चार साना वाम एक ठामः संघर्षको घोषणा, चुनाव लड्ने योजना ? – Nepal Press

चार साना वाम एक ठामः संघर्षको घोषणा, चुनाव लड्ने योजना ?

काठमाडौं । संसदीय व्यवस्थाविरोधी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित चार उग्रवामपन्थी घटकहरुबीच रणनैतिक मोर्चाबन्दी भएको छ । मोर्चाबन्दी भएका चार समूहमध्ये तीन पूर्व माओवादी हुन् ।

विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मिलेर बनेको मोर्चाले संसदीय व्यवस्थामै भ्वाङ पार्ने घोषित उद्देश्य राखेको छ । रणनैतिक संयुक्त मोर्चाको घोषणा गर्दै नेताहरुले संसदीय व्यवस्था नै जनविरोधी व्यवस्था भएकोले त्यसविरुद्ध जनसंघर्ष अपरिहार्य भएको बताए । रणनैतिक मोर्चा गठनसँगै यसको अवधारणा र १२ सदस्यीय केन्द्रीय समितिसमेत घोषणा गरिएको छ ।

वैकल्पिक सरकारको माग

चार वाम दल मिलेर बनेको रणनैतिक संयुक्त मोर्चाले संसदीय व्यवस्थाको अन्त्य गर्नेदेखि वैज्ञानिक जनवादी गणतन्त्र स्थापनासम्मको लक्ष्य लिएको छ । मोर्चाको तत्कालिक माग चाहिं राष्ट्रिय राजनीतिक समीक्षा सम्मेलन हो । त्यस्तो सम्मेलनमा सबैखाले विचार र मान्यता बोकेका राजनीतिक शक्तिहरु सहभागी हुने र त्यसमार्फत वैकल्पिक सरकार गठन गरेर वैज्ञानिक समाजवादसम्मको लक्ष्य हासिल गर्नुपर्ने मोर्चाको मान्यता छ ।

संसदीय व्यवस्थामा भ्वाङ पार्ने उद्घोष

मोर्चा घोषणा सभामा बोल्ने सबै नेताहरुले नेपालमा संसदीय व्यवस्थाको औचित्य नरहेको पुनर्पुष्टि भएको दाबी गरे । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका आहुतिले ‘संसद विघटन प्रतिगमन नभएर संसदीय व्यवस्था नै प्रतिगमनको उपज’ भएको टिप्पणी गरे ।

‘संसदीय व्यवस्थामा अहिले केपी ओलीले सानो प्वाल पारेका छन् । त्यो प्वाललाई हामीले ठूलो भ्वाङमा बदलेर संसदीय व्यवस्था फाल्नुपर्छ,’ आहुतिले भने । केपी ओलीका कारण नभई संसदीय राजनीतिक व्यवस्थाका कारण ‘जनतामाथि प्रतिगमन’ भइरहेको दाबी उनले गरे ।

क्रान्तिकारी माओवादीका महासचिव ‘किरण’ले नेपालमा संसदीय व्यवस्था असफल सिद्ध भएको बताए ।

‘विदेशी प्रतिक्रियावादीहरुको इशारामा स्थापित गर्न खोजिएको संसदीय व्यवस्था असफल भयो । अझै पनि त्यसलाई जोगाउने कुरा जनताले सफल हुन दिने छैनन्’, उनले भने । सरकारले समाजवाद र समृद्धिको कुरा गरे पनि साम्राज्यवादी नवउदारवादको सिरानी हालेको उनको आरोप थियो ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले क्रान्तिकारी जनसत्ता स्थापनाका लागि रणनैतिक संयुक्त मोर्चा निर्माण भएको बताए ।

‘वर्तमान दलाल राज्यसत्ता विस्थापित गरी जनताको महान् क्रान्तिकारी सत्ता स्थापनाका लागि संघर्ष अनिवार्य छ । हाम्रो संघर्ष ओली मात्रै होइन दलाल व्यवस्थाकै विरुद्ध हो’, कट्टेलले भने ।

भेलामा विप्लव नेतृत्वको नेकपा निकट राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनीले दलाल व्यवस्थाविरुद्ध क्रान्तिकारी कम्युनिष्टहरुबीच निरन्तर सहकार्य हुनुपर्नेमा जोड दिए ।

संघर्षको घोषणा, चुनाव लड्ने योजना ?

रणनीतिक संयुक्त मोर्चाले सरकारविरुद्ध देशका विभिन्न तीन स्थानमा जनसभा घोषणा गरेको छ । घोषित कार्यक्रम अनुसार फागुन ६ गते रुपन्देहीको बुटवल, फागुन १४ गते कैलालीको धनगढी र फागुन १८ गते सुनसरीको इटहरीमा सभा गरिनेछ ।

मूलधारको राजनीतिबाट अलग रहेर अभियान गर्दै आएका चार वाम दलको रणनीतिक मोर्चाबन्दीलाई आगामी संसदीय निर्वाचन उपयोग गर्ने ‘योजना’का रुपमा समेत हेरिएको छ । मोर्चाका केन्द्रीय सदस्य जागृत रायमाझी वैज्ञानिक समाजवाद स्थापना नै मोर्चाको उद्देश्य रहेको बताउँछन् । यद्यपि चुनावलाई रणनीतिक उपयोग गर्न सकिने उनले बताए ।

‘राष्ट्रिय राजनीतिक समीक्षा सम्मेलनमार्फत वैकल्पिक सरकार निर्माण गरेर वैज्ञानिक समाजवाद स्थापना गर्नु नै हाम्रो राजनीतिक उद्देश्य हो । यो उद्देश्य प्राप्तिका लागि सहायक हुने अवस्थामा चुनावको उपयोग गर्न पनि सक्छौं’, रायमाझीले नेपाल प्रेससँग भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर