नेकपा आन्तरिक कलहको बन्धक बन्यो प्रदेशसभा – Nepal Press
प्रदेश १

नेकपा आन्तरिक कलहको बन्धक बन्यो प्रदेशसभा

विराटनगर । नेकपाको आन्तरिक कलहका कारण प्रदेश १ सभाको बैठक अनिश्चिततातर्फ धकेलिएको छ। पार्टीको आन्तरिक विवादले प्रदेशसभा बन्धक बनाइएको भन्दै टिप्पणीसमेत बढेको छ ।

माघ ७ देखि शुरू भएको प्रदेशसभाको हिउँदे अधिवेशन अनिश्चितकालीन स्थगित गरिएको छ । पहिलो बैठक २ मिनेट पनि नबसी स्थगित गरिएको थियो ।

दोस्रो बैठकको मिति तय भएको छैन । प्रदेश सभाको बैठक नियमित गर्नेबारे दलहरूबीच संवादसम्म हुनसकेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक सुयर्माराज राईले कार्य व्यवस्था परामर्श समितिको बैठकमा दलहरुको तर्फबाट माघ २० सम्म प्रदेश सभाको बैठक डाक्न भद्रसहमति भएकोले सोही अनुसार पर्खाइमा रहेको बताए ।

सहमति अनुसार अबको तीन दिनभित्र बैठक बोलाउनुपर्ने भएपनि सभामुखले मिति तय गरी सूचना ननिकालेकोमा उनले आपत्ति जनाए ।

‘नेकपाकाे आन्तरिक कलहमा प्रदेशसभा बन्धक बनाउन पाइँदैन’ उनले भने,‘तोकिएको समयभित्र सभा चल्नुपर्छ। त्यसो हुन नसके कांग्रेस चुप भने बस्दैन।’

नेपाली कांग्रेस र नेकपाकै प्रचण्ड-माधव समूहका नेताहरू प्रदेश सभा बैठकलाई नियमितता दिनुपर्ने पक्षमा छन् ।

तर, सत्तारुढ (ओली) पक्ष भने संसदमा कुनै बिजनेश पनि नलाने र संसद सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल पनि गर्न नदिने रणनीतिमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर