पाम आयल प्रतिबन्ध: नेपाल पहल गर्ने, भारत वास्ता नगर्ने – Nepal Press

पाम आयल प्रतिबन्ध: नेपाल पहल गर्ने, भारत वास्ता नगर्ने

व्यवसायीको लगानी जोखिममा

काठमाडौं । नेपालबाट तेस्रो मुलुक निकासी हुने पाम आयल आयातमा भारतले लगाएको प्रतिबन्धका कारण व्यवसायीको ठूलो लगानी जोखिममा परेको छ । नेपाल सरकारले प्रतिबन्ध हटाउन पहल गरे पनि भारतले कुनै चासो देखाएको छैन ।

भारतले विभिन्न कारण देखाउँदै पाम आयल निर्यातमा प्रतिबन्ध लगाएको थियो । यसपालिसहित पाम आयल निकासीमा भारतले प्रतिबन्ध लगाएको दोस्रो पटक हो । व्यापार घाटा घटाउन ठूलो सहयोग गरेको पाम आयलमा प्रतिबन्ध लगाउँदा नेपालको व्यापारमा समेत असर परेको छ ।

उद्योग मन्त्रालयका सहसचिव प्रकाश दाहाल नेपालले भारतसँग पाम आयल निर्यातका लागि सहसचिवस्तरीय बैठक भएको तर भारतीय पक्षले त्यति धेरै चासो नदिएको बताउँछन् ।

दाहालले भने, ‘परराष्ट्र मन्त्री भारत गएको बेला पनि पाम आयल निर्यात खुलाउन कुरा उठेको र छलफलमा गएको छ । तर नेपालले खुलाउन चाहेर छलफल गरे पनि भारतले त्यति महत्वका साथ हेरेको छैन । पाम आयल खोल्न नेपालले निरन्तर छलफल भने गरिरहेको छ ।’

नेपालमा योभन्दा पहिले पनि पाम आयल निर्यातमा समस्या आएर सरकारले खुलाएको थियो ।

नेपालमा प्रशोधन भएर भारतीय बजारमा राम्रो प्रभाव जमाएको कारण भारतीय उद्योग प्रभावित हुन थालेपछि भारत सरकारले पाम आयल निर्यातमा प्रतिबन्ध लगाएको व्यापारीको भनाइ छ । आर्थिक वर्ष २०७६÷७७ मा निकासीको सूचीमा रहेको प्रशोधित पाम आयल चालु आर्थिक वर्षको साउनदेखि मंसीरसम्म सूचीबाटै हटेको छ ।

क्यानाडा, इण्डोनेशियालगायत तेस्रो मुलुकबाट नेपाल भित्रिने र नेपालमा प्रशोधन भई भारतीय बजारमा जाँदा भारतीय उद्योग प्रभावित हुने भन्दै भारत सरकारले पाम आयलमा प्रतिबन्ध लगाएको हो ।

पाम आयल उत्पादक प्रदीप मुरारका भारतले नेपालमा पाम आयल उत्पादन गर्ने उद्योग नै नभएको भनेर हल्ला चलाएर नेपालबाट निर्यात हुने पाम आयल बन्द गरेपछि उद्योगी समस्यामा परेको बताउँछन् ।

उनले भने, ‘भारतको भन्सारले नेपालको पाम प्रशोधन गर्ने उद्योगहरू हेरेर जाने गरेका छन् । तर, उनीहरूले प्रशोधन गर्ने उद्योगहरू नै छैन भन्दा अचम्ममा परेका छौं । नेपाल सरकारले यसलाई बेलैमा ध्यान दिएर खुलाउन पहल गर्नुपर्ने हो । तर सरकार छलफल मात्रै गरेर बसेको छ । उद्योगीहरू पाम निर्यात बन्द भएपछि ठूलो समस्यामा परेका छन् । भारत सरकारलाई नेपालका उद्योगहरू देखाएर नेपाल सरकारले पुनः पाम निर्यातका लागि पहल शुरू गर्नुपर्छ ।’

वीरगञ्ज भन्सार नाका हुँदै अघिल्लो वर्ष नेपालबाट भारततर्फ १८ अर्ब ३१ करोड रुपैयाँको पाम आयल निर्यात भएको थियो । पर्सा, बारामा रहेका १४ उद्योगले वीरगञ्ज भन्सार नाकाबाट मात्रै ११ अर्ब ७२ करोड रुपैयाँ मूल्य बराबरको १ लाख ६० हजार टन पाम आयल भारत निकासी गरेको थियो ।

तेस्रो मुलुकबाट नेपाल ल्याएर प्रशोधित भई भारत जाने पाम आयलले ८० देखि ८५ प्रतिशत भारतीय बजार ओगटेको उद्योगीहरू बताउँछन् । पाम आयल निर्यातबाट विदेशी मुद्रा नेपाल भित्रिंदा यहाँका उद्योगलाई टेवा पुगिरहेको थियो ।

पाम आयलको माग भारतमा उच्च छ । तर आर्थिक वर्ष २०७६/७७ मा निकासीको सूचीमा रहेको प्रशोधित पाम आयल चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म सूचीबाटै हटेको छ ।

नेपालबाट निकासी हुने प्रमुख वस्तुमध्ये एक पाम तेल नै हो । भन्सार कार्यालय विराटनगरका प्रमुख शिवप्रसाद भण्डारीका अनुसार अघिल्लो आर्थिक वर्षको यही अवधिमा ६ अर्ब ४२ करोड ९२ लाख मूल्य बराबरको पाम आयल निर्यात भएको थियो । साउनदेखि मंसिरसम्म ६ हजार २३३ मेट्रिक टन निर्यात हुँदा सोही अवधिमा ५ हजार ६९० मेट्रिक टन कच्चा पाम तेल आयात भएको भण्डारीले बताए ।

सूचीबाटै पाम आयल हटाएपछि निकासीको तयारीमा राखिएको ठूलो मात्राको पाम आयल लामो समयदेखि गोदाममै थन्किएको छ ।

सरकारले पाम आयल आयातमा भन्सार छुट दिएको छ । आयात गर्दा १० प्रतिशत बैंक ग्यारेन्टी राख्नुपर्ने प्रावधान छ । आयात गरेको एक वर्षभित्र निर्यात गरे व्यवसायीले थप सुविधा पनि प्राप्त गर्नेछन् ।

भारतले नेपालबाट पाम आयल निर्यात गर्दा भारतमा राजस्व तिर्नुपर्दैन । तर भारतका व्यापारीले अन्य देशबाट आयात गर्दा ४० प्रतिशतसम्म भन्सार महसुल तिर्नुपर्छ ।

भारतमा पाम आयल आयात हुने मुख्य देश इन्डोनेशिया र मलेशिया हुन् । नेपाली उद्योगीले मलेशिया र इन्डोनेशियाबाट कच्चा पाम आयल भित्र्याएर प्रशोधन गरी भारत निकासी गर्दै आएका थिए । तर, पहिले पनि भारतले मलेशियाबाट हुने प्रशोधित कच्चा पाम आयातलाई लक्षित गरी निकासीको सूचीबाटै हटाएपछि नेपाली उद्योग प्रभावित भएका थिए ।

नेपालले पनि इन्डोनेशिया र मलेशियाबाट नै कच्चा पदार्थ आयात गरी भारत निर्यात गर्दै आएको थियो । गत पुस २२ गतेबाट तयारी पाम आयलको निकासी रोकिएको थियो । फागुन ९ गतेबाट विराटनगर भन्सारबाट पुनः निकासी शुरु भएको थियो ।

फागुनदेखि वैशाखसम्मको तीन महिनाको अवधिमा एक अर्ब २२ करोड मूल्य बराबरको क्रुड पाम आयल आयात भएको थियो भने एक अर्ब ४३ करोड ७७ लाख बराबरको तयारी पाम आयलको निकासी भएको थियो । तीन महिनामा १४ करोड १९ लाख बराबरको राजस्व संकलन भएको थियो ।

भारतको वैदेशिक व्यापार निर्देशनालयले आयातमा प्रतिबन्ध लगाएपछि पछिल्लो पटक २०७७ वैशाख ३० गतेदेखि नेपालबाट प्रशोधित पाम आयल निकासी रोकिएको थियो ।

यसअघि पनि भारतले २०७६ माघ २५ गतेबाट करिब डेढ महिना यस्तै प्रतिबन्ध लगाएको थियो । माघको अन्तिम सातादेखि भारतले आफ्ना केही आयातकर्तालाई नेपालबाट पाम आयल ल्याउन अनुमति दिएपछि नेपालबाट फागुनको दोस्रो साताबाट निर्यात खुलेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर