महावुमा टेलिमेडिसिन सेवा सुरु भएपछि स्थानीय खुसी – Nepal Press

महावुमा टेलिमेडिसिन सेवा सुरु भएपछि स्थानीय खुसी

सुर्खेत । दैलेखको महावु गाउँपालिकामा टेलिमेडिसिन सेवा सञ्चालनमा आएको छ । लामो समयसम्म विज्ञापन गरे पनि विशेषज्ञ एमविविएस डाक्टर नपाएको गाउँपालिकामा प्रदेश अस्पताल कालागाउँ सुर्खेतका वालरोग विशेषज्ञ डा.नवराज केसीको आवागमन भएपछि शनिबारदेखि महावु अस्पतालमा टेलिमेडिसिन सेवा सञ्चालनमा आएको हो ।

गाउँपालिकाका अध्यक्ष जंग बहादुर शाहीको स्वास्थ्य परिक्षण गरेर डा.केसीले उक्त सेवाको सुभारम्भ गरेका हुन् । ‘लामो समयदेखि महावु अस्पतालका लागि डाक्टर खोज्नु भएको रहेछ । मिडियामा डाक्टर नपाइएको भन्दै समाचार सार्वजनिक भएपछि म त्यहाँ गएको हुँ ।’ नेपालप्रेससँग कुरा गर्दै डा. केसीले भने,

‘यहाँका नागरिकको सर्वसुलभ उपचार गर्ने सपना पुरा गर्न म महावु आएको हुँ ।’ उनले टेलिमेडिसिनमार्फत प्रदेश अस्पताल कालागाउँका फिजिसियन डा.प्रदिप न्यौपानेमार्फत अध्यक्ष शाहीको स्वास्थ्य जाँच गराएका थिए ।

डाक्टर पाउँदा स्थानीय खुसी
महावुमा नै विशेषज्ञ डाकटरबाट उपचार पाइने भएपछि स्थानीय खुशी भएका छन् । एचएको सेवा पाइरहेका नागरिकले विशेषज्ञ डाक्टरसँग निःशुल्क स्वास्थ्य जाँच गराउन पाउनु खुसीको कुरा भएको महावु गाउँपालिका वडा नम्बर ४ का कमल शाहीले प्रतिक्रिया दिए ।

‘यहाँ एचए वा सिएमए गरेका स्वास्थ्यकर्मीबाट सेवा लिनुपर्नें अवस्था थियो ।’ उनले भने, ‘डाक्टरले भिडियो हेरेर औषधी दिने रहेछन् । त्यसले हामीलाई सारै खुसी बनाएको छ ।’

गाउँमा नै विशेषज्ञसहितको टेलिमेडिसिन सेवा सुरु भएपछि अनावश्यक खर्च पनि कम हुने स्थानीय नन्द सुनारले बताए । ‘मेरो शरिर दुखिरहेको थियो । आज डाक्टरसँग आफ्नै गाउँमा भिडियो हेरेर स्वास्थ्य जाँच गर्न पाउँदा भाग्यमानी ठानेको छु ।’

७७ वर्षका सुनारले भने, ‘अब गाउँबाट उपचार गर्न गरिब नागरिकलाई सजिलो हुने मैले महसुस गरेको छु । यस्तो सेवा सुरु गर्ने गाउँपालिकालाई धन्यवाद छ ।’

अब डाक्टर आउँछन्ः गाउपालिका अध्यक्ष शाही
गाउँपालिकाका अध्यक्ष जंग बहादुर शाहीले अबको केहि दिनमा नै महावु अस्पतालमा डाक्टर आउने बताए । ‘सुरुमा हामीले डाक्टर पाएका थिएनौं । अहिले धेरै डाक्टरले रुची देखाउनु भएको छ ।’ उनले भने,
‘अबको केहि दिनमा नै डाक्टर पनि हामी ल्याउँछौं । यहाँका नागरिकलाई रोगबाट मर्न नदिने गरी योजना बनाइरहेका छौं ।’

६ करोडको लागतमा अस्पतालको भवन बनाइरहेको बताउँदै अध्यक्ष शाहीले केहि दिन भित्रै थप ९ करोडको भवन निर्माणका लागि टेण्डर सुरु हुने जानकारी दिए । उनले अस्पतालबाट टेलिमेडिसिन सेवा पनि निरन्तर दिने र डाक्टरबाट पनि सेवा दिने गरी आफूहरु अघि बढेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर