विप्लव देवको भनाइप्रति नेपालको ध्यानाकर्षण, राजदूतले जनाए साउथ ब्लकमा आपत्ति – Nepal Press

विप्लव देवको भनाइप्रति नेपालको ध्यानाकर्षण, राजदूतले जनाए साउथ ब्लकमा आपत्ति

काठमाडौं । भारतीय गृहमन्त्री अमित शाहलाई उद्धृत गर्दै त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले दिएको सार्वजनिक अभिव्यक्तिप्रति नेपालले औपचारिक रुपमै आपत्ति जनाएको छ ।

दिल्लीस्थित नेपाली दूतावासले विप्लव देवको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै भारत सरकारको ध्यानाकर्षण गराएको हो ।

भारतीय विदेश मन्त्रालयसँग यसबारे आपत्ति जनाएर ध्यानाकर्षण गराइएको दिल्लीस्थित नेपाली दूतावास स्रोतले नेपाल प्रेसलाई जानकारी दियो । राजदूत नीलाम्बर आचार्यले यसबारेमा गर्नुपर्ने कुरा गरिएको बताए ।

अमित शाहले सन् २०१८ मा आफू तत्कालीन भारतीय जनता पार्टीको अध्यक्ष हुँदा नै छिमेकमा समेत भारतीय जनता पार्टी विस्तार गरेर विश्वकै ठूलो पार्टी बन्न चाहेको बताएका थिए । नेपाल र श्रीलंकामा संगठन विस्तार गरेर बीजेपी सरकार गठन गर्ने उनको कुरालाई त्रिपुराका मुख्यमन्त्री विप्लव देवले खुलासा गरेका हुन् ।

यो अभिव्यक्तिका बारेमा भारतको ध्यानाकर्षण गराएपछि दूतावासले नेपालको परराष्ट्र मन्त्रालयलाई पनि जानकारी गराएको जनाएको छ । पटक–पटक आफ्ना अभिव्यक्तिले चर्चामा आउने मुख्यमन्त्री देवको भनाइलाई लिएर शाह र उनको दल बीजेपीले भने कुनै प्रतिक्रिया जनाएका छैनन् ।

भारतीय कंग्रेसले पनि औपचारिकरुपमा छिमेकीसँगको सम्बन्ध बिगार्न खोजेको आरोप लगाउँदै माफी माग्न भनेको छ । भारतीय कम्युनिष्ट पार्टीले पनि यसप्रति आपत्ति जनाएको छ ।

श्रीलंकाका प्रमुख निर्वाचन आयुक्त निमल पन्छीहेवाले पनि देवको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । कुनै पनि श्रीलंकाली दललाई विदेशमा पार्टी विस्तार गर्ने र कुनै विदेशी दललाई श्रीलंकामा पार्टी विस्तार गर्ने कानूनी व्यवस्था नभएको भन्दै उनले अभिव्यक्ति सही नभएको टिप्पणी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर