प्रधानमन्त्री कप: चौथोपटक फाइनलमा पुगेको आर्मीलाई एपिएफको तगारो – Nepal Press

प्रधानमन्त्री कप: चौथोपटक फाइनलमा पुगेको आर्मीलाई एपिएफको तगारो

काठमाडौं । गत माघ २ गतेबाट सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष प्रतियोगिता अन्तिम चरणमा आइपुगेको छ । प्रतियोगिताको फाइनलमा शनिबार दुई विभागीय टोली नेपाल आर्मी र सशस्त्र आमनेसामने हुँदैछन् ।

हालसम्मका सबै फाइनलमा पुगेर पनि विजेता हुन असफल रहेको त्रिभुवन आर्मी क्लब पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यसहित मैदानमा उत्रिन लागेको हो । सशस्त्रसँग भने एकपटक उपाधि उचालेको अनुभव छ ।

फाइनलअघि शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै आर्मीका कप्तान विनोद भण्डारीले विगतलाई बिर्सेर जित्नका लागि क्रिजमा उत्रिने बताए । पहिलो संस्करणमा फाइनल खेल वर्षाका कारण प्रभावित भएपछि नेपाल पुलिस क्लबसँग उपाधि बाँडेको आर्मीले एपिएफसँग दोस्रो संस्करणको फाइनलमा पराजित भएको थियो ।

त्यसमाथि जारी सिजनमा लिग चरणको अन्तिम खेलमा सशस्त्रसँग आर्मी पराजित भएको थियो । तर, कप्तान विनोद त्यो सोचेर/दबाब लिएर नखेल्ने बताउँछन् ।

“योभन्दा अगाडि हारेको कुरा कोही पनि खेलाडीको दिमागमा नै छैन होला । जित्नै सकिँदैन भनेर सोचेर त केहि हुँदैन । इतिहास सोचेर त केही पनि हुँदैन,” उनी भन्छन्, “यसअघि हारेका थियौं भनेर केही फरक पर्दैन । भोलि हामी जित्नका लागि नै खेल्ने हो ।”

समूह चरण र सेमिफाइनलमा पनि अपराजित रहँदै फाइनल यात्रा तय गरेको एपिएफका कप्तान शरद भेसावकर फाइनलसम्म पुग्दा आफू खुशी भएको बताउँछन् ।

“हामी कन्सिस्टेन्ट खेलिरहेका छौं । त्यसैले म धेरै खुशी छु । गाह्रो अवस्थालाई पनि फेस गरेर टीमले राम्रो स्कोर बनाइरहेको छ,” उनले भने, “चुनौतीपूर्ण अवस्थालाई पनि ओभरकम गरेर खेलहरू जितिरहेका छौं । त्यो सकारात्मक संकेत हो ।”

‘टिम इफोर्ट’ को जगमा नै एपिएफ फाइनलसम्म आइपुगेको कप्तान शरद बताउँछन् ।

“टिम पफर्मेन्सले टोली राम्रो प्रदर्शन गर्न भोको छ भन्ने पनि देखाउँछ,” उनले भने, “त्यो भन्दा खुशीको कुरा व्यक्तिगत प्रदर्शन भन्दा पनि एक टोलीको रूपमा हामी राम्रो खेलिरहेका छौं । भोलि राम्रो रिजल्ट आउने कुरामा आशावादी छौं ।”

प्रधानमन्त्री कपको फाइनलसम्म आइपुग्नु पनि ठूलो उपलब्धि भएको र फाइनलका लागि सबै खेलाडी उत्साहित रहेको शरदले बताए । “फाइनलका लागि सबै खेलाडीहरू उत्साहित छन् । प्रतियोगिताको फाइनल पुग्नु नै सबैभन्दा खुशीको कुरा हो,’ उनले भने, “अब एउटा फाइनल बाँकी छ र त्यसतर्फ हामीले ध्यान केन्द्रित गरेका छौं ।”

सेमिफाइनलमा नेपाल पुलिस क्लबविरुद्ध चोटका कारण अनुपस्थित रहेका एपिएफका बसन्त रेग्मीको इन्जुरीमा सुधार भएको उनले जानकारी दिए । “सुधार भएको छ । भोलि एकपटक फिटनेस चेक गरेर मात्रै खेल्ने कि नखेल्ने थाहा हुन्छ,” उनी भन्छन्, “टोलीमा बसन्त रेग्मीको योगदान एकदमै महत्त्वपूर्ण हुन्छ । यतिका वर्षको अनुभव छ, नेपालको लागि पनि धेरै दबाबपूर्ण खेलहरू जिताउनु भएको छ ।”

उनी फिट भए भने टिमलाई फाइदा हुने कप्तान शरदले बताए । पुलिसविरुद्धको सेमिफाइनलमा समस्यामा देखिएका भुवन कार्की फिट भइसकेको र भोलि पनि खेल्ने उनले बताए ।

आर्मी फाइनलसम्म आइपुग्दा ‘टिम इफोर्ट’ भन्दा पनि व्यक्तिगत प्रदर्शन महत्त्वपूर्ण रहेको कप्तान विनोद बताउँछन् । “हालसम्मका खेलमा आर्मीको सिंगै टोलीले राम्रो प्रदर्शन गर्न नसके पनि व्यक्तिगत प्रदर्शन राम्रो भइरहेको छ,” उनले भने, “तर, व्यक्तिमा भर परेर एक जनाले राम्रो खेल्ने अर्कोले नखेल्ने भनेर पनि हुँदैन । अन्तिममा आउने भनेको टिम गेम हो । गाह्रो अवस्थामा फरक–फरक खेलाडीले राम्रो प्रदर्शन गरिरहेका छन् । त्यसले गर्दा गाह्रो भइरहेको छ ।”

टी–१० लिग खेल्न गएका तीन जना मुख्य खेलाडी (करण केसी, कुशल मल्ल र सोमपाल कामी) नभएकोले टोलीमा एकरूपता नभएको कप्तान विनोद बताउँछन् ।

“त्यसले गर्दा सन्तुलन मिलाउन एकदम गाह्रो भइरहेको छ । हामीले लिग चरणका खेलहरू देखि नै खेलाडी ण्यता उता गर्नुपरिरहेको छ । तर पनि टोलीले राम्रो नै गरिरहेको छ । हेरौं फाइनलमा कस्तो हुन्छ,” उनले भने ।

अहिलेसम्म प्रदर्शन गर्न नसकिरहेका खेलाडीहरूको पनि ‘कन्फिडेन्ट हाइ’ भएको र भोलि उनीहरूले पनि उत्कृष्ट प्रदर्शन दिने विश्वास व्यक्त गरे । “मलाई लाग्छ रोहित (पौडेल)ले पनि भोलि राम्रो खेल्छ । किनभने, ठूला खेलाडी भनेकै ठूला खेलका लागि हो,” उनले भने ।

आर्मीको फाइनल यात्रा

उद्घाटन खेलमा गण्डकीलाई ९८ रनले पराजित गर्दै प्रतियोगिताको सुरुआत गरेको आर्मीले समूह ‘ए’को दोस्रो खेलमा कर्णाली प्रदेशलाई ८० रनले पराजित गरेको थियो ।

तेस्रो खेलमा प्रदेश १ लाई ४ विकेटले हराएको आर्मीले समूह चरणको अन्तिम खेलमा एपिएफसँग ६ रनको पराजय बेहोरेको थियो । सेमिफाइनलमा वाग्मतीलाई ९४ रनको फराकिलो अन्तरले पराजित गरेको आर्मी लगातार चौथो पटक प्रधानमन्त्री कपको फाइनलमा आइपुगेको हो ।

पहिलो संस्करणको फाइनलमा नेपाल पुलिससँग उपाधि बाँडेको आर्मी दोस्रो फाइनलमा एपिएफ र तेस्रो फाइनलमा पुलिससँग पराजित भएको थियो ।

एपिएफको फाइनल यात्रा

पहिलो खेलमा प्रदेश १ लाई १३५ रनको अन्तरले पराजित गरेको एपिएफले दोस्रो खेलमा गण्डकीलाई ६ विकेटले हराएको थियो । प्राय सबै खेलमा एकतर्फी नतिजा निकालेको एपिएफले समूह चरणको तेस्रो खेलमा कर्णालीलाई ७१ रन तथा अन्तिम खेलमा विभागीय प्रतिद्वन्द्वी आर्मीविरुद्ध ६ रनको झिनो जित हासिल गरेको थियो ।

सेमिफाइनलमा विभागीय प्रतिद्वन्द्वी तथा साविक उपविजेता नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गरेको एपिएफ दोस्रो पटक फाइनलमा पुगेको हो । यसअघि २०१८ को जुनमा भएको प्रधानमन्त्री कपको फाइनलमा आर्मीलाई ६ विकेटले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *