गेहेननाथको गाईप्रेम: दूध बेचेर वार्षिक १० लाख कमाइ – Nepal Press
स्वदेशमै संघर्ष

गेहेननाथको गाईप्रेम: दूध बेचेर वार्षिक १० लाख कमाइ

‘विदेशको जति मिहिनेत गर्ने हो भने यहीं धेरै कमाइ हुन्छ’

इटहरी । गुराँसको राजधानी तीनजुरे मिल्के जलजलेको प्रवेशद्वार हो बसन्तपुर बजार । बसन्तपुर बजारबाट दुईपांग्रेमा कच्ची बाटो हुँइकिंदै सवा घण्टाको यात्रामा पुगिन्छ गुफाबजार । हो, त्यही गुफाबजारमा बिहान– बिहान दूध बेच्न ल्याउने कान्छो सदस्य हुन्, गेहेननाथ भण्डारी ।

२६ वर्षे भण्डारीले गोठमा काम गर्न थालेकै १४ वर्ष भयो । अहिले उनी आफ्ना १०० वटा गाईबस्तुको रेखदेख गर्छन् । २८ वर्षे दाजु सोमनाथ भण्डारी र एक सहयोगीसँगै गोठ संचालन गर्ने भण्डारीका लैना बस्तु मात्र २५ वटा छन् । लैना बस्तुबाट आउँछ करीब ३० लिटर दूध । त्यही दूध लिएर उनी हरेक बिहान पुग्छन् तेह्रथुम, संखुवासभा र ताप्लेजुङको त्रि–जिल्ले संगमस्थल नजिकै रहेका सुकेबजार र गुफाबजार ।

सुकेबजारको हिमाली होटलमा दुई जर्किन दूध लिएर आएका भण्डारी भन्दैथिए, ‘वर्षका हरेक दिन दूध दिने गोठ हाम्रै हो ।’ उनले थपे, ‘हामीले बेच्ने दूधकै चिया बन्ने हो । छुर्पी पनि यहाँ हाम्रै उत्पादनको बन्ने हो ।’

तीन वर्ष अगाडिसम्म २४ रुपैयाँ लिटर दूध बेच्थे भण्डारी । अहिले दाम करीब तीन गुणा बढेर प्रतिलिटर ६० भएको छ । दूधको दाम बढेसँगै गोठ संचालनमा उत्साह थपिएको छ ।

डाँडामा टुसुक्क बसेको गुफाबजारको दुईतर्फका दुई दर्जन गोठहरूमा सबैभन्दा कान्छा गोठ संचालकहरूले चलाएको गोठ हो भण्डारी दाजुभाइको गोठ । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–३ मा रहेको मेन्छ्यायेम ढापमा छ गोठ । १४ वर्षदेखि निरन्तर गोठालो कर्म गरिरहेका भण्डारी दाजुभाइलाई गोठसँग विकर्षण छैन । त्यही भएर उनीहरूले छिमेकीको गोठ बिक्री हुन लाग्दा किनिहाले । ‘हाम्रो गोठ नजिकै रहेको संन्यासी बाजेको गोठ हामीले डेढ वर्ष अगाडि किन्यौं’ भण्डारीले भने, ‘आठ माउ गाई र पाँच माउ भैंसीलाई हामीले पाँच लाख हाराहारीमा किनेका थियौं ।’

गोठमा दुई जना भएपछि सहजै काम गर्न सकिने भएकोले थप बस्तु किनेको भण्डारीले बताए । ‘बाच्छाबाच्छी भएका लैना गाईबस्तु आफैं गोठमा आउँछन् बाँकी चरेर बस्छन्, कसैको बाली खाँदैनन्’, बस्तीभन्दा माथि जंगल क्षेत्रमा हुने गोठको दैनिकी बारेमा भण्डारी थप्छन्, ‘बाँकी चर्ने बस्तुहरू पनि बेलाबेला नुन खान गोठमै आउँछन् । आफ्नो गोठ आफंै चिन्छन् । बस्तुको पछि लागिरहनु पर्दैन ।’

सडकसँगै आएको आकर्षक मूल्य

तीन वर्ष अगाडिसम्म २४ रुपैयाँ लिटर दूध बेच्थे भण्डारी । अहिले दाम करीब तीन गुणा बढेर प्रतिलिटर ६० भएको छ । दूधको दाम बढेसँगै गोठ संचालनमा उत्साह थपिएको छ ।

‘सडक आएपछि बजारे दूध आउँछ र गोठ सुक्छन् पनि भन्थे’ भण्डारी भन्छन्, ‘यहाँ त उल्टो भयो । झन् दूधको पो माग बढ्यो । स्थानीय गाईबस्तुको राम्रो चरनमा चरेको दूध भएकोले माग राम्रो भयो ।’

गुफाबजार, गुफापोखरी, सुुकेबजार, मेन्छ्यायेम डाँडा, मिल्के डाँडा आउने आगन्तुकहरूले किन्ने छुर्पीदेखि खाने चियाले दूधको बजार बढेको छ । तमोरको दोभानबाट चतरासम्म जाने र्याफ्टिङदेखि सभापोखरी दर्शन गर्न जानेको ट्रान्जिट क्षेत्र पनि भएकोले दूधको खपत राम्रो हुने भण्डारी बताउँछन् । उनी भन्छन्, ‘हाम्रो दूधलाई बजारको समस्यै छैन ।’

‘विदेशको जति मिहिनेतले यहीं धेरै कमिन्छ’

गेहेननाथ भण्डारीलाई रहरै रहरमा विदेश जान लहड नचलेको हैन । विदेशमा राम्रो कमाई–धमाई हुन्छ भनेर उनले पनि सोच नबनाएका हैनन् । तर, गोठ संचालक दाजु सोमनाथ भण्डारी विदेश गएर आएपछि उनी नजाने मूडमा पुगे ।
‘दाजुले विदेश पुगेर आएपछि खासै कमाइ देखिएन तर दुःख धेरै देखियो’ उनी भन्छन्, ‘त्यो देखेपछि मलाई लाग्यो विदेशको जति मिहिनेतले यहीं धेरै कमिन्छ ।’ विदेशको तुलनामा गोठकै कमाइ राम्रो हुने उदाहरण दिंदै भण्डारी भन्छन्, ‘हामी सबै खर्च कटाएर दूध र बाच्छाबाच्छीको बिक्रीबाट वर्षमा १० लाख बचाउँछौं । कुनै वर्ष धेरै पनि हुन्छ ।’

सुकेबजारको हिमाली होटलमा दुई जर्किन दूध लिएर आएका भण्डारी भन्दैथिए, ‘वर्षका हरेक दिन दूध दिने गोठ हाम्रै हो ।’ उनले थपे, ‘हामीले बेच्ने दूधकै चिया बन्ने हो । छुर्पी पनि यहाँ हाम्रै उत्पादनको बन्ने हो ।’

१० लाख बचाउने मिहिनेत भने राम्रै हुनुपर्ने भण्डारी बताउँछन् । दुःखबिमार हुँदा आफूलाई पालो दिने साथी र हिउँको समयमा गोठ सार्न जाँगर भए गोठ राम्रोसँग चल्न सक्ने अनुभव छ भण्डारीको । ‘झरीको समयमा बच्नुपर्छ र हिउँको याममा करीब २०० मिटर मुनि गोठ सार्नुपर्छ’ भण्डारी भन्छन्, ‘वर्षमा यति गरेर दुहुना गाईबस्तुमा दैनिक खटेपछि गोठ मज्जाले चल्छ ।’ गोठ संचालनमा आफू सबैभन्दा कान्छो भएको र आसपासका अन्य गोठहरूमा ७५ वर्षसम्मका पाकाहरू भएको भण्डारी बताउँछन् ।

गोठ संचालन गर्दा हरेक वर्ष बस्तुभाउ हराउने र बेलाबेला मर्ने समस्याले भने दुःख दिने भण्डारी बताउँछन् । ‘१४ वर्षमा हाम्रो गोठमा १४ बस्तुभाउ गुमाइएको छ’ उनी भन्छन्, ‘कतिपय विषालु घाँस खाएर मरे, कतिपय हराए ।’

बस्तुभाउ हराउनु र मर्नुले गोठ संचालनमा थोरै समस्या छ । फेरि पनि मज्जाले बिक्री हुने दूध र बच्छाबाच्छीले भने भण्डारीलाई सन्तोष दिन्छ । भन्छन्, ‘जस्तोसुकै भए पनि विदेशको तुलनामा यहींको काम राम्रो, सजिलो र कमाइ धेरै छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.