कृषिमा विदेशी लगानी: २९ वर्षमा साढे सात अर्ब भित्रियो, सबैभन्दा धेरै चीनबाट – Nepal Press

कृषिमा विदेशी लगानी: २९ वर्षमा साढे सात अर्ब भित्रियो, सबैभन्दा धेरै चीनबाट

काठमाडौं । नेपालको कृषि क्षेत्रमा करिब साढे सात अर्ब रुपैयाँ विदेशी लगानी भित्रिएको तथ्यांक छ । उद्योग विभागको तथ्यांकअनुसार २९ वर्षमा विभिन्न देशबाट ७ अर्ब ४३ करोड ८२ लाख रूपैयाँ नेपाल भित्रिएको हो । नेपालको कृषिमा लगानी गर्ने ३६ देशमध्ये सबैभन्दा धेरै चीनबाट ४ अर्ब ९७ करोड रूपैयाँको लगानी आएको छ ।

पछिल्लो समय बन्द भएको लगानीलाई सरकार फेरि खुला गर्ने बाटो खोलेसँगै विवाद शुरु भएको छ । एउटा पक्षले कृषिमा विदेशी लगानी ल्याउने सरकारको कार्य राम्रो भएको बताएको छ भने अर्को पक्षले देश–हितमा नभएको बताएको छ ।

सरकारले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५’ मार्फत नेपालको कृषि क्षेत्रमा आउने सबैखाले विदेशी लगानीमा प्रतिबन्ध लगाएको थियो । तर, २०७७ पुस २ गते उद्योग मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी विदेशी लगानी खुला गर्ने निर्णय गर्यो ।

विदेशी लगानीकर्ताले पशुपन्छी, माछा र मौरीपालन, फलफूल, तरकारी, तेलहन, दलहन, दुग्ध व्यवसाय र कृषिलगायतका उद्योगहरू स्थापना गर्न पाउने छन् ।

उद्योग विभागका अनुसार विदेशी लगानीमा स्थापना हुने उद्योगले उत्पादन गर्ने कुल उत्पादनमध्ये ७५ प्रतिशत विदेश निकासी गर्नुपर्नेछ ।

विदेशीले नेपालको कृषि क्षेत्रमा लगानी गर्दा ५० करोड रुपैयाँभन्दा माथिको लगानीमा मात्रै स्थापना गर्न पाउँछन् । ५० करोडभन्दा कम लगानीका उद्योग स्थापना हुन नपाउँदा नेपालका साना तथा मझौला कृषि उद्योगलाई समस्या नपर्ने उद्योग विभागको बुझाइ छ ।

औद्योगिक व्यवसाय ऐन, २०४९ बाट सरकारले नेपालको कृषि क्षेत्रमा विदेशी लगानी खुला गरेको थियो । उद्योग विभागको तथ्यांक अनुसार २०४८ सालमा नेपालमा पहिलोपटक विदेशी लगानीको कृषिमा आधारित उद्योग दर्ता भएको थियो । सरकारले २०४९ बाट मात्रै विदेशी लगानी खुला गरे पनि त्योभन्दा एक वर्षअघि नै नेपालको कृषि क्षेत्रमा लगानी आएको विभागले जानकारी दिएको छ ।

सबैभन्दा पहिले जर्मनीबाट विदेशी लगानीकर्ताले धादिङ जिल्लामा पशुपालन र फलफूल खेती गर्ने गरी विभागमा उद्योग दर्ता गरेको थियो । स्वदेशी र विदेशी लगानीकर्ताको ५०÷५० प्रतिशत लगानीमा स्थापना भएको उद्योगले १३ जनालाई रोजगारी दिने उल्लेख छ ।

सरकारले २०७५ सालदेखि कृषिमा विदेशी लगानी बन्द गरे पनि २०७६ साल यता आठ वटा विदेशी लगानीका उद्योगलाई विभागले स्वीकृति दिएको छ ।

यसअघिको ऐनले २५ करोड रुपैयाँभन्दा बढीको लगानीमा स्थापना हुने उद्योगलाई ठूला उद्योगको मान्यता दिएको थियो । तर, पछिल्लो औद्योगिक व्यवसाय ऐनले ५० करोड रुपैयाँभन्दा माथिका उद्योगलाई मात्र ठूला उद्योगको मान्यता दिएको छ ।

अब नेपालको कृषि क्षेत्रमा ठूला उद्योगहरू मात्रै स्थापना हुन पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर