श्रमको मूल्य उठ्ने गरी मूल्य निर्धारण गर्नुपर्छ : कृषिमन्त्री अर्याल – Nepal Press

श्रमको मूल्य उठ्ने गरी मूल्य निर्धारण गर्नुपर्छ : कृषिमन्त्री अर्याल

काठमाडौं- कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानको श्रमको मूल्य उठ्नेगरी उत्पादित वस्तुको मूल्य निर्धारण गर्नुपर्ने बताएकी छिन् ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको २७ औं वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

‘किसानको उत्पादनले उचित मूल्य पाउन सकेन । आफूले उत्पादन गरेको वस्तुको मूल्य त किसानको सहभागितामा हुनुप¥यो नि’ मन्त्री अर्यालको भनाइ छ, ‘किसानको उन्नति, प्रगती गर्नका निम्ती श्रम, लगानी, पसिनाको मूल्य उठ्नेगरी मूल्य निर्धारण गर्ने र बजारसम्म लैजाने व्यवस्था गर्नुपर्छ ।’

किसानबाट उपभोक्तासम्म कृषि उत्पादन आइपुग्दासम्म मूल्य धेरै बढ्ने गरेको भन्दै मन्त्री अर्यालले यो असन्तुलनको अन्त्य गर्दै किसानलाई न्याय हुने व्यवहार स्थापित गर्नुपर्ने समेत बताइन् ।

‘किसानलाई न्यून मूल्य दिने र उपभोक्तासम्म आइपुग्दा उच्च मूल्य हुने भएपछी बीचको पक्षले धेरै नाफा लिइदिनुभएन’, उनले भनिन्, ‘ उपभोक्ता पनि मारमा पर्नु भएन र उत्पादन गर्ने किसान पनि मर्कामा पर्नुभएन । किसान, उपभोक्ता र व्यवसायी सबैलाई ठीक हुनेगरी बजार मूल्य निर्धारण हुनुपर्‍यो ।’

कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले हिजोभन्दा अहिले केही सुधार गरेको देखिएपनि व्यवहारतः अझ धेरै सुधार गर्नुपर्ने आवश्यकता रहेको औंल्याइन् ।

फोहोर र पार्किङको उचित व्यवस्थापन गर्न सुझाव दिँदै उनले स्टलसँग जोडिएका केही कुराले बेथिती ल्याएको भन्दै सुशासन कायम गर्ने सन्दर्भमा सहयोग गर्न व्यवसायीहरुलाई आग्रह गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *