२ नम्बर प्रदेशभर सरकारी बस सेवा सन्चालन हुँदै – Nepal Press

२ नम्बर प्रदेशभर सरकारी बस सेवा सन्चालन हुँदै

जनकपुरधाम । निजी व्यवसायीको मनोमानी कम गर्न र जनतालाई सर्वसुलभ मूल्यमा यातायात सुविधा दिन प्रदेश २ सरकारले प्रदेशभर सरकारी बस सेवा सन्चालन गर्ने भएको छ ।

तत्कालका लागि खरिद गरी ढल्केबर ग्यारेजमा राखिएका पाँचवटा बस शनिबार जनकपुर लगिएको छ । आवश्यक पूर्वाधार, रुट निर्धारण र भाडादरसमेतको कार्यविधि तयार भएपछि यही महिनाको अन्तिमसम्ममा बस सन्चालनमा ल्याउने तयारी प्रदेश सरकारको छ ।

प्रदेश नम्बर २ को राजधानी जनकपुरदेखि पूर्व सप्तरीसम्म र पश्चिम पर्साको वीरगन्ज महानगरपालिकासम्म बस सेवा सन्चालनमा आउनेछ । यसले प्रदेशका सबै ८ जिल्लाका जनतालाई प्रदेश राजधानी जनकपुर, मुख्य शहर वीरगन्ज लगायतका स्थानहरुमा आउजाउ सहज हुने विश्वास सरकारको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले ३ करोड ९ लाख ८२ हजार रुपैयाँमा बस खरिद गरेको छ । पुसमा बस खरिद गरेको र सम्पूर्ण कागजात तयार पार्न माघ महिनाभर लागेको भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले जानकारी दिए ।

मन्त्री सोनलले फागुन महिनाभित्रै कार्यविधि लगायत सबै प्रक्रिया पूरा गरी बस सेवा संचालनमा ल्याउने जानकारी दिए । उनले बस संचालनका लागि विभिन्न ठाउँमा सेडहरु बनाउने, अफिसहरु संचालन गर्ने र ग्यारेजहरु संचालन गर्ने विषय कार्यविधिमै समेट्ने पनि बताए ।

उनका अनुसार बस सेवा सञ्चालनका लागि एउटा संचालक समिति गठन गरिनेछ ।संचालक समिति नै बसको चालक, सह-चालक तथा कर्मचारी नियुक्ति गर्नेछ ।

मन्त्री सोनलले बस संचालनमा आएपछि प्रदेशबासीको यात्रा सरल, सुलभ र सुरक्षित हुने विश्वास व्यक्त गरे । ‘अहिले निजी क्षेत्रबाट सन्चालित सार्वजनिक बसमा यात्रुहरु ठगिने, व्यावसायीले मनपरी रुपमा भाडा असुल्ने गुनासो हामीले सुन्दै आएका छौं । बस प्रदेश सरकारकै बस सेवा संचालनमा आएपछि जनताले सुविधा पाउनेछन्,’ मन्त्री सोनलले भने ।

खरिद गरिएको बस ५० सीट क्षमताको छ । बसमा सिसिटिभी क्यामेरा र स्वचालित ढोका रहनेछन् । वाइफाइको सुविधासमेत रहने मन्त्री सोनलले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर