नवलपरासीमा १० करोड टन फलाम, तीन वर्षपछि व्यावसायिक उत्पादन – Nepal Press

नवलपरासीमा १० करोड टन फलाम, तीन वर्षपछि व्यावसायिक उत्पादन

काठमाडौं । धौवादी फलाम कम्पनीले पूर्वी नवलपरासीमा रहेको फलाम खानीबाट नेपालमा नै फलाम उत्पादन गर्ने योजनाका साथ काम शुरू भएको करिब दुई वर्ष भएको छ । २०७६ साल भदौ ४ गतेको मन्त्रिपरिषद्ले नेपालमा फलाम प्रशोधन उद्योग स्थापना गर्ने निर्णय गरेको थियो ।

धौवादीमा व्यावसायिक रूपमा फलाम उत्पादन गर्न तीन वर्ष लाग्ने भएको छ । तीन वर्षपछि नेपालीले नेपालमैै उत्पादन भएको फलाम प्रयोग गर्न पाउने छन् ।

धौवादी फलाम कम्पनीका निर्देशक नारायण बास्कोटाले तीन वर्षपछि धौवादी फलाम खानीको व्यावसायिक उत्पादन हुने बताए । उनले भने– धौवादी फलाम खानीको व्यावसायिक उत्पादनका लागि काम भइरहेको छ ।

धौवादी फलाम कम्पनीले पूर्वी नवलपरासीमा रहेको फलाम खानीमा फलामको वास्तविक भण्डारण खोज्ने कामलाई अगाडि बढाएको छ । खानीमा रहेको फलामको भण्डारण पत्ता लगाउन खानी वरिपरि १३०० मिटर गहिरो ड्रिलिङको काम भइरहेको बताए ।

गत मङ्सिर १६ गते नेपालकै इटेको आईसीजीएस कम्पनीसँग फलामका बारेमा अध्ययन गर्न सम्झौता भएको थियो । उक्त कम्पनीले खानीमा रहेको फलामको भण्डारणबारे धौवादी फलाम कम्पनीलाई प्रतिवेदन पेश गर्नेछ ।

सो प्रतिवेदन आएपछि तीन महिनाअघि चीनबाट आएको खानीबाट फलाम उत्पादन गर्न सकिने प्रतिवेदनलाई मिलाएर नयाँ प्रतिवेदन बन्नेछ । ती दुई प्रतिवेदनबाट नयाँ प्रतिवेदन तयार भएपछि खानीबाट व्यावसायिक उत्पादनको काम अगाडि बढ्नेछ ।

बास्कोटाले भने– हामीले खानीबाट फलाम उत्पादन गर्न सकिने प्रतिवेदन पाइसक्यौं । तर, व्यावसायिक रूपमा उत्पादन गर्न तीन वर्ष समय लाग्नेछ ।
सरकारी कम्पनी भएकाले यसका सबै कामहरू सार्वजनिक खरीद नियमावलीअन्तर्गत गर्नुपर्छ । नियम अनुसार सूचना निकाल्नुपर्ने र त्यहीअनुसार अगाडि बढ्नुपर्ने भएकाले व्यावसायिक उत्पादनका लागि तीन वर्ष समय लाग्ने बास्कोटाले बताए ।

प्रारम्भिक अध्ययनले खानीभित्र १० करोड टन फलाम भएको देखिएको छ । यसलाई प्रत्येक दिन १५०० टनका दरले उत्खनन गर्दा आगामी ४० वर्षलाई पुग्ने अध्ययनले बताएको छ ।

तर, ड्रिलिङ गरेर निकालिए त्योभन्दा कम वा बढी पनि देखाउन सक्छ । त्यसैले उक्त प्रतिवेदनले खानीभित्र धेरै फलाम रहेको देखाएको अवस्थामा व्यावसायिक रूपमा फलाम उत्पादन गर्न सकिनेछ । ड्रिलिङको प्रतिवेदनले व्यावसायिक

उत्पादनको सम्भावना देखाएपछि उत्पादन र उत्खननमा लाग्ने लागत, बिजुली र जनशक्तिलगायतको खर्च जोडेर सम्भाव्यता अध्ययन गरिन्छ ।

अध्ययन पछि खानीबाट उत्पादन गरिने फलाम भारतको भन्दा महँगो पर्ने वा भारतसँग प्रतिस्पर्धा गर्न सक्ने वा नसक्ने भन्ने जानकारी दिन्छ ।

धौवादी फलाम कम्पनीले दुई वटा उद्योग स्थापना गर्ने निर्णय गरेको छ । एउटा उद्योगले फलामको कच्चा पदार्थलाई प्रशोधन गरेर ३६ प्रतिशतबाट ५५ प्रतिशतमा पु¥याउने छ । ५५ प्रतिशत पु¥याएपछि त्यसलाई फलाम बनाउन नयाँ कारखाना खुल्ने निर्देशक बास्कोटाले बताए ।

धौवादीमा भेटिएको खानीमा जम्मा ३६ प्रतिशत फलाम पाइएको छ । औद्योगिक रूपमा फलाम उत्पादन गर्न कम्तीमा ५५ प्रतिशत फलाम हुनुपर्छ ।

त्यसैले धौवादी फलाम कम्पनीले दुई वटा उद्योग स्थापना गर्ने निर्णय गरेको छ । एउटा उद्योगले फलामको कच्चा पदार्थलाई प्रशोधन गरेर ३६ प्रतिशतबाट ५५ प्रतिशतमा पु¥याउने छ । ५५ प्रतिशत पु¥याएपछि त्यसलाई फलाम बनाउन अर्को कारखाना खोल्नुपर्नेछ ।

सम्भाव्यता अध्ययनको प्रतिवेदन आएपछि खानीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुनेछ । त्यसपछि व्यावसायिक रूपमा फलामको उत्पादन शुरू हुने बास्कोटाले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर