काठ सहज भएपछि हनुमानढोका क्षेत्रको सम्पदा पुनर्निर्माण अघि बढ्यो – Nepal Press

काठ सहज भएपछि हनुमानढोका क्षेत्रको सम्पदा पुनर्निर्माण अघि बढ्यो

काठमाडौं । सहजरूपमा काठ आउन थालेपछि विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं दरबार क्षेत्र (हनुमानढोका क्षेत्र) का ऐतिहासिक सम्पदा पुनर्निर्माणले गति लिएको छ ।

दुई महिनाअघि लामो काठको अभावमा निर्माण भइरहेका ऐतिहासिक सम्पदाको काम अघि बढ्न सकेको थिएन ।

विगत दुई हप्ताअघिदेखि काठ आयातमा सहज भएपछि निर्माणको कामले पुनः गति लिएको हो । ठूला र लामो काठको अभावमा यस क्षेत्रको नौतले दरबार र दश अवतार मन्दिरको काम अवरुद्ध भएको थियो ।

अहिले ती दुवै सम्पदाको निर्माणको काम तीव्ररुपमा भइरहेको छ । यी दुवै सम्पदा निर्माणका लागि १० फिटभन्दा लामा काठ आवश्यक परेको थियो ।

निर्माणको चरणमा रहेको ऐतिहासिक नौतले दरबारको निर्माणको काम ८० प्रतिशत र दश अवतार मन्दिरको ७० प्रतिशत काम सम्पन्न भएको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए।

यस क्षेत्रका २७ सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेका छन् । यहाँ रहेका ७० सम्पदामध्ये १२ वटामा भूकम्पले क्षति गरेको थिएन । भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये ११ वटाको पुनर्निर्माण भइरहेको अड्डाले जनाएको छ ।

प्रमुख खनालका अनुसार अहिले बनिरहेका सम्पदाको काम नसकी काम शुरु गर्न नमिल्ने भएकाले २० सम्पदाको काम अझै हुन सकेको छैन ।

हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार चीन सरकारको अनुदान सहयोगमा पुनर्निर्माण भइरहेको छ । कोरोना महामारीका कारण नौतले दरबार पुनर्निर्माणमा केही ढिलाइ भएको छ । नौतले दरबार सन् २०२२ सम्ममा सक्ने गरी सम्झौता भएको अड्डाले जनाएको छ ।

यसैगरी गद्दी बैठक अमेरिकाको सहयोगमा पुनर्निर्माण सम्पन्न भइसकेको छ । जगन्नाथ र गोपीनाथ मन्दिर वाग्मती प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पुनःनिर्माण भइरहेको छ ।

नासलचोक पश्चिमको राणाकालीन सेतो भवन र नासलचोक तथा गद्दी बैठकबीचको भवन पनि हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिमार्फत पुनर्निर्माण भइरहेको छ । आगम्छे घर र शिव मन्दिर जापानी सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा पुनर्निर्माण भइरहेको बताइएको छ । मोनकाली चोक, मूलचोक, नासल चोकलगायतको चोक यहाँका अन्य महत्वपूर्ण सम्पदा हुन् ।

सर्वसाधारणका लागि गद्दी बैठक खोलिँदै

भूकम्पका कारण क्षति भएको गद्दी बैठक अब सर्वसाधारणका लागि पनि खोलिने भएको छ । पुनर्निर्माणपछि तत्काल खोल्ने भनिए पनि केही आन्तरिक तयारी गर्नुपर्ने भएकाले अझै केही समय लाग्ने बताइएको छ ।

अमेरिकी दूतावास र संस्कृति सम्पदा कोषले पुनर्निर्माण गरेको गद्दी बैठक विसं २०७५ असारमा नै नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको उद्घाटन गर्नुभएको थियो ।

विदेशीलाई स्वागत गर्न विशिष्ट किसिमको छुट्टै बैठक कक्षको आवश्यकता महसुस गरेर तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरको पालामा १९६५ सालमा वसन्तपुर दरबारमा युरोपेली वास्तु शैलीमा बेलायती बैठक (गद्दी बैठक) निर्माण गरिएको थियो ।

शुरुमा यो भवनमा विदेशी पाहुनासँग राजाको औपचारिक भेटघाट आयोजना हुन्थ्यो । राजा नारायणहिटी दरबारमा बस्न थालेपछि यसको प्रयोग कम हुँदै गयो । अहिले यसको प्रयोग राष्ट्रप्रमुखले जीवित देवी कुमारीको दर्शन र वसन्त श्रवण गर्दा मात्र हुन्छ ।

काष्ठमण्डप पुनर्निर्माण ८५ प्रतिशतभन्दा बढी काम सकियो

हनुमानढोका क्षेत्रको अर्को महत्वपूर्ण सम्पदाका रूपमा रहेको काष्ठमण्डप पुनर्निर्माणको काम पनि आगामी वैशाखमा सक्ने गरी भइरहेको छ । निर्माणको कामअन्तर्गत अहिले ८५ प्रतिशतभन्दा बढी काम सकिसकेको छ ।

ती ऐतिहासिक सम्पदाको पुनःनिर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौँ महानगरपालिकाले पुनर्निर्माण समितिलाई आवश्यकतानुरूप रकम हस्तान्तरण गरिरहेको छ । पुनर्निर्माणका लागि जम्मा १७ हजार ५८ घनफिट काठ आवश्यक पर्दछ ।

बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो भन्ने इतिहासका पुस्तकमा लेखिएको छ ।

नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’बाट नै भएको इतिहासमा उल्लेख छ ।

 रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर