चुनाव हारेयता निरन्तर घरदैलोमा नविन्द्र – Nepal Press

चुनाव हारेयता निरन्तर घरदैलोमा नविन्द्र

काठमाडौं । नेपालमा राजनीतिज्ञहरूलाई लाग्ने गरेको एउटा सदाबहार आरोप हो, चुनाव आउन लागेपछि उनीहरू मतदाता खोज्दै घर-घर आउँछन्, चुनावपछि तिनै मतदातालाई चिन्दैनन् । हुन पनि भोट माग्न आउँदा जनताको धान काट्नेदेखि भैसी दुहनसम्म पछि नपर्ने नेताहरूले जितेपछि नमस्कार फर्काउन पनि झिँजो मान्ने गरेको देखिन्छ ।

चुनाव हार्नेसँग पनि आफ्नै कुण्ठा हुन्छ । आफूलाई भोट नदिने मतदाताको घरमा फर्केर किन जाने भन्ने मनोदशामा हुन्छन् प्राय । त्यसैले अर्को चुनाव नआउञ्जेल उनीहरूलाई पनि जनताको बीच्मा देख्न मुस्किल पर्छ । तर, कांग्रेस नेता नविन्द्रराज जोशी चाहिँ यो प्रवृत्तिमा अपवाद बन्न खोजिरहेका छन् । अघिल्लो संसदीय चुनावमा पराजित भएयता आफ्नो निर्वाचन क्षेत्रमा उनको निरन्तर घरदैलो चलिरहेको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा जोशी बिजयी भएका थिए । संविधान निर्माणका लागि उनले भूमिका खेले । उद्योगमन्त्री छँदा बन्द रहेको सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेड सुचारु गराए । लिमिटेडले जीवनजल र सिटामोलको उत्पादन सुरु गरेपछि मन्त्री जोशीको कामको प्रशंसा पनि भएको थियो ।

तर, गत संसदीय निर्वाचनमा उनी सोही निर्वाचन क्षेत्रबाट पराजित भए जोशी । वाम गठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठसँग ४ सय ४४ मतान्तरले हारेका थिए उनी । तर, चुनाव हारे पनि जोशीले जनताको मन जित्ने प्रयास जारी राखेका छन् ।

कतै घरमा रहेका मानिसको हालखबर सोधेर फर्कन्छन् कतै कुरा गर्न चाहनेसँग आँगनमै बसेर गफिन्छन् उनी । राजनीतिमा खास सरोकार नराख्ने युवादेखि राजनीतिबाट दिक्क मानेका ज्येष्ठ नागरिकसँग समेत उनले भलाकुसारी गर्ने गरेका छन्। सामाजिक विषयमा बोल्ने नेताप्रति जनताको सम्मान रहेको उनले बुझेका छन् ।

जोशीले अहिले पनि आफ्नो निर्वाचन क्षेत्रमा नियमित घरदैलो गरिरहेका छन् । काठमाडौं रहँदा र महत्वपूर्ण राजनीतिक कार्यक्रम नहुँदा आफ्नो क्षेत्रका मतदाताको घर-घर पुग्ने गर्छन् । विपक्षीहरूले चाहिँ उनले आगामी निर्वाचनको तयारी गरिरहेको भनेर अर्थ्याएका छन् । जोशी चाहिँ आफू चुनाव जित्न नभएर जनताको विश्वास जित्न प्रयासरत रहेको बताउँछन् ।

जोशीको क्षेत्रमा नागार्जुन नगरपालिकाको ४ र ५ नम्बर वडासँगै काठमाडौं महानगरपालिकाको १३, १५, १९, २०, २३ र २४ नम्बर वडा पर्छन् । पचास हजारभन्दा बढी मतदाता रहेको सो क्षेत्रका सबै घरमा पुग्ने उनको ईच्छा छ । कोरोना महामारीभन्दा अगाडि कहिलेकाहीँ मात्रै घरदैलो गर्दै आएका जोशीले लकडाउनपछि घरदैलोलाई तीव्रता दिएका हुन्

‘कोरोनाका कारण जनता घरबाट बाहिर निस्कने अवस्था थिएन । त्यसैले म आफैं जनताको घरमा जानुपर्छ भन्ने लागेर हिडेंको हुँ,’उनले भने ।

निर्वाचन हारेको व्यक्ति जनताकोमा जाँदा के सन्देश लिएर जानुहुन्छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘कोरोनाको बेलामा अलि-अलि हिम्मत लिएर गएँ । कोरोनाबारे सन्देश लेखिएको पर्चा बनाएँ र मास्कको पोको पनि बोक्थेँ ।’

पछिल्लो समय हप्तामा ३-४ दिन उनी घरदैलोमै व्यस्त हुन थालेका छन् । कतै घरमा रहेका मानिसको हालखबर सोधेर फर्कन्छन् कतै कुरा गर्न चाहनेसँग आँगनमै बसेर गफिन्छन् । राजनीतिमा खास सरोकार नराख्ने युवादेखि राजनीतिबाट दिक्क मानेका ज्येष्ठ नागरिकसँग समेत उनले भलाकुसारी गर्ने गरेका छन्। सामाजिक विषयमा बोल्ने नेताप्रति जनताको सम्मान रहेको उनले बुझेका छन् ।

‘मलाई राजनीतिमा रुची छैन तर जनतालाई परेको समस्यामा हजुरले बोलेको नोटिस गरेको छु, चुनाव हारे पनि जनताको विषयमा बोल्न नछोड्नुहोला,’ घरदैलोका क्रममा बायो मेडिकल पढ्दै गरेकी एक विद्यार्थी जोशीलाई भन्दै थिइन् । आफूलाई कुनै राजनीतिक दलको कार्यकर्ता नठान्न आग्रह गर्दै ती युवतीले गरेको कुराले नवीन्द्रको हौसला बढेको छ ।

घरदैलोकै क्रममा कतिपयले ‘कांग्रेसले पनि गतिलो गरेन’ भनेर हकार्छन् भने कतिपयले ‘अब अन्याय गर्दैनौं’ भनेर हौस्याउँछन् । जनताको घरदैलोमा पुग्ने अभियानलाई उनले राजनीतिक रंग दिएका छैनन् । कांग्रेस, कम्युनिष्ट, राजावादी सबैको घर छिर्छन् । घरदैलो गरेको वडामा घरबेटी बाहिर गएको बाहेक अवस्थामा घर नछुटाएको उनको दावी छ ।

अहिले फेरि निर्वाचनको चर्चा सुरु भएको छ । तर, जोशी भने संसद विघटनपछि पार्टीले निर्वाचनमा जान हतारो नगरी आन्दोलनमा जोड दिनुपर्ने पक्षमा छन् ।

त्यसोभए उनले घरदैलोलाई किन तीव्रता दिइरहेका छन् त ?

‘राजनीति गर्नेका लागि त हरेक दिन चुनाव हो नि । भोट हाल्ने दिन मात्रै जनता खोज्नुहुँदैन भन्ने लागेकोले सधै घरदैलो गरेको हुँ”, उनी भन्छन् ।

२२ वर्षको उमेरमा नेपाल विद्यार्थी संघको महामन्त्री बनेका जोशी २०४९ सालको स्थानीय चुनाव जितेर काठमाडौं महानगरपालिकाको उपमेयर बनेका थिए । तत्कालीन एमालेका उम्मेदवारलाई हराएर काठमाडौंको उपमेयर बन्दा जोशीको उमेर २८ वर्षको मात्रै थियो ।

पहिलो र दोस्रो संविधानसभामा जितको माला पहिरिएका जोशीले २०७४ को निर्वाचनमा हारको स्वाद चाखे । यसलाई सामान्य राजनीतिक घटना ठानेका छन् उनले ।

‘जनताको दुःखसुख बुझ्न पाइएको छ । आफूले सकेको सहयोग गर्न पाइएकै छ । चुनाव जित्ने कुरा मेरा लागि महत्वपूर्ण होइन, जनताले खोज्दा भेटिने कुरा महत्वपूर्ण हो,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर