प्रचण्डलाई टोपबहादुरको प्रश्‍न-३४ हजार लडाकु देखाएर लिएको १९ अर्ब खोइ ? (भिडियो) – Nepal Press

प्रचण्डलाई टोपबहादुरको प्रश्‍न-३४ हजार लडाकु देखाएर लिएको १९ अर्ब खोइ ? (भिडियो)

लेखराज भट्ट भन्छन्: प्रचण्डले ५ हजारमात्रै मारेको जिम्मा लिएर उम्किन मिल्छ ?

काठमाडौं । माओवादी जनयुद्धकालको अन्तिम बेला ढाडमा टेकेर टाउकोमा हान्ने प्रचण्डको अभियानका प्रमुख कमाण्डर टोपबहादुर रायमाझीले तत्कालिन लडाकुको नक्कली संख्या देखाएर १९ अर्ब रुपैया हिनामिना भएको खुलासा गरेका छन् ।

पूर्व जनमुक्ति सेना नेपालको राष्ट्रिय भेलालाई बुटवलमा सम्बोधन गर्दै उर्जामन्त्री समेत रहेका रायमाझीले तत्कालिन जनयुद्धका कमाण्डर तथा माओवादी पार्टीका अध्यक्ष प्रचण्डसँग धेरै हिसाबकिताब माग्न बाँकी रहेको बताए ।

रायमाझीले भने- शान्ति प्रक्रियामा आइसकेपछि वाइसिएलमा रहेका समेत साथीहरु जम्मा गरेर १९ हजारलाई क्यान्टोनमेन्टमा राखियो । १९ हजार सेना राखेर हामीले ३४ हजार जनाको संख्या देखाएर भत्ता बुझ्यौं । त्यसको हिसाब बाबुराम भट्टराईले राख्नुभएको छ । उहाँका अनुसार सात आठ वर्षको सो रकम १९ अर्ब हुन्छ । त्यो पैसा कहाँ गयो ?

रायमाझीले वाइसिएलका लागि भनेर लिएको थप रकम समेत प्रचण्डले हिसाब नदेखाएको दाबी गरे । घाइते अपांग लडाकुहरुले उपचार नपाएको प्रसंग निकाल्दै रायमाझीले आफूहरुले प्रचण्डसँग त्यसबेलाका हिसाब माग्न बाँकी नै रहेको बताए ।

वर्षमान पुन र जनार्दन शर्माहरुतर्फ संकेत गर्दै रायमाझीले भने- अहिले जो साथीहरु जनयुद्धका जनमुक्ति सेनाका कमाण्डर भन्दै छन् उनीहरुको हैसियत मलाई थाहा छ । म २०४८ सालमा वाइसिएलको संस्थापक अध्यक्ष हुँदा मैले नै उनीहरुलाई जिल्ला कमिटीमा समेटेको हुँ । हिसाब किताबको कुरा बाँकी नै छ,अहिले त हामी बैचारिक कुरामात्र गरिरहेका छौं ।

अर्को प्रसंगमा रायमाझीले ३३ वर्ष पार्टीको नेतृत्व र दुई पटक प्रधानमन्त्री भएर देशको नेतृत्व गरेका प्रचण्डले जनयुद्ध लड्ने योद्धाहरूको कुनै माग सम्बोधन नगरेको भन्दै लडाकुको सम्मान पनि केपी ओलीले गर्ने अवस्था आएको बताए । उनले आफूहरुको आग्रह बमोजिम ओली नेतृत्वको सरकारले जनयुद्धका लडाकुहरुको लागि सम्मान र राहत प्याकेज ल्याएको तथा उच्चस्तरीय समिति बनाएको बताए ।

पूर्व लडाकुको भेलालाई सम्बोधन गर्दै पूर्व माओवादीका अर्का कमाण्डर तथा उद्योगमन्त्री लेखराज भट्टले शान्ति प्रक्रियापछि प्रचण्डले आफू र परिवारबाहेक अरु योद्धालाई बिर्सेको आरोप लगाए । उनले टुँडिखेलमा उभिएर ५ हजार मारेको जिम्मा लिन्छु भन्ने प्रचण्ड कायर हुन् भन्दै प्रचण्डले जनयुद्धको जिम्मा नलिने हो भने १७ हजारको जिम्मा आफूहरुले लिने घोषणा गरे ।

करिब ६ सय पूर्व लडाकु सहभागी रहेको भेलालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनयुद्धका लडाकुहरुको माग केपी ओली नेतृत्वको सरकार र पार्टीले सम्बोधन गर्ने र पूर्व जनमुक्तिको सेनालाई आफूहरुले अभिभावकत्व दिने बताए ।

सो भेलाले प्रचण्डबाट जनयुद्धका योद्धाको अपमान र युद्धको अबमूल्यन भएको भन्दै केपी ओली नेतृत्वको नेकपामा समाहित हुने घोषणा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर