प्रधानमन्त्री कप फाइनल: उपाधिका लागि आर्मीले एपीएफलाई दियो २१२ रनको लक्ष्य – Nepal Press

प्रधानमन्त्री कप फाइनल: उपाधिका लागि आर्मीले एपीएफलाई दियो २१२ रनको लक्ष्य

काठमाडौं । हरि चौहानको अर्धशतकप्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २१२ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले पूरा ५० ओभर खेल्दै ९ विकेट गुमाएर २११ रनको योगफल तयार गरेको हो । आर्मीका कप्तान विनोद भण्डारीले नयाँ रणनीति अपनाएर टेल इन्डर सुशन भारीलाई अनिल मण्डलसँग ओपनिङका लागि पठाएका थिए ।

एपिएफ पहिलो विकेटका लागि नवौं ओभरको अन्तिम बलसम्म असफल हुँदा आर्मीको रणनीति सफल देखिएको थियो । ओपनर सुशन ३४ बल खेलेर १ चौकासहित १३ रन बनाएर पेभेलियन फर्किँदा अनिल मण्डल ११ रन बनाएर आउट भए ।

तेस्रो नम्बरमा क्रिजमा उत्रिएका हरि चौहानले १०२ बलमा ६ चौकासहित सर्वाधिक ५८ रन बनाए । त्यस्तै भीम सार्की ३६ बलमा ७ रन जोडेर पेभेलियन फर्किँदा रोहित पौडेल पनि १३ रन बनाएर आउट भए ।

कप्तान विनोद ७ तथा राजेश पुलामी २८ रन बनाएर पेभेलियन फर्किँदा लोकेश बम ९ बलमा १५ रन बनाएर पेभेलियन फर्के । त्यस्तै, बिक्रम सोब ११ रन बनाएरु आउट हुँदा साहब आलम २५ तथा जितेन्द्र मुखिया शून्यमा अविजित रहे ।

एपिएफका लागि अविनाश बोहराले १० ओभरमा २५ रन खर्चेर २ मेडनसहित ४ विकेट लिए । त्यस्तै, किशोर महतोले १० ओभरमा ५३ रन खर्चेर २ तथा भुवन कार्कीले १० ओभरमा २६ रन खर्चेर १ विकेट लिए । त्यस्तै, कमलसिंह ऐरीले १० ओभरमा ३४ रन खर्चेर १ मेडनसहित १ विकेट लिएका थिए । कप्तान शरद भेसावकरले ६ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए ।

एपिएफ समूह ‘ए’को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा आइपुगेको हो ।

समूह ‘ए’कै उपविजेताको रूपमा सेमिफाइनलमा आइपुगेको आर्मीले वाग्मतीलाई पराजित गरेर फाइनलमा स्थान बनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर