नयाँ नक्सा जारी भएपछी प्रधानमन्त्री केपी ओलीलाई हटाउने अभियान चल्योः मन्त्री अर्याल – Nepal Press

नयाँ नक्सा जारी भएपछी प्रधानमन्त्री केपी ओलीलाई हटाउने अभियान चल्योः मन्त्री अर्याल

काभ्रेपलाञ्चोक । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले सरकारले नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने खेल शुरु भएको बताएकी छन् । अखिल नेपाल महिला संघ काभ्रेले आज बनेपामा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् ।

नेकपा ओली समूहको केन्द्रीय सदस्य समेत रहेकी मन्त्री अर्यालले राष्ट्रियताको पक्षमा खुट्टा नकमाएर दह्रोसँग उभिएका कारण प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष ओलीलाई पदबाट हटाउने प्रयासमा विभिन्न गतिविधि शुरु भएको बताइन । ‘प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारले चुच्चे नक्सा जारी गरेपछी केपी ओलीलाई नफाली नहुने गरी खेल शुरु भयो । उहाँहरु त्यसरी लाग्नुभयो”, मन्त्री अर्यालले भनिन्, “पहिलोपटक नाकाबन्दीका विरुद्धमा उभिदाँ र दोस्रोपटक चुच्चे नक्सा ल्याएपछी केपी ओलीलाई हटाउन लागेका हुन् ।’

प्रधानमन्त्री ओली राजनेता बन्ने भयो भनेर नै उनकाविरुद्ध विभिन्न आरोप लगाएर सत्ताबाट फाल्ने ढंगले अगाडी बढेको मन्त्री अर्यालको भनाइ थियो । आगामी वैशाखमा हुने निर्वाचन कसैले नसोचेको निर्वाचन हुने भन्दै उनले यो निर्वाचनबाट फेरि पनि केपी ओली नेतृत्वको पार्टीले जित्ने दाबी गरिन ।

‘आगामी वैशाखमा निर्वाचन हुन्छ र त्यो निर्वाचन कसैले नसोचेको निर्वाचन हुनेछ । यो निर्वाचनबाट फेरि पनि केपी ओलीले नेतृत्व गरेको पार्टीले नै बहुमत ल्याउछ’, उनले भनिन, ‘कम्युनिष्ट पार्टी फुट्यो, अब जय नेपाल बाकसभी हुनेछ भनेर कसैले नसोचे हुन्छ । यस निर्वाचन पनि नेकपाले नै बहुमत ल्याउछ ।’

वैशाखमा हुने निर्वाचनबाट गणतन्त्र खतरामा पर्ने भनेर केही पक्षले भन्दै आएको बताउदै मन्त्री अर्यालले वैशाखको निर्वाचनबाट गणतन्त्रलाई खतरा नभएर प्रचण्ड–नेपाल पक्षको पद धरापमा परेको बताइन ।

अबको जमाना प्रतिस्पर्धा, क्षमताको भएको भन्दै उनले बिना प्रतिस्पर्धा कहि पनि पुग्न नसकिने बताइन । त्यसकारण नेतृत्वमा आउने सबै महिलाले समयअनुसार प्रतिस्पर्धी क्षमताको विकास गर्न समेत उनले आग्रह गरिन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.