डा. साह मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त – Nepal Press

डा. साह मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त

जनकपुरधाम । प्रदेश २ सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. रामकेवल साहलाई नियुक्त गरेको छ ।यस्तै रजिष्टारमा डा. विनोद यादव र रेक्टरमा डा. अंकुर साहलाई नियुक्त गरेको छ ।

आईतवार दिउँसो मुख्यमन्त्री लालबाबु राउतले आफ्नै निवास मधेस भवनमा तीनै जनालाई नियुक्तिपत्र प्रदान गरे । उनीहरुलाई मुख्यमन्त्री राउत, सामाजिक विकास मन्त्री नवलकिशोर साह र कृषि मन्त्री शैलेन्द्र साहले फूलमाला लगाएर सफल कार्यकालको बधाइ दिए ।

जनकपुर प्रदेशिक अस्पतालाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने प्रदेश सरकारले बनाउने निर्णग गरेको छ । मुख्यमन्त्री राउतले देशको गौरबको योजना अन्तर्गत प्रतिष्ठान गठन गरेको बताए ।

उनले भने, ‘सक्षम, योग्य र प्रदेश सरकारले लिएको उदेश्य पुरा गर्ने उदेश्यले तीनै जनालाई नियुक्त गरिएको छ । उहाँहरुले हामीले सोचे अनुसार चाहे अनुसार प्रदेश सरकारको प्रतिष्ठा कायम राख्नेगरी अगाडी बढ्ने विश्वास लिएको छु ।’

‘डाक्टर साहेबहरुको लागि पनि अवसर छ । हाम्रो लागि पनि अवसर छ । तर च्यालेन्जको पहाड छ’, मुख्यमन्त्री राउतले भने, ‘अहिले कुनै पनि संरचना छैन । सम्पूर्ण संरचना निर्माण गर्नुपर्छ । बस्ने ठाउँदेखि लिएर प्रतिष्ठान संचालन गर्ने र एकेडमीक सेसनहरु सुरु गर्नुपर्छ । हामीले यसैवर्षदेखि सेसनहरु सुरु गर्ने उदेश्यका साथ काम गरिरहेको छु ।’

सामाजिक विकासमन्त्री साहले पनि यसै वर्षदेखि कम्तिमा दुई विषयको भएपनि मास्टर डिग्रिको पढाई हुनुपर्ने बताए । उनले जनकपुरलाई स्तरीय स्वास्थ्य उपचारको केन्द्र बनाउन प्रतिष्ठान स्थापना गरिएको बताए ।

उनले भने– प्रतिष्ठानले सेवा गर्ने र पाउने मौका मिल्छ । सेवाबाट हटाउने कुनै कुरा छैन ।’उपकुलपतिमा नियुक्त भएका डा. साह वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ हुन् ।

उनले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि प्रतिष्ठान गठन भएको भन्दै सोही बमोजिम काम गर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘सुचकाङ्कमा देशमै सबभन्दा पछाडी परेको छ प्रदेश २ । त्यसैले दक्ष जनशक्तिलाई आकर्षण र स्तरीय सेवा सुधार गर्न नितान्त जरुरी छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर