१६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि होराइजनको पोल्टामा – Nepal Press

१६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि होराइजनको पोल्टामा

रुपन्देही । सुपर ओभरमा धनगढी क्रिकेट एकेडेमीलाई ८ रनले पराजित गर्दै न्यू होराइजन क्रिकेट एकेडेमीले १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

रुपन्देहीको भैरहवामा सम्पन्न तेस्रो खड्गप्रसाद गौचन मेमोरियल १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा होराइजनले जितसँगै २० हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गर्न सफल भएको हो । उपविजेता धनगढीले भने १० हजार रुपैयाँ र ट्रफीमै चित्त बुझाएको छ ।

प्रतियोगितामा म्यान अफ द सिरिज र बेष्ट ब्याट्सम्यान धनगढीका कप्तान नरेन भट्ट घोषित भए भने धनगढीकै रजत राना उत्कृष्ट बलर भई पुरस्कृत भए ।

सिद्धार्थ रंगशालामा आज भएको फाइनलमा टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धारित ३५ ओभरमा ७ विकेट क्षतिमा १ स य ४८ रन बनायो । उसका लागि पुष्पराज उपाध्यायले ३९, सचिन साउदले ३३ र खगेन्द्र कुँवरले २७ रन बनाए । बलिङमा होराइजनका सुमित पराजुलीले ३, अनिल थापाले २ र समिर खाँनले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको होराइजनले ३४ ओभर ४ बलमा सबै विकेट गुमाई १ सय ४८ नै बनायो । उसका लागि राहुल भण्डारीले २९, सुमित पराजुलीले १८ र सचिन थापाले १० रन बनाए ।

बलिङमा धनगढीका संदीप विष्ट र रजत रानाले समान ३–३ विकेट लिए । सुपर ओभरमा होराइजनले १ विकेटको क्षतिमा १२ रन बनाएको थियो । धनगढीले भने १ विकेट क्षतिमा ४ रन मात्रै बनाउन सक्यो । होराइजनका सुमित पराजुली म्यान अफ द फाइनल भई पुरस्कृत भए ।

विजेतालाई प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रक मल्ल र रामकुमारी गौचनलगायतले पुरस्कार प्रदान गरे । पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनको स्टार क्रिकेट एकेडेमीको आयोजनामा प्रतियोगिता भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर