्रवेश गरेको औपचारिक घोषणा गरेका थिए । यद्यपि, त्यसभन्दा अगाडि नै ओली समूहले भण्डारीलाई आफ्नो केन्द्रीय समितिमा मनोनीत गरिसकेको थियो । अनिमा भने प्रदेश कमिटीमा छिन् ।

भूमिगत आन्दोलन गरिरहेको विद्रोही पार्टीका शीर्ष नेताका छोरी-ज्वाईं किन सरकारको नेतृत्व गरिरहेको पार्टीमा प्रवेश गरे त ?

अनिमालाई यो जिज्ञाशा राख्दा उनले सहजरुपमा भनिन्, ‘परिवार र राजनीति भनेको फरक कुरा हो । सबैको आ–आफ्नो स्वतन्त्र विचार हुन्छ । आफ्नो भूमिका जहाँ सुनिश्चित हुन्छ, त्यसमै लाग्ने हो ।’

अनिमाका श्रीमान गणेश भण्डारी नेपाल चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष हुन् । उनी २०६८ सालमा माओवादी कोटाबाट बोर्ड अध्यक्ष नियुक्त भएका थिए । माओवादीले सुर्खेत जेल ब्रेक गर्दा उनी पनि संलग्न थिए । उनले माओवादीको सांस्कृतिक विभागमा रहेर लामो समय काम गरे । करिब २३ वर्षदेखि प्रचण्डलाई साथ दिइरहेका भण्डारीले अहिले किन ओलीलाई रोजे त ?

उनी भन्छन्, ‘पछिल्लोपटक नेपाल कम्युनिष्ट आन्दोलनको केन्द्रीकरण हुँदा जनता खुशी थिए । तर, प्रचण्ड–माधव नेपाल यो एकताको विरुद्धमा लाग्नुभयो । सरकारलाई काम गर्न दिइएन । ओलीले राष्ट्रिय एकताको पक्षमा निरन्तर अडान लिंदै आउनुभयो । विकास र समृद्धिको नारा अघि सार्नुभयो । त्यसैले प्रचण्ड–नेपालभन्दा उहाँलाई ठीक देखेँ ।’

ओली समूहमा जान लागेको खबर पाएपछि प्रचण्डले आफूलाई भेट्न बोलाए पनि नगएको भण्डारीले बताए ।

उनले भने, ‘मलाई फोन गरेर भेटौं भन्नुभएको थियो । तर, मैले भनेँ– पहिले धेरैचोटि भेटेँ । अब भेटेर पनि केही अर्थ छैन । हामी राजनीतिक रुपमा अलग भयौं ।’

फेसबुकमा ‘आइ लभ यू ओली बा’ भन्दै ओलीलाई भेटेको तस्वीर पोष्ट गरेका थिए ।

०००

आफ्नो बुवा संलग्न पार्टी हिंसात्मक आन्दोलन त्यागेर संसदीय व्यवस्थाको मूलधारमा आएको हेर्न चाहन्छिन् अनिमा । साथै, सरकारले पनि विप्लव समूहलाई राजनीतिक व्यवहार गरेर संवादमा बोलाओस् भन्ने उनको चाहना छ । प्रधानमन्त्रीसँग भेटमा आफूले यही कुरा राखेको उनले बताइन् ।

‘यो राजनीतिक विषय भएकाले राजनीतिक तवरबाटै समाधान गर्नुपर्छ जस्तो लाग्छ । अहिले पहिलेजस्तो निरंकुशतन्त्र पनि छैन । त्यसैले विद्रोही पक्षले पनि अब संसदीय अभ्यासमै आएर अगाडि बढ्दा राम्रो हुन्छ’ अनिमाले भनिन् ।

विप्लव समूहसँग वार्ता गर्ने विषयमा प्रधानमन्त्रीलाई सकारात्मक पाएको गणेश र अनिमाले बताए ।

गणेश भन्छन्, ‘हामीले दिएको सुझावलाई उहाँले गम्भीरतासाथ लिनुभयो । वार्ताका लागि सरकार सकारात्मक रहेको पाएका छौं ।’

धमेन्द्रका दुई छोरीमध्येकी कान्छी अनिमा २०५८ सालदेखि माओवादीमा लागेकी उनी अनेरास्ववियू क्रान्तिकारीमा आवद्ध थिइन् । माओवादी शान्ति प्रक्रियामा आउनुअघि २०६१ सालमा अनिमा र गणेशको विवाह भएकाे थियो । त्यसयता श्रीमान–श्रीमती दुवै माओवादीमा थिए । अनिमाकी आमा र परिवारका अन्य सदस्य भने राजनीतिमा छैनन् ।

०००

अनिमाका बुवा धमेन्द्र विप्लव समूहका दोस्रो वरियताका नेता हुन् । पार्टीको पश्चिम कमाण्ड सम्हालिरहेका उनी पार्टीको सचिवालय सदस्य र विदेश विभाग प्रमुखसमेत छन् ।

ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट उनलाई गत पुसमा प्रहरीले पक्राउ गरेको थियो । त्यसयता अदालतले छोड्ने र प्रहरीले फेरि पक्राउ गर्ने सिलसिला चलिरहेको छ । अहिले उनलाई सुनसरी पुर्याइएको छ ।

धर्मेन्द्रमाथि तीनवटा कसुर छन् । नख्खुमा एकजनाको ज्यान जाने गरी २०७५ सालमा भएको बम विस्फाेटनलाई लिएर उनीमाथि अनुसन्धान भइरहेको छ । त्यस्तै, थेचोमा ९ चैत २०७७ मा भएको विस्फाेटमा पनि उनलाई प्रतिवादी बनाइएकाे थियो । जबरजस्ती चन्दा असुलीको अर्को अभियोग पनि बास्तोलामाथि छ ।

परिवारका तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट दायर भए पनि देशभर १०–१२ वटा मुद्दा भएकाले हिरासतबाट छुट्न कानूनी समस्या भइरहेको अनिमाले बताइन् ।

तपाईंहरुले ओली नेतृत्वको नेकपा रोज्दा बुवाको प्रतिक्रिया के पाउनुभयो भन्ने प्रश्नमा उनले जवाफ दिइन्, ‘यो पारिवारिक भन्दा पनि राजनीतिक विषय हो । व्यक्तिगत स्वतन्त्रताका कुरा भएकाले बुवाको कुनै चित्तदुखाइ छैन । हामीलाई अहिलेसम्म आफ्नो पार्टीमा लाग्न भन्नुभएको पनि छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर