आबुधावी टी-१० मा नेपाली खेलाडीः करण फ्लप, सोमपाल सामान्य, कुशल अभागी – Nepal Press

आबुधावी टी-१० मा नेपाली खेलाडीः करण फ्लप, सोमपाल सामान्य, कुशल अभागी

काठमाडौं । सन्दीप लामिछानेको पदचिन्ह पछ्याउँदै चार नेपाली क्रिकेटर यूएईमा हुने आबुधावी टी-१० को चौथो संस्करणका लागि छनोट भएका थिए । तर, प्रदर्शनका हिसाबले भने उनीहरूले सन्दीपको अनुसरण गर्न सकेनन् ।

चार वर्षअघि शुरू भएको छोटो ढाँचाको प्रतियोगितामा नेपालबाट पूर्वकप्तान पारस खड्का मेन्टरका रूपमा छानिएका थिए । बलरद्वय सोमपाल कामी र करण केसी तथा अलराउन्डर कुशल मल्ल भने खेलाडीका रूपमा फरक-फरक टिममा आवद्ध थिए । सोमपाल र करणले प्रतियोगितामा प्रशस्त अवसर पाए पनि छाप छोड्न सकेनन् । कुशलले भने अन्तिम एक खेलमा मात्रै ब्याट समात्ने मौका पाए र आफ्नो क्षमताको अलिकति छनक दिए ।

यो प्रतियोगितामा दोस्रोपटक छानिएका सोमपालले मराठा अरबियन्सबाट खेलेका थिए भने कुशल मल्ल टिम आबुधावीमा आवद्ध थिए । यसैगरी, करण केसीलाई पुने डेभिल्सले किनेको थियो । पारस भने टिम आबुधावीका मेन्टर हुन् । सोमपालको मराठा र किरणको पुने अंकतालिमामा सबैभन्दा पुछारमा रहेका छन् । कुशलका टिम आबुधावी भने तेस्रो बनेको छ ।

यस प्रतियोगितामा कहलिएका क्रिकेट सुपरस्टारहरू न्यून संख्यामा छन् । तथापि, टेस्ट क्रिकेट र एक दिवसीय अन्तर्राष्ट्रियको पर्याप्त अनुभव भएका धेरै खेलाडीहरू छन् । खासगरि, पाकिस्तान, वेस्ट इन्डिज र अफगानिस्तानका क्रिकटरहरूको प्रतियोगितामा बाहुल्य छ । अन्य देशका हाई प्रोफाइल क्रिकेटर न्यून छन् ।

पाकिस्तानका शाहिद अफ्रिदी, शोयब मल्लिक, मोहम्मद हाफिज, मोहम्मद आमिरजस्ता अनुभवि खेलाडी यो प्रतियोगिताका हिस्सा हुन् । वेस्ट इन्डिजका क्रिस गेल, किरन पोलार्ड, सुनिल नारिन, एन्ड्रे रसेल, लेन्डी सिमोन्स, निकोलस पुरनजस्ता खेलाडी छन् । यस्तै, अन्य चर्चित खेलाडीमा वेस्ट अजन्ता मेन्डिस (श्रीलंका), इमरान ताहिर (साउथ अफ्रिका), थिसरा परेरा (श्रीलंका), एलेक्स हेल्स (ईंग्ल्यान्ड), चामरा कुपुगेडरा (श्रीलंका), रोहन मुस्तफा (यूएई), रवी वोपारा (ईंग्ल्यान्ड) मुजिब उर रहमान (अफगानिस्तान) लगायत छन् ।

प्रतियोगितामा सहभागी कुल आठ टिमलाई दुईवटा समूहमा बाँडेर खेलाइएको थियो । समूह एमा नर्थर्न वारियर्स, दिल्ली बुल्स, बंगला टाइगर्स र मराठा अरबियन्स थिए । यस्तै, समूह बीमा क्वालन्डर्स, टिम आबुधावी, डेक्कन ग्लाडियटर्स र पुने डेभिल्स थिए ।

नेपाली युवा खेलाडीहरूका लागि यी टेस्ट क्रिकेटका समेत अनुभवि खेलाडीहरूसँग ड्रेसिङ रुम सेयर गर्ने अवसर मिल्नु पनि ठूलो कुरा थियो । उनीहरूको अन फिल्ड पर्फमेन्स चाहिँ कस्तो रह्यो त ?

कुशलः केवल एक म्याचमा मौका

युवा अलराउन्डर कुशल मल्ल यो प्रतियागितामा अधिकांश समय बेन्चमै बिताए । तेस्रो स्थानका हिजो बेलुकी भएको खेलमा उनी पहिलोपटक प्लेइङ ११ मा परे ।

क्वालन्डर्सविरुद्धको खेलमा टिम आवुधावीले पहिले ब्याटिङ गरेको थियो, जसमा कुशललाई तेस्रो नम्बरमा नै ब्याटिङ गर्न पठाइएको थियो । पल स्टर्लिङ र लियोनार्डो जुनियरले विस्फोटक सुरुवात गर्दै २.२ ओभरमा ३३ रन जोडेका थिए । पल आउट भएपछि आएका कुशलले टिमको गतिलाई निरन्तरता दिन सफल भए । एक छक्का र एक चौकाका साथ उनले १२ बलमा १८ रन बनाए । मोहम्मद जाहिदको बललाई ड्राइभ गर्न खोज्दा उनी बोल्ड हुन पुगे ।

कुशलको टिमले १० ओभरमा १ सय २४ रनको बलियो योगफल खडा गर्यो । अफगानी ब्याट्सम्यान नजिबुल्लाह जद्रानले १६ बलमै ४५ रन बनाएका थिए । जवाफी ब्याटिङमा आएको क्वालन्डर्स ५ विकेट क्षतिमा एक सय ३ रन मात्रै जोड्न सक्यो । कुशलले बलिङमा भने परीक्षण हुन पाएनन् ।

सोमपाल : ८ ओभरमा १ सय १५ रन, ३ विकेट

सोमपाल कामी यो प्रतियोगितामा भाग्यमानी यस अर्थमा सावित भए कि सिजनको पहिलो बल नै उनले फ्याँक्ने अवसर पाए । तर, प्रतियोगिताभर उनको प्रदर्शन समग्रमा कमजोर रह्यो । ६ वटा म्याचमा अवसर पाएका उनले एउटा म्याचमा मात्रै उल्लेखनीय प्रदर्शन गर्न सके ।

पहिलो म्याचमा सोमपालले दुई ओभर बलिङ गर्दै २८ रन दिए, तर कुनै विकेट लिन सकेनन् । दोस्रामा उनले एक ओभर मात्र बलिङ गर्दै १७ रन खर्चिए, बिना कुनै विकेट । तेस्रो म्याचमा पनि उनी विकेटको खोजीमै रहे । एक ओभरमा १२ रन खर्चिँदा विकेट लिन सकेनन् ।

चौंथो म्याचमा पहिलोपटक सोमपालले एक विकेट लिए, १९ रन खर्चेर । उनले क्वालन्डर्सका कप्तान सोहेल अख्तरलाई आउट गरेका थिए । पाँचौ म्याचमा सोमपाल अत्यन्त खर्चिला बने । उनले एक ओभरमा बिना कुनै विकेट २७ रन खर्चिए । उनीमाथि टिम आबुधावीका क्रिस गेलले छक्काको वर्षात गरेका थिए । गेलले केवल २२ बलमा ८४ रनको अद्भूत पारी खेलेको म्याच थियो त्यो ।

छैटौं म्याचमा भने सोमपालले उत्कृष्ट कमब्याक गरे । दुई ओभर बलिङ गर्दा १२ रन मात्रै खर्चेर उनले २ विकेट लिए । पहिलो ओभरमै उनले २ विकेट लिएका थिए भने दुई रन मात्रै खर्चेका थिए । यही म्याचले प्रतियोगितामा सोमपालको लाज ढाक्यो । सुपरलिगको अंकतालिकामा पुछारतिर परेपछि मराठा क्वालिफायरमा उक्लिन सकेन सोमपालको यात्रा पनि यहीँ टुंगियो । उनले समग्रमा ६ म्याचमा ८ ओभर बलिङ गर्दै ३ विकेट लिँदा १ सय १५ रन खर्चिएका छन् । उनको प्रदर्शन औसतभन्दा तलको हो ।

करणः ५ ओभरमा ८० रन, १ विकेट

प्रतियोगितामा अर्का नेपाली बलर करण केसीको प्रदर्शन दयनीय रह्यो । एउटा म्याचमा प्राप्त भएको क्रिस गेलको विकेट बाहेका उनका लागि सम्झिनलायक केही भएन ।

करणले पहिलो म्याचमा एक ओभर बलिङ गर्दै १७ रन खर्चिए । दोस्रोमा ९ रन मात्र खर्चिएर इकोनोमी सुधार गरे, तर विकेट लिन सकेनन् । तेस्रो म्याचमा एक ओभर बलिङ गर्दै १८ खचिए र पहिलोपटक विकेट लिए । उनले क्रिस गेललाई बोल्ड गरेका थिए । चौंथोमा उनले एक ओभरमा १७ रन खर्चिए र विकेट लिन सकेनन् । पाचौंमा उनले बलिङको अवसर नै पाएनन् । बरु ब्याट समात्न पाए । सातौं नम्बरमा ब्याटिङ गर्न आएका करण पहिलो बलमै आउट भए । छैटौं म्याचमा उनी ब्याटिङ र बलिङ दुवैमा फ्लप भए । उनले एक ओभर बलिङ गर्दै बिनाविकेट १९ रन खर्चिए । ब्याटिङमा झन् दयनीय देखिएका उनले ९ बल खेलेर ३ रन मात्रै जोडी आउट भए ।

समग्रमा करणले प्रतियोगितामा पाँच ओभर बलिङ गर्दै ८० रन खर्चिएका छन् र केवल एक विकेट हात पारेका छन् । ब्याटिमा १० बलको सामना गर्दै तीन रन मात्रै जोडेका छन् । ब्याट र बल दुवैबाट उनले कुनै प्रभाव पार्न सकेनन् ।

समग्रमा आबुधावी टी-१० मा नेपाली खेलाडीहरू जुन उत्साह बोकेर गएका थिए, त्यसअनुसार प्रदर्शन गर्न चुकेका छन् । यद्यपि, यो अनुभवले आगामी दिनमा राष्ट्रिय टिमबाट खेल्दा सहयोग गर्न सक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर