सामाजिक सञ्जालमा गाली, आमसभामा ताली – Nepal Press

सामाजिक सञ्जालमा गाली, आमसभामा ताली

काठमाडौं । राजनीतिक दल र नेताहरूप्रति देशवासीमा चरम वितृष्णा छ भन्ने गरिन्छ । चियागफदेखि सामाजिक सञ्जालका टिप्पणीहरू हेर्दा त्यस्तै देखिन्छ पनि ।

‘नेताहरू खत्तम भए’, ‘नेताहरूले देश बिगारे’, ‘सबै नेतालाई जेल हाल्नुपर्छ’ भन्ने जस्ता अभिव्यक्ति धेरैको मुखबाट सुनिन्छ । तर, विरोधाभास त्यतिबेला महसूस हुन्छ, जब तिनै राजनीतिक दल र नेताको भाषण सुन्न हजारौं जनता भेला हुन्छन् । नेताका बोलीमा हुटिङ गर्छन् र ताली पिट्छन् । अनि घर फर्केर सामाजिक सञ्जालमा फेरि नेतालाई गाली गर्छन् ।

गत भदौमा देशका विभिन्न शहरमा ‘राजा आऊ देश बचाऊ’ भन्दै आन्दोलन शुरू भयो । आन्दोलन देशव्यापी बन्दै जाँदा त्यसमा जनताको राम्रै आकर्षण देखिएको थियो । स्वस्फूर्तरूपमा जनता आन्दोलनमा सहभागी भएको भन्दै आयोजकले जुँगा मुसारे । तटस्थ विश्लेषकहरूले पनि अब देशमा राजतन्त्र फर्काउन माहोल बन्न थालेको विश्लेषण गरे । तर, त्यो आन्दोलन यत्तिकै मत्थर भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् संसद विघटन गरेपछि सडक तताउने अभिभारा बोकेका छन् नेपाल कम्युनिष्ट पार्टीका विभाजित दुई समूहले । काठमाडौं र देशका विभिन्न भागमा उनीहरूले शक्तिप्रदर्शनको होड गरिरहेका छन् । र, दुवैले आयोजना गरेका आमसभाहरूमा जनताको उपस्थिति बाक्लो नै छ । दुवै पक्षले आफ्नो आमसभामा धेरै मान्छे आएको दाबी गर्दै आएका छन् ।

यता प्रतिपक्षी नेपाली कांग्रेस पनि सडकमै छ । सशक्त रूपमा नभए पनि उसले संसद विघटनको विरोधमा आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिई नै रहेको छ । अनि, कांग्रेसका कार्यक्रमहरूमा पनि उपस्थिति कमजोर देखिंदैन ।
त्यसो त करिब दुई वर्षअघि (२०७५ मंसिर ८) मा विप्लव समूहले भृकुटीमण्डपमा गरेको आमसभामा पनि अटाइनसक्नुको भीड थियो । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले सम्बोधन गरेको सभामा हजारौं मान्छे उपस्थित थिए । त्यो भीड देख्दा विप्लव समूह ठूलै शक्ति बनिसकेको भान हुन्थ्यो ।

यसरी जसले आयोजना गरेका कार्यक्रममा पनि भीड देखिएपछि जनता वास्तवमा कसको पक्षमा छन् भन्ने निष्कर्ष निकाल्नै अलमल परेको अवस्था छ । देशको राजनीतिप्रति चरम वितृष्णा बोकेर पनि जनता किन दलहरूको झण्डा बोकेर हिंडिरहेका छन् त ? कारण खोतलौं ।

कसरी जम्मा हुन्छ भीड ?

ठूला पार्टीको संगठन देशव्यापी फैलिएको हुन्छ । नेकपा र नेपाली कांग्रेससँग लाखौंको संख्यामा संगठित कार्यकर्ता छन् । उनीहरूले आयोजना गर्ने ठूला कार्यक्रममा जम्मा हुने भीडको पहिलो लेयरमा यिनै कार्यकर्ता हुन्छन् ।

जब पार्टीले ठूलो महत्वका साथ आमसभा गर्छ, त्यसको व्यापक प्रचारप्रसार गरिन्छ । अनि केन्द्रबाट भ्रातृ संगठनदेखि तल्ला कमिटीहरूसम्म सर्कुलर हुन्छ, एउटा कमिटीले यति मान्छे ल्याउनैपर्ने । केन्द्रबाट सर्कुलर आएपछि भ्रातृ संगठन र कमिटीहरू चलायमान हुन्छन् । अनि पार्टीप्रति सहानुभूति राख्ने दोस्रो लेयरका मानिसलाई उनीहरूले डाक्छन् । कमिटीहरूबीच आपसी प्रतिस्पर्धा पनि हुन्छ, कसले धेरै ल्याउने भन्नेमा ।

पार्टीले अत्यधिक महत्व दिएर आयोजना गरिएका सभाहरूमा छेउछाउका जिल्लाहरूबाट पनि मान्छे ओसारिन्छन् । यसरी मान्छे ल्याउने क्रममा बसको प्रबन्ध गर्नेदेखि उनीहरूलाई खुवाउने-पिलाउने व्यवस्था पनि गरिएको हुन्छ । मोटरबाइकमा आउनेहरूलाई पेट्रोल पनि । काठमाडौंमा आयोजना हुने सभामा अघिल्लै दिनबाट मान्छे ओसारिन्छ । उनीहरूलाई एकरात होटलमा पनि राखिन्छ ।

देशमा बेरोजगारहरूको समूह सानो छैन । काठमाडौं गएर एक रात खान–बस्न पाइने, घुमघाम पनि हुने भएपछि मानिसहरू तयार नहुने कुरै भएन । गाउँगाउँबाट मानिसहरू खुशी भएर आउँछन् । अनि भीड जम्मा नहुने प्रश्नै आएन । यसरी जम्मा हुने भीडले नेताको भाषणमा ताली पिट्न र सिट्ठी बजाउन कुनै कञ्जुस्याइँ गर्दैन ।

विश्लेषक तथा लेखक हरि रोका कुनै पनि आमसभामा सम्बन्धित पार्टीको समर्थन वा पक्ष लिएर जाने नागरिकहरूको संख्या न्यून हुने बताउँछन् । पार्टीको आकर्षणले भन्दा रमिता हेर्नको लागि जानेहरू प्रशस्त हुने उनको तर्क छ ।
‘मान्छेहरू बुझ्ने क्रममा छन् । किन के भइरहेको छ, कता के भइरहेको छ त्यो सुन्नलाई जान्छन् । त्यो बुझ्नको लागि पनि जान्छन्’ उनी भन्छन्, ‘कोही जाऊँ भनेर भन्नेहरूलाई टार्न नसक्ने पनि हुन्छन् । कतिलाई त पशुपतिको जात्रा सिद्राको व्यापार भनेजस्तो हुन्छ ।’

यसरी जम्मा भएको भीडले कुनै पनि पार्टीको शक्ति परीक्षण नहुने उनको भनाइ छ । रोका भन्छन्, ‘यस्तो प्रदर्शन वा सभाले पार्टीको शक्ति कति भन्ने थाहा हुँदैन । यसले ठूलो प्रभाव वा असर केही पर्दैन ।’
अहिले सत्ता पक्षले बोलाइरहेको सभामा पनि पार्टीका कार्यकर्ताभन्दा बढी अरू नै मान्छे जाने उनको अनुमान छ ।

समाजशास्त्री डा. बिन्दु पोखरेल सभा वा प्रदर्शनमा विभिन्न उद्देश्यले मानिस जाने बताउँछिन् । उनी भन्छिन्, ‘सबै मानिस आ–आफ्नै रुचि र उद्देश्यले गएका हुन्छन् । जाँदैमा समर्थक हुन्छन् भन्ने होइन ।’

कुरा नबुझी भीडमा सामेल

प्रचण्ड–माधव पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध पुस १४ गते बृहत् आमसभा गर्‍यो । आमसभामा देशभरबाट हजारौंको संख्यामा मानिस काठमाडौं आएका थिए । शक्ति प्रदर्शनको क्रममा काठमाडौंका विभिन्न ठाउँमा जुलुस निकालिए । निकैबेर सवारीहरूले जाम खेप्नुपर्‍यो ।

त्यही जुलुसमा दिनभर उभिएकी काठमाडौंकी ४० वर्षीया माया दुलालसँग आफू जुलुसमा किन गएको भन्ने प्रश्नको जवाफ थिएन । आन्दोलनको माग के हो भन्ने उनलाई मेसै भएन । ‘चिनेका एकजना नेताले आउनुपर्छ भन्नुभयो । उहाँले आग्रह गरेपछि गइदिऊँ न त भनेर गएँ’, मायाले भनिन् ।

प्रचण्ड–माधव समूह मात्र हैन अन्य पार्टीले पनि प्रदर्शन वा आमसभा गर्दा धेरै संख्यामा यस्ता मानिस आउँछन्, जसलाई आन्दोलनको माग नै थाहा हुन्न । पूर्वमन्त्री तथा नेकपा माधव–प्रचण्ड समूहका स्थायी कमिटी सदस्य गणेश साह यसरी गरिने आमसभा तथा प्रदर्शनमा ४० प्रतिशत मानिस कुरा नबुझी आउने बताउँछन् ।

उनी भन्छन्, ‘यस्तोमा ६० प्रतिशत मात्र बुझेर आएका हुन्छन् । ४० प्रतिशत रमाइलो हेर्न आउँछन् । १० प्रतिशत जति पार्टीका मान्छेले बोलाएको भरमा गएका हुन्छन् ।’पार्टीको तलसम्म सम्पर्क हुने भएकाले त्यही अनुसार कार्यकर्ताहरू प्रदर्शनमा जोडिने साहको भनाइ छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल सभाहरूमा मानिसको उपस्थिति देखिनु स्वाभाविक ठान्छन् । जुन पार्टीले कार्यक्रम गर्छ त्यस पार्टीका कार्यकर्ताको उपस्थितिले सभामा भीड देखिने उनले बताए । अहिले प्रतिपक्ष पार्टीहरूले सत्ताको विरोधमा गरेको प्रदर्शनमा राजनीतिक कार्यकर्ता मात्र नभई साधारण मानिस पनि मिसिएको उनको दाबी छ ।

‘अहिले ओलीले असंवैधानिक कदम चालेका छन् । त्यसको विरोध गर्ने कम्युनिष्ट पार्टीका सदस्यबाहेक अरू पनि त आउन सक्छन् नि ! त्यसैले धेरै देखिनु स्वाभाविक हो’, पौडेल भन्छन् ।

अहिले नयाँ पुस्ताको राजनीतिप्रति निराशा जागेको पौडेल स्वीकार्छन् । ‘निराश हुनुको कारण राजनीति परिणाममुखी हुन सकेन । यो सत्य हो । यही निराशा पोख्नका लागि पनि जनता सडकमा ओर्लिएका छन्’, पौडेल भन्छन् । उनले थपे, ‘कोही निराश भएर घरभित्र बस्छ कोही यसको विरुद्ध सडकमा आउँछ । सक्रिय सहभागिता जनाएका कारण मानिस सडकमा देखिन्छन् । त्यो पनि एक खालको निराशा हो ।’

पुरानै सिलसिला

सडकमा जनता उतार्ने पार्टीहरूको प्रतिस्पर्धा वर्षौंदेखि चलिरहेको छ । ४६ सालमा प्रजातन्त्र आएर दलीय राजनीति फुकुवा भएसँगै यसरी भीड जुटाउने प्रतिस्पर्धा शुरू भएको हो । खासगरी चुनाव नजिकिएको समयमा यो प्रतिस्पर्धा उत्कर्षमा पुग्छ ।

२०४६ सालयता सबैभन्दा बढी भीड जुटाउनेमा तत्कालीन एमाले थियो । त्यस पार्टीका महासचिव मदन भण्डारी प्रखर भाषणका लागि पोख्त थिए । मदन भण्डारीको भाषण सुन्न स्वस्फूर्त रूपमा टाढा–टाढादेखि मानिसरू आउँथे । कांग्रेसभित्र भने त्यस्ता तिलस्मी वक्ता थिएनन् । कांग्रेसका शीर्ष नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला तीनैजना भाषणमा खासै पोख्त थिएनन् । पार्टी पनि एमालेजस्तो व्यवस्थित थिएन । त्यसैले भीड जुटाउनेमा कांग्रेस एमालेभन्दा पछाडि नै हुन्थ्यो ।

त्यसबेला देशमा प्रजातन्त्र आएपछि केही हुन्छ कि भन्ने आशा पनि थियो । जेलनेल भोगेर आएका प्रजातन्त्रवादी नेताहरूप्रति आकर्षण थियो । तर, बिस्तारै नेताहरूको आकर्षण हराउँदै गयो । मदन भण्डारीको निधनपछि एमाले पनि बुर्जुवा पार्टीमा परिणत हुँदै गयो । पार्टीभित्र भाषणले नै मान्छेलाई तताउने खालका नेता देखिएनन् ।

पछिल्लो समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको भाषणमा आकर्षण छ । उनको भाषणले भीडलाई तताउने भन्दा पनि हँसाउने काम गर्छ । ‘ओलीबाले हँसाउँछन्’ भन्दै पार्टीका कार्यकर्ता उनको भाषण सुन्न उत्साहपूर्वक पुग्छन् । ओलीका विरोधीहरू पनि उनको भाषण सकभर छुटाउँदैनन् ।

यसैगरी, पछिल्लो समय कांग्रेसका युवा नेता गगन थापा भाषणका लागि चर्चित छन् । उनले भाषण गर्ने भनेपछि कांग्रेसका कार्यकर्ता स्वतः आकर्षित हुन्छन् । त्यसो त पार्टीको कुन तहको नेता बोल्दैछ भन्ने आधारमा पनि भीडको आकार तय हुने विश्लेषक तथा नेताहरू बताउँछन् । प्रधानमन्त्री केपी ओली, माधव–प्रचण्ड समूहका प्रचण्ड, माधवकुमार नेपाल, नारायण काजी श्रेष्ठ वा झलनाथले सम्बोधन गर्ने कार्यक्रममा स्वाभाविक रूपमा भीड ठूलो हुने उनीहरूको भनाइ छ ।

कांग्रेस नेता पौडेल पार्टीले गरेको कार्यक्रममा पनि नेताको उपस्थितिको आधारमा सहभागी संख्या तय हुने बताउँछन् । नेकपा नेता साहको पनि यसमा स्वीकारोक्ति छ । ‘मान्छेहरू समर्थक भएर मात्र आउँदैनन् । कुनै नेताको भाषण सुन्नका लागि पनि कार्यक्रममा आउने गर्छन्’, साह भन्छन् ।

झुक्याएर पनि लगिन्छ

पूर्व सांसदसमेत रहेका लेखक नारायण ढकाल झुक्याएर आमसभामा सर्वसाधारणलाई लैजाने पार्टीहरूको प्रवृत्ति भएको बताउँछन् । पार्टीहरूमा भीड जम्मा गर्ने प्रतिस्पर्धा भएको हुँदा मान्छे जम्मा गर्न विभिन्न उपाय अपनाइने उनको तर्क छ ।

‘अहिले पार्टीहरूले समर्थक र समर्थकका परिवारहरूलाई लिएर आउने पनि चलन छ । तराईबाट लिएर आउनु छ भने कसैलाई चाहिं पशुपतिमा दर्शन गर्न जाऊँ भनेर कार्यक्रममा ल्याउने गरेका छन् । ल्याएपछि आउन–जानको भाडा र खाजाको व्यवस्था गरिदिने गर्छन् । यसरी नै जम्मा गराउने चलन छ’, ढकाल भन्छन् ।

यसो गर्दा एउटै अनुहार फरक–फरक पार्टीको प्रदर्शनमा समेत देखिने गरेको ढकालले बताए ।

‘कतिपयलाई पैसा दिएर पनि भीड जम्मा गर्न लगाइन्छ । यसरी जम्मा गर्ने क्रममा एउटै अनुहार सत्ता पक्षको सभामा पनि देखिन्छ, प्रतिपक्षको सभामा पनि’, उनी भन्छन् । सभामा वा प्रदर्शनमा बुझेर जाने मानिसको संख्या कम हुने ढकाल बताउँछन् । ‘सत्ता पक्षकै सभामा हेर्ने हो भने त्यहाँ बुझेर जाने कम हुन्छन् । त्यहाँ भक्ति गर्नेहरूको जमात धेरै देखिन्छ’, उनी बताउँछन् ।


प्रतिक्रिया

One thought on “सामाजिक सञ्जालमा गाली, आमसभामा ताली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर