पोखरा महानगरको आठौं नगरसभा सुरु – Nepal Press

पोखरा महानगरको आठौं नगरसभा सुरु

५ वटा नयाँ विधेयक पेश, १७ वटा संसोधनको प्रस्ताव

पोखरा । पोखरा महानगरको आठौं नगर सभा (विधान) सभा आइतबारदेखि सुरु भएको छ । पोखरा सभागृहमा सुरु भएको नगर सभामा विभिन्न विधेयक, ऐन, कार्यविधि तथा नियमावलीहरु पारित र संसोधनका लागि पेश गरिएका छन् ।

नगर सभा माघ २७ गतेसम्म चल्ने पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए । नगर सभामा ५ वटा नयाँ ऐन पारितका लागि, १७ ऐन तथा नियमावली संसोधनका लागि पेश गरिएको उनले जानकारी दिए ।

सभामा गत असारको नगर सभाबाट पारित वार्षिक बजेट परिमार्जन गर्ने सम्वन्धी, अस्थायी, करार, सेवा करार, ज्यालादारी कर्मचारीको अवकाश सुविधा सम्वन्धी विशेष प्रस्तावहरु महानगर उपप्रमुख एवं राजस्व परामर्श समिति सयोजक मञ्जुदेवी गुरुङले प्रस्तुत गरेकी थिइन् ।

महानगर विधेयक भने महानगर विद्यायन समितिका संयोजक शोभामोहन पौडेलले गरे । नगर सभामा विभिन्न ऐन तथा कार्यविधिसमेत संसोधनका लागि प्रस्ताव हुनेछन् ।

उनले कृषि ऐन २०७७, पोखरा महानगर पुर्वाधार विकास निगम ऐन २०७७, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७, पर्यटन ऐन २०७७ र विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन २०७७, गैर सरकारी संस्था सम्वन्धी विधेयक २०७७ नगरसभामा प्रस्तुत गरे ।

पोखरा महानगरको आर्थिक कार्यविधि ऐन २०७५ (पहिलो संसोधन विधेयक), गण्डकी बहुप्राविधिक शिक्षालय ऐन २०७६ (पहिलो संसोधन विधेयक), कर तथा गैरकर राजश्व सम्बन्धि ऐन २०७७ (पहिलो संसोधन विधेयक), पोखरा महानगरपालिका खेलकुद विकास ऐन २०७५ (पहिलो संसोधन विधेयक), सार्वजनिक निजि साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४ (दोस्रो संसोधन विधेयक) र पोखरा महानगरपालिकाको पुर्वाधार विकासलाई व्यवस्था गर्न बनेको ऐन २०७५ (पहिलो संसोधन विधेयक) पनि पेश गरिएको छ ।

त्यस्तै, कृषि व्यवसाय प्रवद्र्धन ऐन २०७४ (पहिलो संसोधन विधेयक), पोखरा महानगरपालिका सहकारी ऐन २०७५ (पहिलो संसोधन विधेयक), पोखरा महानगरपालिका सुशासन ऐन २०७५ (पहिलो संसोधन विधेयक), नगरप्रहरी ऐन २०७५ (पहिलो संसोधन विधेयक), पोखरा महानगरपालिका फोहोरमैला व्यवस्थापन ऐन २०७४ (पहिलो संसोधन विधेयक), पोखरा महानगरपालिका बालबालिकाको अधिकार व्यवस्थित गर्न बनेको ऐन (२०७४ पहिलो संसोधन),पोखरा महानगरपालिकाको न्यायिक समिति ऐन २०७४ (दोस्रो संसोधन) पनि नगरसभामा पेश गरिएको छ ।

आठौं नगर सभामा कार्य विभाजन नियमावली (पहिलो संसोधन), कार्यसम्पादन नियमावली (पहिलो संसोधन), नगर कार्यपालिका निर्णय आदेश र अधिकार पत्रको प्रमाणीकरण नियमावली (पहिलो संसोधन) र शहरी योजना आयोग नियमावली (दोस्रो संसोधन) पनि संसोधनका लागि संयोजक पौडेलले पेश गरे । पेश भएका प्रस्तावमाथि सोमबारबाट छलफल चल्ने छ ।

आठौं नगर सभा सुरुआत गर्दै पोखरा महानगर प्रमुख मानबहादुर जिसीले महानगरलाई आवश्यक ऐन तथा नियमहरु बनाउँदै अघि बढिरहेको सुनाए । उनले पोखरालाई उत्कृष्ट महानगरका रुपमा विकास गर्न आवश्यक ऐन तथा विधानहरु पेश गरिएको र ती आवश्यकता बमोजिम नै संसोधन हुँदै जानेसमेत बताए ।

सभामा नेपाली कांग्रेसका तर्फबाट सचेतक रामराज लामिछानेले विधि, विधान र ऐनमात्रै बनाएरमात्रै नहुने र त्यसलाई कार्यान्वयनतर्फ पनि लैजानुपर्ने बताए । उनले भने, ‘नीति, नियमहरु कागजमात्रै सीमित गरिनुहुँदैन । यसलाई कानुनी रुपमै कार्यान्वयनमा लैजान सबैले सोच्न जरुरी छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर