सिन्धुपाल्चोकका युवा नेता प्रचण्ड–माधव छाडेर रातारात ओलीतिर – Nepal Press

सिन्धुपाल्चोकका युवा नेता प्रचण्ड–माधव छाडेर रातारात ओलीतिर

नेता प्रचण्ड–माधवतिर धेरै, कार्यकर्ता ओली पक्षमा

काठमाडौं । तत्कालीन एमालेको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष शिवहरी सापकोटा शुक्रबार साँझसम्म विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल समूहमा थिए ।

शनिबार मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रम सफल पार्न उनी सक्रिय थिए । तर, शनिबार बिहान उनी प्रचण्ड–माधव समूहको कार्यक्रममा गएनन् । उही समयमा केपी ओली पक्षको सम्पर्क मञ्चको कार्यक्रममा सहभागी भए ।

ओली पक्षले उनलाई स्वागत गर्यो । कार्यक्रममा उनले भने, ‘नबुझ्दासम्म प्रधानमन्त्री ओलीले संसद विघटन गरेर गल्ती गरेजस्तो लागेको थियो । जब माओवादीका प्रचण्ड पक्षीय कार्यकर्ताको रवैया थाहा भयो, तब ओली कसरी बाध्य हुनुभएको रहेछ भन्ने बुझें, र यता आएँ ।’

माओवादीका नेताको नियतै ठीक नभएको उनको बुझाइ छ । पूर्वएमालेका कार्यकर्तामाथि रजाइँ गर्नकै लागि प्रचण्डले पार्टी फुटाएको टिप्पणी गर्दै उनले नेपाल प्रेससित भने– कोही कोही साथीले अझै बुझ्नु भएको छैन, पूर्वमाओवादीको नियत बुझेपछि धेरै साथीहरु यतै आउनुहुन्छ ।

सापकोटा मात्रै होइनन्, एमाले–माओवादी एकतापछि बनेको सम्पर्क मञ्चका संयोजक राजन आचार्य पनि शनिबार ओली पक्षमा खुले । त्यस्तै प्रचण्ड–माधव पक्षमा कट्टर कार्यकर्ता भनेर चिनिएका विनोद खनाल पनि सापकोट र आचार्यसँगै ओली पक्षमा लागेका छन् ।

आचार्यले भने– नबुझ्दासम्म केही साथीहरु प्रचण्ड–माधवतिर लाग्लान्, बुझेपछि संस्थापनातिरै फर्कन्छन् । सिन्धुपाल्चोकमा पूर्वमाओवादीले पूर्वएमालेमाथि शासन गर्ने जस्तो नीति बनाएको रहेछ, बुझेपछि त्यहाँ बस्नै सकिएन ।

सम्पर्क मञ्चका नेता कार्यकर्ता मात्रै होइनन्, नेकपा सिन्धुपाल्चोकमा अधिकांश कार्यकता क्रमशः ओली पक्षमा खुल्न थालेका छन् । सुरुमा माधव–प्रचण्ड पक्षको कार्यक्रममा सहभागी भएकाहरु पछिल्लो समय ओली पक्षीय कार्यक्रमहरुमा देखिन थालेका छन् ।

जिल्लाका नेताहरु प्रचण्ड–माधव पक्षमा धरै भए पनि कार्यकर्ता पंक्ति भने ओली पक्षमा बढी देखिएका छन् ।

सिन्धुपाल्चोकबाट निर्वाचित संघीय सांसदद्वय अग्नि सापकोटा र शेरबहादुर तामाङ प्रचण्ड–माधव पक्षमा छन् । तामाङ सुरुमा ओली पक्षमै भए पनि जिल्लाका नेताको दबाब थेग्न नसकेको भन्दै प्रचण्ड–माधव पक्षमा लागेका हुन् ।

नेकपाले जितेका तीन प्रदेशसभा सदस्यमध्ये अरुण र युवराज दुलाल प्रचण्ड–माधव पक्षमा छन् भने सरेश नेपाल ओली पक्षमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर