माओवादी बर्बरताको शिकार बनेका एक पत्रकार – Nepal Press
जनयुद्धको घाउ

माओवादी बर्बरताको शिकार बनेका एक पत्रकार

 

ज्ञानेन्द्र खड्का

रेक वर्ष जब फागुन १ आउँछ, मिथिला खड्काको मन भत्भती पोल्छ । तत्कालीन माओवादीले सभा–समारोह गरेर ‘जनयुद्ध दिवस’मनाइरहँदा उनका आँखाहरू भिज्छन् । आखिर यही  जनयुद्धले हो- उनको निर्दोष श्रीमान्‌लाई उनीबाट सधैंका लागि चुँडेको ।

१७ वर्ष भयो, १७ हजार मान्छे मारिएको माओवादी जनयुद्धमा मिथिला खड्काले आफ्नो श्रीमान् गुमाएको । समय लम्बिंदै जान्छ, तर उनको पीडा घटेको छैन ।

‘उहाँले के बिगार गरिदिनुभएको थियो र ! मेरो आँसु आजसम्म थामिन सकेका छैनन्’, मिथिला भक्कानिंदै भन्छिन् ।

मिथिलाका श्रीमान् थिए, सिन्धुपाल्चोक ज्यामिरेका ज्ञानेन्द्र खड्का । उनी पत्रकार थिए, र शिक्षक पनि । ज्ञानेन्द्रलाई २०६० साल भदौ २१ गते माओवादीले घाँटी रेटेर हत्या गरेका थिए । त्यो नृशंस हत्याको विवरण सिन्धुपाल्चोकका पत्रकार युवराज पुरीले हामीलाई यसरी वर्णन गरे :

श्रीमतीकै सामुन्ने घाँटी रेटियो
ज्ञानेन्द्र त्यतिबेला सरकारी समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस)मा गरिरहेका थिए । स्थानीय जनता मावि स्कुलमा पढाउँथे । उनको स्कुलमा विद्यालय प्रशासनसँग केही विवाद भएको थियो । विवाद समाधानका लागि तत्कालीन व्यवस्थापन समितिले पहल गरिरहेको थियो ।

२०६० साल भदौ १ गते स्कुल प्रशासन र ज्ञानेन्द्रको विवाद निरुपण गर्नका लागि अभिभावक भेला बोलाइएको थियो । म त्यो भेलामा थिइनँ । भेलामा ज्ञानेन्द्रले आफ्नो कुरा राखेका थिए । भेलामा सहभागी भएकाहरु भन्थे, त्यतिबेला ज्ञानेन्द्रले एकदमै विनम्रतापूर्वक बोलेका थिए ।

युवराज पुरी

उनीआफ्नो भनाइ राखेर फ्लोरमा आउनासाथ गाउँलेले नचिनेका ४ जना मान्छे कार्यक्रम स्थलमा आए । दुई जना एकातिर दुईजना अर्कोतिर बसे । उनीहरूमध्ये कसैले ज्ञानेन्द्र को हो भनेर स्थानीयसँग सोधे । एक जनाले देखाइदिए ।

देखाउनेबित्तिकै ज्ञानेन्द्रलाई झ्याप्प समाएर हात पछाडि बाँध्न थालेछन् । उनले ‘के गर्न लागेको, तपाईंहरू को हो ? कहीँ लैजाने भए म गइहाल्छु् नि’ भनेर अनुनय गरेछन् । तर, उनीहरुले ‘चुप लाग्’ भन्दै आँखामा पट्टी बाँधेछन् । भेलामा उपस्थित अभिभावकले पनि केही प्रतिकार गर्न सकेनन् । पाँच मिनेटमै ज्ञानेन्द्रलाई बाँधे । त्यसपछि एक जनाले पेस्तोल निकालेर भने, ‘सबै चुप लाग्ने । हामी १० मिनेटमै छाडिदिन्छौं ।’

अनि ज्ञानेन्द्रलाई घिच्याउँदै लिएर गएछन् । स्कुल र ज्ञानेन्द्रको हत्या गरिएको ठाउँको बीचमा घर पर्दथ्यो । १० वर्षकी छोरी अजिताले बाबालाई बाँधेर लगेको देखेपछि आमालाई आएर भनिछन्, ‘ममी बाबालाई बाँधेर लगेको छ ।’ लगत्तै अतालिएर मिथिला भाउजू पछि-पछि जानुभएछ ।

ज्ञानेन्द्रको भाउजू पनि दौडिएर पछि जानुभयो । स्कुलबाट पनि केही मान्छेहरू पनि ‘दिनदहाडै मान्छे लगेको छ, हामीले प्रतिवाद गर्नुपर्छ’ भनेर पछि लागे । करिब सय मिटरको दुरीमा मिथिला भाउजू हुनुहुन्थ्यो । त्यसको ढेड सय मिटको दुरीमा प्रतिकारको लागि आएका गाउँले थिए ।

घरबाट करिब ५ सय मिटर पर लगेपछि देवीको मन्दिर आउँछ । त्यहाँ भलिबल खेल्नलाई पोल राखिएको थियो । त्यहाँ पुगेपछि दुई जना मान्छे बाटो छेक्न बसेछन् । भाउजू रुँदै गएपछि ‘को हो यो’ भनेर एक हतियारधारीले प्रश्न गरेछन् । ज्ञानेन्द्रको श्रीमती भनेपछि ‘ल यसलाई हेर्न दे’ भनेछन् । त्यही पोलमा मिथिला भाउजूलाई बाँधेर घाँटी रेटेर ज्ञानेन्द्रको हत्या भएछ । मिथिला भाउजू त्यहीँ बेहोश हुनुभयो ।

मिथिला भाउजूलाई पछि हामीले सोध्दा भन्नुहुन्थ्यो, ‘खुकुरी निकालेको थाहा छ । त्यसपछि के के भयो मलाई थाहा छैन ।’

त्यो घटनास्थलबाट मिथिला भाउजूलाई बेहोस अवस्थामा बोकेर ल्याएको झण्डै तीन दिनसम्म होस् नै आउन सकेको थिएन । त्यसरी उहाँकै अगाडि घाँटी रेटिएको थियो ।

म पनि स्कुलबाट फर्कँदै थिएँ । बाटोमा सुनेँ । ‘ज्ञानेन्द्रलाई ठहरै पारे नि,’ गाउँलेले मलाई भने । मैले हत्याको त कल्पना नै गर्न सकिनँ । मलाई के लाग्यो भने, ‘स्कुलले कारबाही गरेछ क्यार । कारबाही नै गर्नुपर्ने त केही थिएन ।’

मेरो घर जाने बाटोमै उहाँलाई हत्या गरिएको ठाउँ पर्दथ्यो । त्यहाँ जाँदा त एकदम सुनसान छ । उनको विभत्स लाश लडिरहेको देखेँ । पाँच मिनेट जति त म न अगाडि बढ्न सकेँ, न पछाडि । जीवनमा सोच्नै नसकेको दृश्य देखें । म आतंकित जस्तो भएँ ।

मसँग एक जना मिस हुनुहुन्थ्यो । उहाँले ‘दाइ दाइ’ भनेर थुप्रैपटक बोलाउनुभयो । झस्कँदै हजुर भनें । उहाँले हिँड्नु भनेर मलाई तल लिएर आउनुभयो । तल आएर ज्ञानेन्द्रको घरमा गयौं । अवस्था हेर्न सक्ने नै थिएन । भाउजू बेहोस हुनुहुन्थ्यो । पानी छम्कँदा पनि होस आइरहेको थिएन । दाइ नगेन्द्र खड्का पनि बेहोस अवस्थामा हुनुहुन्थ्यो । भाउजूसँग त सिधा हेर्न पनि सकिनँ । दाइलाई सम्झाउने कोसिस गरेँ । तर, मेरो आफ्नै अवस्था ठीक थिएन ।

मैले सोचें, म यसरी आत्तिएर हुँदैन । म पनि एउटा पत्रकार हो । त्यसपछि पैदल हिँडेर झण्डै ४५ मिनेटमा मेलम्ची पुगें । त्यतिबेला फोन बजारमा मात्र थियो । त्यतिबेला म क्लासिक एफएम र हिमालय टाइम्समा समाचार पठाउँथें । त्यो दु्ई वटामा समाचार पठाएँ । जिल्लाका पत्रकार साथीहरूलाई यस्तो–यस्तो घटना भयो भनेर जानकारी दिएँ । पत्रकार महासंघको जिल्ला सभापति ऋषिराम पौडेल हुनुहुन्थ्यो । उहाँलाई र केन्द्रीय सभापति तारानाथ दाहाललाई घटनाबारे जानकारी गराएँ । त्यति गरेर म बेलुका घर फर्कँदा साँझ ७ बजेको थियो ।

घटनास्थलमा लास त्यतिकै बेवारिसे थियो । स्याल अथवा जेले पनि लैजान सक्थ्यो । मैले भनेँ, ‘अब यसरी हुँदैन । उनीहरूले जे गर्नु गरिसके । हामीले लास पुर्नुपर्छ,’ त्यसपछि गाउँमा मान्छेहरू बोलाएर भोलिपल्ट लास लिएर आयौं । लास ल्याएपछि चेक गर्दा उनको बगलीमा एउटा कागज माओवादीले खसालेका रहेछन् । हत्या गर्नुको कारण भनेर १२ वटा बुँदामा आरोप लगाएका रहेछन् । १२ वटामध्ये ९९ प्रतिशत आरोप कपोकल्पित छन् । उनीहरूले लगाएको कुनै आरोप पनि कतैबाट पुष्टि भएको छैन । अहिले पनि म दाबीका साथ ती आरोप गलत थिए भन्न सक्छु ।

फोटो खिच्न मसँग क्यामेरा थिएन । गाउँको भाइसँग चाइनिज क्यामेरा थियो । अरु रिल वालामा पनि राम्रा–राम्रा क्यामेरा थिए । त्यो क्यामेरा मागें । बिहान फोटोहरू खिचें । फोटो खिच्न पनि एकदमै गाह्रो भएको थियो । ५–६ दिनसम्म मैले फोटो खिचेको कुरा कसैलाई भनिनँ । के हो, के हो भन्ने थियो । पछि पत्रकार साथीहरू पनि त्यहाँ जानुभयो । गएपछि मैले ऋषिराम पौडेल दाइलाई सुटुक्क भनें, ‘दाइ मैले फोटो खिचेको छु ।’

उहाँले रिल लिएर काभ्रेमा आएर धुलाउनुभयो । पछि त्यो अरु पत्रिकामा छापिएको थियो । फोटोमा मेरो नाम थिएन, नाम राख्न पनि डरमर्दो अवस्था थियो ।

मैले खिचेको फोटो पछि नेपालयमा बाइलाइनसहित ‘लडाइँमा जनता’ मा छापियो ।

०००

हामीले पहल गरेर भाउजू र बच्चाहरूलाई सहयोग त गर्‍यौं । तर, त्यो पर्याप्त थिएन । कलम चलाउने एउटा मान्छे जो दिन दहाडै समूहबाट थुतिएर लगेर हत्या गरिन्छ, त्यो घाउ कसैगरी पनि पुरिन्न ।

त्यतिबेला पत्रकार महासंघले एउटा टीम बनाएर घटनाको छानवीन गर्ने काम गरियो । प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो । हचुवाको भरमा तत्काल निर्णय गरेर उनको हत्या गरिएको हो भन्ने निस्कर्ष निकालिएको थियो ।

पछि खुला राजनीतिमा आइसकेपछि नेताहरूसँग अनौपचारिक कुरा गर्दा उहाँहरूले भन्नुहुन्छ, ‘मलाई त त्यो विषयमा हत्या भइसकेर समाचार आएपछि मात्र थाहा भयो ।’

एउटा मान्छे मार्ने जस्तो कुरा पाँच–सात जना मान्छे बसेर फलानालाई सिध्याऊँ भन्ने हिसाबले गरेको देखिन्छ । हत्यारा को थिए भनेर पछि अनुमान त भयो तर एकिन गरेर भन्न सकिएन । उनीहरू गाउँमा पहिलोपटक देखिएका मान्छेहरू थिए ।

०००

ज्ञानेन्द्रको विवाद स्कुलको प्रधानाध्यापकसँग थियो । त्यही स्कुलको प्रधानाध्यापकलाई पनि माओवादीले अपहरण गरेका थिए । भोलिपल्टै छाडे पनि केही टर्चरका कारण उनी लामो समय विद्यालय आएनन् । त्यो समय ज्ञानेन्द्रले निमित्त प्रअको हैसियतले काम गरेका थिए । पछि हेडसर फर्केपछि उहाँहरूबीच टसल पर्यो । त्यही कुरालाई लिएर ज्ञानेन्द्रले स्कुल जाने, पढाउने हाजिरी कापीमा हाजिर नगर्ने गरेका थिए । त्यही कुरालाई लिएर विवाद भएको थियो । विवादको समाधान भेलाबाट खोज्ने भनिएको थियो ।

पत्रकार महासंघले माओवादीका केही नेतासँग कुरा गर्दा पनि गोलमटोल जवाफ दिए । त्यो घटनापछि फोटो सार्वजनिक भयो । फोटो सार्वजनिकपछि मलाई पनि आफन्तमार्फत् दबाब आउन थाले ।

‘त्यसको कलम तिखो भएको छ । कलम चलाउने हात काटेपछि थाहा हुन्छ’ भन्ने खालका दबाब आए । दबाब आउन थालेपछि मैले शिक्षकको जागिर छाडेर काठमाडौं आएँ । बुबाहरूले पनि नबस भन्नुभयो । अनि काठमाडौं आएर पत्रकारिता गर्न थालें । झण्डै ८ महिनापछि ऋषि दाइ र म माओवादी नेतृत्वसँग कुरा गरेर मात्र म सहज रुपमा घर जान थालें ।

हत्या हुने दिन ज्ञानेन्द्र र म सँगै उनको घरमा चिया खाएका थियौं । उनले मलाई के होला भन्दै थिए । मैले विवादको समाधानका लागि बीचको बाटो खोज्नुपर्छ भनेको थिएँ ।

‘सधैंभरि विवाद गरेर विद्यालयलाई अनिर्णयको बन्दी बनाएर हुँदैन । तपाईं र हेडसर दुवैले आ–आफ्नो कमजोरी स्विकार्नुपर्छ,’ मैले भनें ।

उनले मलाई तँ पनि बस भनेर भन्नुभएको थियो । तर, मेरो स्कुल जानु्पर्ने थियो । म त्यही कार्यक्रम भ्याउँछु भनेर १ बजे नै स्कुलबाट आएको थिएँ ।

यो हत्याबारे स्पष्ट जवाफ माओवादी नेताबाट अहिले पनि आएको छैन । उनीहरू घुमाउरो पाराले ‘युद्धको क्रममा भएका केही कमजोरीहरू मध्ये त्यो पनि एउटा हो’ भनेर स्वीकार्छन् । यो–यो कारण मारेको भनेर स्पष्ट जवाफ उनीहरूबाट आएको छैन ।

१७ वर्षदेखिको घाउ
ज्ञानन्द्रकी पत्नी मिथिला अहिले पनि सामान्य अवस्थामा फर्किन सकेकी छैनन् । घाउमा अझै पनि खाटा लागेको छैन । यो निरन्तर चहर्‍याइरहेको छ । श्रीमान्का आवाजहरू कानमा गुञ्जिन छोडेका छैनन् ।

छोराछोरी पनि आमालाई ती दिन सम्झाउन चाहँदैनन् । छोरा अश्विन खड्का भन्छन्, ‘हामी आमालाई ती दिन सम्झाउन चाहँदैनौं । उहाँलाई गाह्रो हुन्छ । सहन सक्नुहुन्न ।’

स्कुलकै विवादले ज्ञानेन्द्रको हत्या भएका हुन सक्ने अनुमान भए पनि एकिन भन्न सक्दिनन् मिथिला ।

‘उहाँले आफू सोझो कर्म गर्ने मान्छे, गल्ती भए राजीनामा दिन्छुसमेत भन्नुभएको थियो रे’, मिथिला सुनाउँछिन् ।

ज्ञानेन्द्रकी जेठी छोरी अजिता त्यतिबेला १० वर्षकी थिइन् । उनले आफ्नो बाबालाई अपरिचित मानिसहरूले ठेल्दै लगेको देखिन् । ज्ञानेन्द्रले छोरीलाई सान्त्वना दिन भनेका थिए, ‘छोरी तिमी घर जाऊ, म एकछिनमा आउँछु ।’

एकछिनमा आउँछुु भनेका ज्ञानेन्द्र फेरि फर्केर आएनन् । ज्ञानेन्द्र बितेको तीन वर्षपछि उनका बा पनि बिते । त्यसपछि मिथिलाले भोग्न बाँकी पीडा केही रहेन ।

पति गुमाएपछि छोराछोरीको विचल्ली हुने चिन्ताले मिथिलालाई सधैं सताइरहन्थ्यो । तर, जेठाजुहरूको साथ र सहयोगले छोराछोरीको भरणपोषणमा भरथेग भयो ।

‘माइलो जेठाजु र जेठो दाइको आडभरोसा थियो । उहाँहरूले छोराछोरी पढाउन सहयोग गर्नुभयो’, मिथिला भन्छिन् । पछि सरकारले उनको परिवारलाई १० लाख रुपैयाँ दियो । अन्य स–साना सहयोग पनि मिथिलाले पाइन् ।

ज्ञानेन्द्रलाई त्यसअघि पनि माओवादीले बेला–बेलामा दुःख दिने गरेको कुरा मिथिलाले पछि थाहा पाइन् । तर, के कारण मारिएको हो त्यो आजसम्म थाहा पाइनन् उनले ।

माइली छोरी अस्मितालाई बुबा बित्दाको क्षण थाहा छैन । त्यतिबेला उनी पाँच वर्षकी थिइन् । पछि अरूबाटै थाहा पाइन् । तर, पनि अस्मिताको स्मृतिमा ती साँझ धुमिल भएर आउँछन्, जुन साँझहरूमा बुबा घर फिर्थे । र, अस्मितालाई काखमा लिन्थे । पछि बुबा कुनै पनि साँझ त्यसरी घर आएनन् । कुनै कुनै साँझ त उनलाई लाग्थ्यो, बुबा आउँछन् कि ! विस्तारै उमेर बढेसँगै बुबा आउँदैनन् भन्ने कुरा पनि अस्मिताले बुझ्न थालिन् ।

आमा मिथिला गाउँमा खेतीकिसानी गर्छिन् । छोराछोरी अहिले पढाइको सिलसिलामा घरबाहिर छन् । जब ज्ञानेन्द्र सम्झिन्छिन्, उनलाई भित्रैदेखि डर लागेर आउँछ– कतै मेरा सन्तानलाई पनि केही हुने हो कि !

अहिले झट्ट कसैले घटनाबारे सोधिहालेमा पनि उनी झस्किन्छिन् । धेरै पटक उनले त्यो क्षण भुल्न खोजिन् । ‘जति जति भुल्न खोजें, उति पिरोलिरह्यो’, मिथिला मलिन सुनिन्छिन् ।

समाचारमा प्रयोग गरिएको तस्विर हामीले प्यासिफिक स्कुप वेबसाइटबाट साभार गरेका हौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर