वागमती प्रदेशसभा बैठक फागुन ५ सम्म स्थगित, प्रचण्ड-माधव पक्षको विरोध – Nepal Press

वागमती प्रदेशसभा बैठक फागुन ५ सम्म स्थगित, प्रचण्ड-माधव पक्षको विरोध

शालिकराम जमरकट्टेल भन्छन्- अल्पमत सरकारको ज्यादतीमा सभामुख लाचार

काठमाडौं । वागमती प्रदेशसभाको बैठक फागुन ५ गते बस्ने गरी स्थगित भएको छ । आजदेखि मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने भनिएकोमा प्रदेशसभा सचिवालयले दुई साता पछि सारेको हो ।

सभामुख सानुकुमार श्रेष्ठले सबै पक्षसँग सल्लाह नगरी बैठक एकतर्फी रुपमा स्थगित गरेकोमा नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले आपत्ति जनाएको छ । सो पक्षका नेता अरुण नेपालले सल्लाह नगरी बैठक स्थगित गर्दा राम्रो सन्देश नगएको बताए ।

प्रचण्ड माधव पक्षधर अर्का नेता शालिकराम जमरकट्टेलले प्रदेशसभा बैठक सल्लाह नगरी सारिनु अल्मपतको सरकारको ज्यादती भन्दै यसको शशक्त प्रतिवाद गर्ने बताए । उनले सभामुख अल्पमतको सरकारको लाचार छायाँ भएको आरोपसमेत लगाए ।

जमरकट्टेलले नेपालप्रेससँग भने ‘एकतर्फी रुपमा बैठक स्थगित गरिएको छ । यो भनेको अल्पमतको सरकारको ज्यादती हो । हामी यसको विरोधमा प्रदेशसभामै गएर कार्यक्रम गर्ने तयारीमा छौं । अविश्वास प्रस्तावमाथि छलफल भएर चाँडो टुंगो लगाइनुपर्छ ।’

मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाको प्रचण्ड-माधव पक्षले दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल हुने गरी आजको मिति तोकिएको थियो । नेकपाका ८० मध्ये ४५ सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकोमा तीन जनाले फिर्ता लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर