महासचिवले नबोलाएको बैठकको वैधानिकतामा प्रश्न उठेपछि बाधा अड्काउ फुकाउँदै प्रचण्ड-माधव पक्ष – Nepal Press

महासचिवले नबोलाएको बैठकको वैधानिकतामा प्रश्न उठेपछि बाधा अड्काउ फुकाउँदै प्रचण्ड-माधव पक्ष

काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले महासचिव बिष्णु पौडेल केपी ओलीतिर लागेपछि उत्पन्न वैधानिक समस्यालाई विधान संशोधन गरेर बाधा अड्काउ फुकाउने भएको छ ।

आजदेखि बस्ने प्रचण्ड-माधव पक्षको केन्द्रीय कमिटी बैठकले आफू अनुकुल विधान संशोधन गर्न लागेको हो । महासचिवले नबोलाए पनि बैठक बस्न सक्ने र निर्णय प्रमाणीकरण लगायतका वैधानिक व्यवस्थामा संशोधन गर्न लागिएको हो ।

नेकपाको विधानमा अध्यक्षको परामर्शमा महासचिवले बैठक बोलाउने प्राबधान रहेको र त्यसैलाई टेकेर निर्वाचन आयोगले कार्की पार्टी प्यालेसको बैठकलाई वैधानिकता नदिएपछि बाधा अड्काउ फुकाउन लागिएको एक नेताले बताए ।

निर्वाचन आयोगले महासचिवले नबोलाएको बैठकलाई वैधानिक भन्न नसकिने बताएपछि आजको बैठक २५ प्रतिशत केन्द्रीय सदस्यको माग अनुसार अध्यक्षले बोलाइएको भनेर औपचारिकता दिने तयारी छ ।

विधानमा २५ प्रतिशत केन्द्रीय सदस्यले हस्ताक्षर गरेर बैठक माग गरेमा अध्यक्षको परामर्शमा महासचिवले बोलाउने व्यवस्था छ । २५ प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर सहितको निवेदन बैठकमा पढेर सुनाउने र अध्यक्षले बैठक बोलाएको पार्ने गरी छलफल भएको एक स्थायी कमिटी सदस्यले बताए ।

तर निर्वाचन आयोगले पुस ५ गतेपछि नेकपाका दुवै पक्षले गरेका निर्णयलाई मान्यता दिएको छैन ।

याे पनि पढ्नुस्
ओली पक्षले भन्यो- महासचिवबाट आज कुनै बैठक बोलाइएको छैन


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर