यस्तो छ नेकपाको आधिकारिकता दावी गर्न प्रचण्ड-माधव पक्षले निर्वाचन आयोगमा बुझाएको निवेदन (पत्रसहित)


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता दावी गर्दै मंगलबार प्रचण्ड-माधव पक्षले निर्वाचन आयोगमा निवेदन दिएको छ । अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितको टोली आयोगमा पुगेर १९ पृष्ठ लामो निवदेन बुझाएको हो।
आयोगलाई बुझाएको निवदेनमा आफूपक्षीय नेकपाका पदाधिकारी र गरेका निर्णयलाई आधिकारिकता दिन माग गरिएको छ । निर्वाचन आयोगले १२ माघमा नेकपाका दुवै पक्षलाई पठाएको पत्रप्रति पनि असहमति व्यक्त गरिएको छ।
राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ बमोजिम दुवै पक्षले अद्यावधिक गर्नको लागि पठाएको विवरण बैध नभएको निर्णय आयोगले ११ माघमा गरेको थियो । आयोगलाई बुझाएको पत्रमा आयागको निर्णयप्रति बुँदागत रुपमा असहमति जनाइएको छ । केही सुझाव समेत दिइएको छ । र, निर्णय गर्दा आयोगले आधार बनाउनुपर्ने बुँदाहरू समेत समावेश गरिएको छ।
राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिकताका लागि निवेदन दिएको प्रचण्ड-माधव पक्षले नेकपाभित्र विवाद भएको मिति आयोगले दुवै पक्षलाई पछिल्लो पटक पत्र पठाएको मितिलाई मान्नुपर्ने उल्लेख गरिएको छ।
१३ माघमा आफूहरुलाई पत्र प्राप्त भएकाले त्यही मितिलाई लिएर विवाद शुरु भएको दिनका रुपमा मान्नुपर्ने तर्क पत्रमा गरिएको छ। धारा ४४ अनुसार आधिकारिकताको दावी गर्दा विवाद शुरु भएको ३० दिन भित्रै निवदेन दिनुपर्ने हुन्छ ।