कोरोनाको प्रभाव : ठूला उद्योग नाफामा लघु र घरेलु उद्योगको उत्पादन ७५ प्रतिशतले घट्यो – Nepal Press

कोरोनाको प्रभाव : ठूला उद्योग नाफामा लघु र घरेलु उद्योगको उत्पादन ७५ प्रतिशतले घट्यो

काठमाडौं । कोभिड–१९ का कारण अधिकांश लघु तथा घरेलु उद्योग पूर्णरुपमा बन्द भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको उद्योगमा कोभिडले पारेको प्रभावको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

मन्त्रालयले सार्वजनिक गरेको उक्त अध्ययन प्रतिवेदन अनुसार ५४ प्रतिशत उद्योगको ५० प्रतिशत उत्पादन क्षमतामा गिरावट आएको छ । ३२ दशमलव ४३ प्रतिशत उद्योगको ७५ प्रतिशतसम्म उत्पादनमा गिरावट आएको, २३ दशमलव ५२ प्रतिशत लघु घरेलु उद्योगको उत्पादन क्षमतामा ७५ प्रतिशत घटेको छ ।

मन्त्रालयले कोभिडले पारेको प्रभावको सूक्ष्म अध्ययन गरेको थियो । सो अध्ययनमा गरगहना, रङरोगन, पेयपदार्थ, सिमेन्ट, तामा पित्तल भाडा, जलविद्युत् उत्पादन, हस्तकला, तयारी पोशाक, परामर्शलगायतका वस्तु तथा सेवा उत्पादन गर्ने उद्योगलाई समावेश गरिएको थियो ।

अध्यनमा लघु तथा घरेलु उद्योग १७, साना उद्योग आठ, मझौला चार र ठूला आठ उद्योग गरी ३७ उद्योगलाई नमूना (स्याम्पल) को रूपमा रहेका थिए । प्रतिशतको आधारमा २२ प्रतिशत ठूला उद्योग, ४६ प्रतिशत लघु घरेलु उद्योग, ११ प्रतिशत मझौला उद्योग र २१ प्रतिशत साना उद्योग अध्ययनमा सहभागी थिए ।

यसैगरी अध्ययनमा सहभागी लघु तथा घरेलु उद्योगमध्ये ८२ दशमलव ३५ प्रतिशत उद्योगले कोभिड–१९ का कारण उत्पादनमा असर परेको, ७६ दशमलव ४७ प्रतिशतले कच्चा पदार्थ प्राप्ति गर्न कठिनाइ भएको र ८८ दशमलव २४ प्रतिशतले आफ्नो उत्पादनको बजारीकरण गर्न नसकेको बताएका थिए ।

यसैगरी, ८७ दशमलव पाँच प्रतिशत साना उद्योगको उत्पादनमा प्रत्यक्ष असर परेको तथा ७५ प्रतिशत कच्चा पदार्थ प्राप्त गर्न कठिनाइ भएको प्रतिक्रिया दिएका थिए ।

७७ दशमलव पाँच प्रतिशत उद्योगले श्रमिकको परिचालन र उत्पादनको बजारीकरणमा असर परेको बताएका थिए । यस्तै अध्ययनमा सहभागी ५० प्रतिशत मझौला उद्योगले कच्चा पदार्थ प्राप्तिमा समस्या भएको, ७५ प्रतिशत उद्योगले श्रमिक परिचालनमा समस्या परेको बताएका थिए ।
ठूला उद्योगले भने कच्चा पदार्थको प्राप्ति, वस्तु तथा सेवाको उत्पादन, श्रमिक परिचालन तथा बजारीकरण सबै क्षेत्रमा असर परेको बताएका थिए ।

कोरोनाका कारण अधिकांश उद्योग नोक्सानमा रहेको तथा अध्ययनमा सहभागी उद्योगमध्ये १६ दशमलव २२ प्रतिशत मात्र नाफामा रहेको बताएका थिए । नाफामा रहेका उद्योगमध्ये ६६ दशमलव ६७ प्रतिशत ठूला उद्योग थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *