कोरियाबाट फर्केर कालिजसँग रमाएका मनकाजी – Nepal Press

कोरियाबाट फर्केर कालिजसँग रमाएका मनकाजी

रूपन्देही । कोरियामा राम्रै पैसा कमाइरहेका बुटवलका मनकाजी थापाले कालिज पालेर यतै बस्ने योजना सुनाउँदा उनका परिवार तथा साथीभाइ कसैले पत्याएका थिएनन् ।

अझै पनि धेरै नेपाली रोजगारीको सम्भावना नदेखेर विदेश जान्छन् । नेपालमा सम्भावनाको खोजी नगरी विदेश जाने धेरै नेपालीले त्यहाँ पुगेपछि जोखिमयुक्त काम समेत गर्न पछि पर्दैनन् । सीमित धनका लागि ज्यानको बाजी थापेर विदेशमा नेपाली पसिनासँग धन साट्छन् । त्यस्तै मध्येका एक थिए, बुटवलका मनकाजी थापा ।

थापा धन कमाउन भनेर कोरिया पुगे । कोरियामा म्यानुफ्याक्चरिङ कम्पनीमा पाँच वर्ष काम गरेपछि नेपाल फर्किए । त्यसपछि उनलाई लाग्यो, ‘त्यहाँ गरिने जति दुःख नेपालमै गरे धन कमाउन गाह्रो छैन ।’ त्यसपछि मनकाजीले पुनः कोरिया जाने सोच्दै सोचेनन् । नेपालमै व्यावसायिक कालिज पालन गर्न तम्सिए ।

मनकाजी कालिज कसरी पालन गर्न सकिन्छ भनेर काठमाडौंहुँदै पोखरासम्म पुगे । त्यहाँ गरिएको पालनबारे जानकारी लिए । तर पोखरा र काठमाडौंको भन्दा बुटवलको हावापानी फरक भएकाले कालिज पालनमा व्यावसायिक सफलता मिल्दैन कि भन्ने चिन्ता भयो । तर पनि उनले हिम्मत हारेनन् ।

नेपालमा व्यावसायिक कालिज पालन शुरू भएको धेरै नभए पनि मनकाजीले तराईमै कालिज पाल्नका लागि ‘रिस्क’ उठाए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ अनुसार डाँफे, मुनाल, कालिजलगायतका वन–जंगलमा पाइने पक्षी पाल्न तथा शिकार गर्न प्रतिबन्ध गरिएको छ । त्यसका कारण मनकाजीले विदेशबाट अण्डा ल्याएर नेपालमै ह्याचरी गर्ने र चल्ला निकाल्ने योजना बनाए ।

विदेशमै रहेका एक जना दाजुको सहयोगमा मनकाजीले इटालीबाट २२०० अण्डा ल्याए । त्यसपछि उनले काठमाडौंमा ह्याचरिङ गरे । २२०० अण्डा ह्याचरिङ गर्दा १२०० मात्र चल्ला निस्किए । त्यही एक दिनको चल्ला काठमाडौंबाट बुटवल ल्याए ।

पाँच वर्ष कोरियामा रोजगारी गरेर फर्किएका मनकाजी अहिले बुटवल उपमहानगरपालिका वडा ११ रानीबारीमा साढे पाँच कट्ठा जमीनमा फार्म संचालन गरी कालिजको स्याहार गर्न व्यस्त छन् । १२०० चल्ला फार्ममा राखे पनि अहिले फार्ममा १ हजार ५० कालिज छन् । उनले विदेशबाट आयात गरिएको यो कालिज ‘रिङनेक’ जातको हो ।

उनको कालिज पालनलाई दाजुले पनि साथ दिएका छन् । कालिज पालन गरेकै फार्ममा विस्तारै बाख्रापालनको योजना पनि बनाउँदै गएका छन् ।

फार्म शुरू भएको ६ महिना मात्र पुग्दैछ । कालिज बजारमा लैजान तयार भइसकेका छन् । अहिले पनि फार्मबाट केही कालिज बिक्री भइरहेको मनकाजी बताउँछन् ।

‘रिस्क’ मा थालनी गरेको व्यवसाय राम्रो हुँदै गएपछि मनकाजी थप फार्म विस्तारको योजनामा छन् । ३५ लाखको लगानीमा शुरू भएको फार्ममा अहिले ५० लाख लगानी भइसकेको छ ।

‘तराईमा बढी गर्मी भएका कारण कालिजले केही असहज मान्ने हुँदा बिरुवा धेरै भएको ठाउँमुनि फार्म तयार गरें । यसो गर्दा तराईमा पनि सजिलै पाल्न सकिने रहेछ’, उनले अनुभव सुनाए ।

गुल्मीको शान्तिपुर चन्द्रकोटबाट १७ वर्ष पहिले बुटवल उपमहानगरपालिका–१९ रानीबारीमा बसाइँ सरेका मनकाजीले आफ्नै जमीनमा फार्म सञ्चालन गरेका छन् । १ हजार ५० कालिज हुर्काउँदै गरेका मनकाजीले कालिजका लागि आवश्यक घाँसको खेती पनि गर्ने योजना बनाएका छन् । मनकाजीका अनुसार घाँस कालिजले असाध्यै मन पराउँछ रे !

‘अहिले यिनलाई कुनै खास घाँस दिएका छौं । अब ४० प्रतिशत प्रोटिनयुक्त घाँस दिने योजनामा छौं’, उनले भने । उनले लुम्बिनी दाना उद्योगबाट उत्पादित प्रोटिनयुक्त दानासँगै कालिजलाई घाँस समेत खुवाएको बताए ।

कालिजको मासु रातो हुने, बोसोको मात्रा अत्यन्त कम हुने र प्रोटिनको मात्रा धेरै हुने भएकोले गर्भवती, सुत्केरी तथा बिरामीहरूलाई समेत स्वस्थकर र लाभदायक मानिन्छ । प्रतिगोटा ३५०० रुपैयाँसम्म पर्ने कालिज हाल रूपन्देही जिल्लाभित्रै बिक्री भइरहेको मनकाजीले बताए ।

कालिजबाहेक उनले बाख्रा र लोकल कुखुरा पनि पालेका छन् । कालिज उड्ने प्रजाति भएकाले स्पेस रहने गरी जाली लगाइदिएका छन् ।

कोरियामा सिकेको सीपको प्रयोग

पाँच वर्ष दक्षिणकोरिया बसेर फर्किएका सुरेश क्षेत्रीले थापालाई साथ दिएका छन् ।

स्वदेशमा नै केही गर्ने योजनासहित नेपाल आएका उनीहरूले नेपालमा कालिज पालन शुरू भएको थाहा पाएसँगै यसको विषयमा खोजी गर्न शुरू गरे ।

कोरियाबाट फर्किएपछि नेपालका विभिन्न स्थानका कालिज फार्मको अवलोकन र सञ्चालकहरूसँग प्राविधिक ज्ञान लिएर व्यवसाय सञ्चालन गर्ने निर्णय गरी कृषक एकीकृत वाइल्ड लाइफ फार्म प्रालि दर्ता गरे ।

‘थोरैधेरै आम्दानीकै लागि परिवारबाट टाढा जान मन लागेन धेरै बुझ्यौं र शुरु गर्ने योजना भयो’ उनी भन्छन्, ‘काठमाडौं, पोखरालगायत ठाउँका कालिज फार्म हेरेर सञ्चालकसँग प्राविधिक रूपमा सल्लाह लिएर शुरू गर्यौं ।’

यहाँ व्यावसायिक रूपमा काजिल पालन नगरेकाले अण्डा लिन युरोप पुग्नुपरेको सञ्चालक सुरेश क्षेत्रीले बताए ।

युरोपबाट अण्डा ल्याएर काठमाडौंमा ह्याचरिङ गरिंदा झन्डै आधा अण्डा खेर गएकोले चल्ला उत्पादन गर्दा नै लागत धेरै परेको सुनाए । चल्लालाई फार्मसम्म पु¥याउँदा प्रतिगोटा १४०० परेको बताए ।
विदेशबाट आयात गरिएको ‘रिङनेक’ जातको कालिज पाल्न तथा शिकार गर्न पाइने भएकाले नेपालमा कालिज पाल्नेको लहर चलेको छ । कालिजको मासु स्वादिष्ट र पोषणयुक्त हुने भएकाले मागलाई हेरेर अर्को वर्ष कालिजको संख्या बढाउने उनले बताए ।

‘कालिजको मासु रातो हुने भएकोले स्वस्थकर मानिन्छ भने बोसोको मात्रा कम र प्रोटिनयुक्त हुने भएकोले गर्भवती, सुत्केरी तथा बिरामीलाई समेत लाभदायक हुन्छ’, उनी भन्छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर