खोप खरिद गर्न विश्व बैंकले पौनै ९ अर्ब ऋण दिने, नेपालमा प्रयोग भएको खोपलाई डब्लुएचओको सिफारिस – Nepal Press

खोप खरिद गर्न विश्व बैंकले पौनै ९ अर्ब ऋण दिने, नेपालमा प्रयोग भएको खोपलाई डब्लुएचओको सिफारिस

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप खरिद गर्नको लागि विश्व बैंकले नेपाललाई झन्डै ८ अर्ब ७० करोड (७ करोड ५० लाख अमेरिकी डलर) सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।

बैंकका नेपाल निर्देशक फारिस हदाद जेर्भोसका अनुसार नेपाललाई दिइने ऋण सहायताको प्रस्तावलाई बोर्डमा प्रस्तुत गरिने भएको छ । सरकारले प्राथमिकतामा राखेको ७२ प्रतिशत जनसंख्यालाई पुग्ने खोप खरिद गर्न विश्व बैंकको उक्त ऋण प्रयोग गरिने भएको छ ।

जेर्भोसका अनुसार विश्व बैंकले मान्यता दिएको कुनैपनि उत्पादक वा विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाबापत आउने खोप खरिदमा नेपालले रकम प्रयोग गर्न पाउने जनाइएको छ । सरकारले भारतीय खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटसँग २० लाख डोज खरिद गर्ने तयारी गरेको छ ।

स्वास्थ्य मन्त्रालयले सिरम इन्स्टिच्युटसँग ५ डलरभन्दा कम रकममै खोप खरिद गर्ने जनाएको छ ।

अक्सफोर्डको खोपलाई सिफारिस
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको कोभिडविरुद्धको खोप प्रयोग गर्न सिफारिस गरेको छ ।

खोप लगाउने विज्ञहरुको रणनीतिक सल्लाहकार समूह (सेज)ले अन्तरिम सिफारिस गर्दै सबै उमेरका वयस्कलाई खोप दिन सकिने जनाएको छ । यो खोप ६३ प्रतिशत प्रभावकारी रहेको पनि जनाइएको छ ।

कोरोनाभाइरसको नयाँ भेरिएन्ट देखिएका देशमा पनि यो खोप लगाउन मिल्ने सेजको भनाई छ । खोपको पहिलो मात्रा (डोज) लगाएको ८ देखि १२ सातामा अर्को मात्रा लगाए प्रभावकारिता बढी हुने जनाइएको छ ।

अक्सफोर्ड भ्याक्सिन ट्रायलका प्रमुख अनुसन्धानकर्मी प्राध्यापक सारा गिल्बर्टले डब्लुएचओबाट खोप प्रयोगको सिफारिस पाउनु महत्वपूर्ण भएको बताएकी छिन् । नेपालमा पनि यो भ्याक्सिनलाई आपतकालिन प्रयोगमा ल्याइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर